युक्रेनको कब्जामा रहेका विकासको रिहाइका लागि परराष्ट्रलाई पत्राचार
युक्रेनी सेनाको नियन्त्रणमा रहेका मोरङको लेटाङ नगरपालिका-३ का विकास राईलाई छुटाउने पहलका लागि स्थानीय सरकारले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।
लेटाङ नगरपालिकाका मेयर भूपेन्द्रकुमार लावतीले विकासकी पत्नी एलिसा चेम्जोङले पालिकामा दिएको निवदेनलाई आधार बनाएर आवश्यक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका हुन्। “एलिसाले पालिकामा दिनुभएको निवेदनका आधारमा हामीले परराष्ट्रमा आवश्यक पहलका लागि अनुरोध गरेका हौं,” मेयर लावती भन्छन्।
विकास गत मंसीर १८ गतेदेखि परिवारसँग सम्पर्कमा छैनन्। सामाजिक सञ्जालमा आएको भिडिओका आधारमा विकास युक्रेनी सेनाको नियन्त्रणमा रहेको थाहा भएको विकासकी पत्नी एलिसाले बताउँछिन्।
लेटाङ नगरपालिका-३ का १० युवा रूसी सेनामा छन्। रूसी सेनाबाट भाग्दै गर्दा पक्राउ परेका युवा पनि यति वेला परिवारको सम्पर्कमा नरहेको रूसी सेनाबाट भागेर नेपाल फर्किएका मनसेर राई बताउँछन्।
मेयर लावती भने गाउँका युवा रूसी सेनामा गएको भन्ने मौखिक जानकारी आएको बताउँछन्। अरूले पनि जानकारी दिएमा पहल गरिने उनको भनाइ छ। “अरूले निवदेन ल्याउनुभयो भने पनि हामी परराष्ट्रलाई अनुरोध गर्नेछौं,” लावती भन्छन्।
यो पनि पढ्नुहोस् :