बुद्धजस्तै दार्शनिक याज्ञवल्क्यः सत्यमोहन जोशी (भिडियाे सहित)
संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको मिथिलाक्षेत्रमा कर्मथलो बनाएका याज्ञवल्क्य गौतम बुद्ध जत्तिकै दार्शनिक भएको बताए ।
‘महर्षियाज्ञवल्क्य’नाटकको संस्कृत अनुवाद प्रकाशनको सन्दर्भका अवसरमा सोमबार पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै कृतिकार जोशीले भने, “गौतम बुद्ध जसरी नै याज्ञवल्क्य पनि चर्चित हुनुपर्ने व्यक्तित्व हुन् तर यसो हुन नसक्नु दुःखद कुरा हो ।”
जोशीले २०२८ जोशीले लेखेको ‘दैलाको बत्ती’ नाट्यकृतिलाई ‘महर्षियाज्ञवल्क्य’ नाममा संस्कृतमा अनुवाद गरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको हो । नेपाली भाषाको यो पुस्तकलाई रोहिणीराज तिमिल्सिनाले अनुवाद गरेका हुन् ।
कार्यक्रममा जोशीले पुस्तक लेखनको पृष्ठभूमि पनि स्मरण गरे । आफूले २०१३ सालमा लेखेको ‘हाम्रो लोकसंस्कृति’ले मदन पुरस्कार पाएकै कारण २०१६ सालमा पुरातत्व संस्कृति विभागमा निर्देशकको जिम्मेवारी पाएको र २०१७ सालमा जागिर खोसिएसँगै नेपाली मुद्राको अध्ययनमा लागेको उनले सुनाए ।
त्यही साल उनको पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’ले अर्को मदन पुरस्कार पायो ।
त्यो पुस्तक निस्किएपछि मुद्रा वर्गीकरणका लागि भनि तत्कालित सरदार हंशमान सिंहले भेटन पचलीस्थित वागमतीको भगवतेश्वर घाटमा बोलाए। उनी त्यहाँ दिनहुँ नुहाउन जाँदा रहेछन्”, जोशी भन्दै गए, “त्यहाँ उनलाई पण्डित जयदेव पौड्यालले दिनदिनैं पुराण सुनाउँदा रहेछन् । उनले सुनाएको आत्मपुराणभित्रको याज्ञवल्क्यको कथाले मलाई साह्रै छायो, अनि त्यसैलाई उतारेर ‘दैलाको बत्ती’ नाटक बनाए ।”
जोशीले याज्ञवल्क्यजस्ता महर्षिलाई राज्य मात्र होइन, मिथिला क्षेत्रले पनि बिर्सिएकोमा गुनासो व्यक्त गरे । “किनभने, याज्ञवल्क्यको जन्मथलो कहाँ हो यकिन छैन तर उनको मुख्य कर्मथलो मिथिला क्षेत्र हो भन्नेमा दुईमत छैन”, उनले भने, “त्यसैले अब प्रदेश २ ले उनलाई सम्झ्नुपर्छ ।”
जोशीसँगको कुराकानीमा सहजीकरण गर्दै टिप्पणीकार टिका ढकालले ‘महर्षियाज्ञवल्क्य स्मृति’ को श्लोक ‘मिथिलास्थः स योगीन्द्रः क्षणं ध्यात्वा वचोव्रवीत्’ ले पनि याज्ञवल्क्यलाई मिथिला कार्यक्षेत्र बनाई ध्यान गर्ने योगी भनेको बताए । ‘बृहदारण्यक उपनिषद्’ मा पनि यस्ता तथ्य प्रशस्त भेटिएकाले याज्ञवल्क्यलाई मिथिला आधारित पूर्वीय दार्शनिक मान्न सकिने ढकालको भनाइ थियो ।
कार्यक्रममा अर्का संस्कृतिविद् डा. रामदयाल राकेशले महर्षियाज्ञवल्क्य प्रसिद्ध दार्शनिक भएको भन्दै उनलाई मिथिला भूमिले बिर्सनै नहुने बताए । ‘संस्कृतिविद् जोशी र साहित्यकार मदनमणि दीक्षितजस्ता व्यक्तित्वले उनीबारे लेखे पनि अबका नयाँ पुस्तामा यो ज्ञान पुर्याउन सरकारले काम गर्नुपर्छ ।”