यस्ता छन् नेपाल र भारतबीच भएका चार सहमति
नेपाल र भारतबीच विभिन्न चार वटा विषयमा सम्झौता तथा सहमति भएको छ।
काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा विभिन्न चार वटा सम्झौता तथा सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्था मार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सहमतिमा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरेका छन्। यो सहमति अनुसार अब भारतीय दूतावासले सीधै २० करोड रुपैयाँसम्म लगानी गर्न सक्ने भएको छ।
त्यस्तै, दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौता अनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको न्याशनल थर्मल पावर कर्पोरेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इन्डिया (एनएसआईएल)बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवा सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ।
दुई देशबीच १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यू नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको छ। भूकम्पपछि पुनर्निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा चारै सम्झौता तथा सहमतिमा हस्ताक्षर भएको हो। संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार नै काठमाडौं आएका हुन्।