भारतीय दूतावासले नेपालमा सीधै २० करोड बाँड्न सक्ने सम्झौतामा हस्ताक्षर
काठमाडौंस्थित भारतीय दूतावासले नेपालमा सीधै २० करोड रुपैयाँसम्म खर्च गर्न सक्ने गरी सम्झौता भएको छ।
भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गतको खर्च गर्ने रकम बढाएर २० करोड रुपैयाँ पुर्याइएको हो। यसअघि पाँच करोड रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था थियो।
भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणका क्रममा यो सम्झौता भएको हो। बिहीबार भएको सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरेका छन्।
यो हस्ताक्षर कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री जयशंकर उपस्थित थिए।
यस योजना अन्तर्गत भारतीय दूतावासले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सरसफाइ, दुर्गम तथा विपन्न क्षेत्रमा कनेक्टिभिटी, क्षमता विकास तथा व्यावसायिक प्रशिक्षण, स्वास्थ्य शिविर, पुल लगायत पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ। यस्ता परियोजनाको भारतीय दूतावासले नै छनोट र निर्णय गर्छ। यसबारे औपचारिक रूपमा संघीय सरकारलाई जानकारी दिने गरिएको छैन।
सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा २० वर्षअघि यो परियोजना शुरू भएको थियो। त्यति वेला तीन करोड रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था थियो।
यसलाई बढाएर २००९ मा पाँच करोड रुपैयाँ पुर्याइएको थियो। त्यति वेला बाबुराम भट्टराई प्रधानमन्त्री थिए। अहिले बढाएर २० करोड रुपैयाँ पुर्याइएको हो।