राष्ट्रिय सभामा मुस्लिम समुदायबाट महिलालाई समेट्न माग
आसन्न राष्ट्रिय सभाको निर्वाचनमा मुस्लिम समुदायबाट महिलालाई समेट्न माग गरिएको छ।
मुस्लिम महिलाको उत्थान एवं विकासमा मुस्लिम आयोगको भूमिका विषयक अन्तरक्रियामा सहभागीले राष्ट्रिय सभामा मुस्लिम समुदायका महिलालाई समेट्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष शमीम मियाँ अन्सारीले महिला प्रतिनिधित्व हुनुपर्ने बताए।
राष्ट्रिय सभामा हरेक क्षेत्र तथा समुदायको प्रतिनिधित्व गराउन राजनीतिक दलहरूले मुस्लिम महिलालाई उम्मेदवार बनाउनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, लामो समयदेखि मन्त्रिपरिषद्मा मुस्लिम समुदायको प्रतिनिधित्व नभएकोमा पनि ध्यानाकर्षण गरिएको छ। सरकारमा मुस्लिम समुदायको प्रतिनिधित्व नहुनु संविधानको मर्म विपरीत रहेका अध्यक्ष अन्सारीको भनाइ थियो।
यससँगै निजामती सेवा विधेयक पारित नहुँदा मुस्लिम समुदाय निजामती क्षेत्रमा निवेदन दिनबाट वञ्चित भएको सरोकारवालाले बताएका छन्। कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकार सबैको समावेशी प्रतिनिधित्व गराउन तत्पर रहेको बताए।