दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमतिमा हस्ताक्षर
नेपाल र भारतबीच बिजुली निर्यात सम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्व सहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो।
बिजुली निर्यात सम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पंकज अग्रवालले हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठमा गरेको भारत भ्रमणका क्रममा यस विषयमा सहमति भएको थियो। प्रधानमन्त्री दाहालका भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीन रूपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशबीच सहमति भएको बताएका थिए।
भारतको संघीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयात सम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका अवसरमा दुई देशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा विद्युत् खरीद-बिक्री सम्झौता गरी बिजुली लिनेछन्। नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात-निर्यात गर्न सक्नेछन्।
सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास रणनीति समेत बनाइसकेको छ। त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारत लगायत देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ।