भागबन्डा नमिल्दा गठबन्धन बैठक निष्कर्षविहीन
राष्ट्रिय सभाको चुनावलाई लिएर भागबन्डा नमिलेपछि सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकमा राष्ट्रिय सभाको चुनावको विषयमा छलफल भएको थियो। कुन पार्टीलाई कति सीट दिने भन्ने विषयमा सहमति जुट्न सकेन।
राष्ट्रिय सभाको चुनावलाई लिएर छलफल भएको र सहमति जुट्न नसकेको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता लेखकले भने, “सत्तारूढ चार दलका नेताबीच राष्ट्रिय सभाको निर्वाचनलाई लिएर छलफल भएको छ। सहमति जुट्न बाँकी छ।”
आउँदो माघ ११ गते राष्ट्रिय सभामा १९ सीटका लागि चुनाव हुँदै छ। त्यसमा गठबन्धनका कुन दलले कति सीट पाउने भन्ने विषयमा सहमति जुट्न सकेन। पार्टीभित्र र गठबन्धनबीच फेरि छलफल गर्ने गरी आजको बैठक सकिएको नेता लेखकले बताए।
गठबन्धनको बैठकमा नेकपा (एमाले)लाई पनि राष्ट्रिय सभामा भागबन्डा गर्ने विषयमा छलफल भएको जनाइएको छ। त्यसमा पनि गठबन्धनमा रहेका दलबीच सहमति हुन सकेन।
गठबन्धन दलका नेताहरूले एमाले नेताहरूसँग पनि यस विषयलाई लिएर छलफल गरिरहेका छन्। एमालेसँग छलफल जारी रहेको नेता लेखकले बताए। “एमालेसँग समसामयिक विषयमा छलफल भइरहेको छ,” उनले भने।
आजको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सहभागी थिए। बिहीबार साँझै वा शुक्रबार फेरि बैठक बसेर छलफल हुनेछ।