बलात्कारको उजुरी दिंदा पीडितकै श्रीमान् र देवर ‘झूटो मुद्दा’मा पक्राउ
बाजुरामा बलात्कारको आरोप लागेका व्यक्तिले उल्टै आफूलाई कुटपिट गरेको भनेर आरोप लगाएपछि पीडित महिलाका श्रीमान् र देवरलाई प्रहरीले थुनामा राखेको छ।
घटना बाजुराको दुर्गम गाउँको हो। पीडितले फोनमा बताए अनुसार पुस १० गते राति १ बजेतिर गाउँकै जंगसिंह बुढाले घरमै आएर बलात्कार गरेका थिए।
त्यो रात गाउँमा पूर्णिमा मेला लागेको थियो। उनका पति सहित घरका सबै जना मेला हेर्न गएका थिए। गर्भवती भएकाले उनी घरमै थिइन्।
“राति १ बजेतिर घरको ढोकामा लगाएको चिर्पटको घोंचो खोली छिरेछ,” उनले स्थानीय लवजमा सुनाइन्, “श्रीमान् आयो भन्ठानेको ऊ पो रहेछ। मुख थुनेर जबर्जस्ती गर्यो।”
आफूलाई जबर्जस्ती गरेपछि उठेर चिच्याएको र शुरूमा चिम्टा अनि हँसियाले हानेको बताइन्। “हँसियाले हान्दा उसको हातमा चोट लागेछ अनि ‘तँलाई मार्छु’ भन्दै भाग्यो,” उनले भनिन्।
बिहान ४ बजेतिर परिवारजन आएपछि घटनाबारे श्रीमान्, देवर र देउरानीलाई भनेको उनले बताइन्। त्यसपछि गाउँमा हल्लाखल्ला भयो। तर बिहानपख आरोपित जंगसिंहले नै पीडितको श्रीमान्ले कुटपिट गरे भनेर मानिस जम्मा गरेको उनले सुनाइन्।
पीडितका अनुसार उनी आफ्ना श्रीमान् सहित स्थानीय प्रहरी चौकीमा उजुरी दिन गएकी थिइन्। तर चौकीका सबै जना मेलामा गएको भन्दै प्रहरीले उजुरी लिएन।
वडाध्यक्षका अनुसार त्यसपछि गाउँलेले उक्त घटना गाउँमै मिलाउन दबाब दिएका थिए। “शुरूमा धकेलाधकेल भएको भनेकाले गाउँमै कुरा मिलाउन खोजेका थियौं तर महिलाले मलाई जबर्जस्ती करणी गर्यो भन्दै सबैका सामु रुवाबासी गरिन्,” वडाध्यक्षले फोनमा भने।
उनका अनुसार आरोपित जगसिंह गाउँमा गुन्डागर्दी गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। उनी विरुद्ध स्थानीय चौकीमा पाँच वटा जति उजुरी परेका छन्।
गाउँको प्रहरी चौकीमा उजुरी नपरेपछि सात महीनाकी गर्भवती पीडित र उनका परिवारजन दुई दिनको बाटो हिंडेर आफूसँग गुहार माग्न आएको स्थानीय गाउँपालिका अध्यक्षले बताए।
“उनीहरू आउनुअघि नै वडाध्यक्षले फोनबाट घटनाबारे जानकारी गराइसक्नुभएको थियो। मैले प्रहरीलाई सोध्दा उनीमाथि बलात्कार भएको छ, जिल्लामा पठाउनुपर्छ भन्ने जवाफ आयो। मैले उनीहरूलाई जिल्ला प्रहरीमा जाओ, सबै सहयोग गर्न तयार छु भनेर पठाएँ,” गाउँपालिका अध्यक्षले भने।
आफूले त्यसरी जिल्ला प्रहरी कार्यालयसम्म पठाएका पीडितका श्रीमान् र देवरलाई नै प्रहरीले पक्राउ गरेको थाहा पाउँदा अचम्मित भएको गाउँपालिका अध्यक्ष सुनाउँछन्। “बलात्कार जस्तो जघन्य अपराधमा राजनीति मिसाइयो,” उनले फोनमा भने।
जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराका अनुसार आरोपित जंगसिहंका बुबाले पीडितका श्रीमान् र देवर विरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दिएकाले दुवै जनालाई पुस १५ मा पक्राउ गरी हिरासतमा राखिएको छ।
डीएसपी बोहराका अनुसार यो उजुरी पुस १४ गते परेको थियो। जबकि पीडितले बलात्कार आरोपको उजुरी अघिल्लो दिन पुस १३ मै दिइसकेकी थिइन्।
प्रहरीले शुरूमा उनको उजुरी नै लिन नमानेकाले आफूले फोन गरेपछि मात्रै जाहेरी लिएको गाउँपालिका अध्यक्षले बताए। “उनीहरू पुस १२ गते यहाँबाट गएका थिए। पुस १३ गते उनीहरूको जाहेरी लिन मानेन। मैले फेरि फोन गरेर बलात्कार जस्तो जघन्य अपराध भएको जानकारी गराएँ,” उनले भने।
डीएसपी बोहराका अनुसार उजुरी पर्नासाथ आरोपित जंगसिंहलाई सोही दिन प्रहरीले पक्राउ गरेको हो। बलात्कार आरोपित व्यक्ति विरुद्ध उजुरी परी पक्राउ गरिसकेपछि पनि अर्को दिन ज्यानमुद्दाको उजुरी परेकाले पीडितका श्रीमान् र देवरलाई पक्राउ गरेको उनको भनाइ छ। उनले भने, “जबर्जस्ती करणी राति र कुटपिट बिहान भएको भनेर फरक फरक समयका घटना उजुरीमा परेकाले दुवै पक्षलाई गिरफ्तार गरिएको हो। अहिले दुवै घटनाको अनुसन्धान भइरहेछ।”
स्थानीय गाउँपालिकाकै एक कार्यपालिका सदस्य भने आरोपित व्यक्तिले राजनीतिक दबाब दिएर शुरूमा उजुरी नै लिन नदिएको र पछि झूटो आरोप लगाएको दाबी गर्छिन्। उनका अनुसार आरोपित बुढाका भिनाजु अर्जुन रोकाया नेकपा (एमाले)का जिल्लास्तरीय नेता हुन्। गत निर्वाचनमा सोही गाउँपालिकामा पराजित अध्यक्ष उम्मेदवार रोकायाले राजनीतिक दबाब दिएको उनको आरोप छ।
“गाउँमा ५-६ घर मात्रै दलितको छ। गैरदलितको बाहुल्य छ। विकट ठाउँ, दलित, त्यसमाथि गरीब, बोलिदिने कोही नभएकाले पनि यो घटना गाउँमै मिलाउन खोजेका थिए। महिलाले नमानेपछि मात्र यो घटना बाहिर आएको हो,” गाउँपालिका अध्यक्षले भने।
कार्यपालिका सदस्यका अनुसार सात महीनाकी गर्भवती पीडित महिला ६ दिनदेखि हिरासतमा रहेका श्रीमान् र देवरको रिहाइ र आफ्नो न्यायको प्रतीक्षामा बाजुराको मार्तडीमा भौंतारिरहेकी छिन्। “प्रहरीमा उजुरी हाल्न आया उल्टै मेरो लाटो श्रीमान्लाई जेल हालिदिए,” पीडित महिलाले फोनमा रुँदै भनिन्।