पैसा कमाउन रूस गए, बाँचेर नेपाल फर्किंदा जागीर गुमाए
पैसा कमाउने लोभमा रूस पुगेका एक प्रहरी जवानले युक्रेनसँगको युद्धबाट बाँचेर नेपाल फर्किएपछि जागीर गुमाएका छन्।
रूस-युक्रेन युद्धस्थलबाट उम्किएर काठमाडौं आइपुगे पनि लेनिन सुनार* पटक्कै खुशी देखिएका थिएनन्। बरु मानसिक तनाव र दबाबले थिचिंदाको थकान उनको अनुहारमा प्रस्ट झल्कन्थ्यो।
पुस तेस्रो साताको एक दिउँसो काठमाडौंको नारायणचौरमा भेटिएका उनको मुहारमा एकतमासको छटपटी मात्र देखिन्थ्यो। “अनुसन्धानमा खटिएका एक प्रहरीले ‘सहयोग गर, युद्धक्षेत्रमा रहेका अरू नेपालीलाई पनि झिकाउन सकिन्छ कि’ भनेका थिए,” घरी उठ्दै त घरी बस्दै गर्दा लेनिन यति बोले, “तर आज यो हालत भयो।”
कपिलवस्तुका लेनिन आठ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत थिए। राम्रो कमाइ हुने दलालको प्रलोभनमा परी गत असोज १ गते रूस उडे। जिल्ला अदालत, काठमाडौंमा पुस १७ गते दायर भएको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरको अभियोगपत्र अनुसार प्रतिमहीना तीन लाख रुपैयाँ कमाइ हुने लोभले उनी रूस जान तयार भएका थिए।
लेनिनले काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरी अनुसार कारखानामा काम लगाइदिने भनेर रूसको राजधानी मस्को पुर्याइएको हो। “तर मस्कोमा मलाई लिन आएको एजेन्ट रूसी सेनाको क्याम्पमा छिराएर सम्पर्कविहीन भयो,” उनले जाहेरीमा लेखेका छन्, “युक्रेनसँग लड्न जानुपर्छ भनेपछि आश्चर्यचकित भएँ।”
तर लेनिनसँग विकल्प थिएन। रूसी सेनाले १५ दिन तालीम दिएर युक्रेनको बखमत क्षेत्रमा खटायो। पूर्वी युक्रेनमा पर्ने बखमत क्षेत्र युद्ध शुरू भएपछि रूसी सेनाले कब्जामा लिएको थियो।
बीबीसीका अनुसार बखमत क्षेत्रको धेरै भूभाग महीनौंदेखि रूसी सेनाको नियन्त्रणमा छ। पछिल्लो समय युक्रेनी सेनाले पनि बखमत क्षेत्रको केही भूभागमा आफ्नो पकड जमाउन खोजिरहेकाले लडाइँ चलिरहेको छ।
यही रणभूमिमा रूसी सेनाले आफूलाई युक्रेनसँग लड्न पठाएको लेनिनले जाहेरीमा खुलाएका छन्। त्यही क्रममा युक्रेनी सेनाले ड्रोन मार्फत हानेको बमको छर्रा लागेर आफू सहित आठ जना घाइते भएको पनि उल्लेख गरेका छन्।
नेपालबाट जाने युवालाई मस्को पुगेपछि रूसी सेनामा भर्ती गराएर युक्रेनसँगको युद्ध थलोको अग्रमोर्चामा खटाउने गरिएको उनले अनुसन्धान अधिकृतलाई दिएको एउटा भिडिओ बयानमा बताएका छन्। १५ दिनको छोटो तालीमपछि एक दिन आराम गराएर भोलिपल्ट नै युद्धको अग्रमोर्चामा लगेको उनले बताएका छन्।
बखमत क्षेत्रमा दुई महीनाको अवधिमा ३८० जना रूसी सैनिकको मृत्यु भएको पनि उनले बताएका छन्। “बंकर, ट्रेन्च पनि थिएन। मैले नेपालमा लिएको तालीमी ज्ञान अनुसार रातभरि लासमुनि छोपिएर ज्यान जोगाएँ,” लेनिनले भिडिओ बयानमा भनेका छन्, “हाम्रा साथीहरू मरेको, बम लागेर उडेको मात्र देखिन्थ्यो। कसैको हात छैन, कसैको के!”
त्यो भयावह दृश्य देखे-भोगेपछि नेपाल फर्किने सोच आएको बताएका छन्। “दुई महीनापछि मैले सोचें- यत्तिकै यहाँ बसियो भने त पक्का मरिन्छ। म मरें भने त मेरा नाबालक छोराछोरी बेसहारा हुन्छन्,” उनले भनेका छन्, “जसरी पनि फर्कनुपर्छ भन्ने अठोट गरें।”
अदालतमा पेश भएको अभियोगपत्रमा पनि रूसी नियन्त्रणमा रहेको युक्रेनी भूभाग लोहान्स क्षेत्रको अस्पतालमा उपचारका लागि भर्ना हुँदा भागेर ज्यान जोगाएको लेनिनले बताएका छन्। भाग्ने योजना अनुसार नै झोलामा सादा कपडा बोकेको उल्लेख गरेका छन्। “सादा पोशाक लगाएर त्यहाँबाट भागेको चार दिनपछि मंसीर १४ गते मस्कोस्थित नेपाली दूतावास आएँ,” अभियोगपत्रमा लेनिनको भनाइ उद्धृत गरिएको छ। मस्कोस्थित नेपाली दूतावासकै सहयोगमा उनी साढे दुई महीनापछि मंसीर १५ गते नेपाल फर्किएका हुन्।
काठमाडौं आएपछि उनले आफूलाई झुक्याएर रूसी सेनामा भर्ती गराएको भन्दै प्रहरीमा जाहेरी दिए। त्यही जाहेरीका आधारमा काठमाडौं प्रहरी परिसरले तेह्रथुमका शंकर लिम्बू, मोरङका गोविन्द रिमाल, काठमाडौंमा बस्दै आएका मोरङका रविन घिमिरे र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन विभागका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर मुद्दा चलाएको हो। यद्यपि शंकरले लेनिन स्वेच्छाले रूस जान तयार भएपछि सहजीकरण गरिदिएको प्रहरीसँगको बयानमा बताएका छन्।
प्रहरीले विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा नेपालीलाई रूस पुर्याउने गरेको अभियोग लगाएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै भ्रमण भिसामा रूस पठाउन यो गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ। शंकरले रूस आउजाउ गर्दै आएको राहदानीबाट खुलेको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्री बताउँछन्।
यसरी भ्रमण भिसामा अवैध रूपले विदेश पुर्याउन अध्यागमन विभाग, ट्राभल एजेन्सी र वैदेशिक रोजगार व्यवसायीको मिलेमतो हुँदै आएको छ। यही संरचनामा रूस पुर्याउने गिरोह खडा भएको प्रहरी अनुसन्धानमा पाइएको छ। यो गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका रविन घिमिरे मुस्ताङ इमिरेट्स ट्राभल एन्ड टूर्सका सञ्चालक हुन्। उनी मार्फत नै अध्यागमन अधिकृत नरवीरले भ्रमण भिसामा रूस जानेहरूलाई सहजीकरण गर्दै आएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
लेनिनको जाहेरीका आधारमा प्रहरीले मानव बेचबिखन तथा ओसारपसारको आरोपमा गिरोहका सदस्यलाई पक्राउ त गर्यो तर जाहेरीकर्तालाई सास्ती थपिएको छ। विदेशी सेनामा भर्ती भएको आरोपमा उनले नेपाल प्रहरीको जागीर गुमाएका छन्। उनलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी प्रहरीबाट हटाइएको छ।
मंसीर १५ मा काठमाडौं ओर्लिएपछि लेनिन पुनः हाजिर हुन गौशालास्थित ट्राफिक कार्यालय पुगेका थिए। उनलाई पाँच दिन हाजिर समेत गराइएको थियो। “१८ दिन बिदा लिएका थिए तर लामो समय संगठनबाट सम्पर्कविहीन भए,” उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्ट भन्छन्, “पछि रूसी सेनामा भर्ती भएको खुलेपछि जागीरबाट हटाइएको हो।”
जागीरमा कुनै बाधा नहुने भन्दै अनुसन्धानमा सघाउन आग्रह गरेपछि आफूले जाहेरी दिएको लेनिनले बताएका छन्। “मैले संगठनलाई सहयोग हुन्छ र आफ्नो जागीरमा असर गर्दैन भनेपछि यो कुरा भनेको थिएँ,” हिमालखबरको सम्पर्कमा आएका उनले भने, “तर उल्टै मेरो जागीर गयो। गरीबको बोलिदिने को छ र!”
प्रहरी स्रोतका अनुसार ट्राफिक प्रहरीमै कार्यरत अर्का एक जना पनि बिदा लिएर मस्को पुगेका थिए। रूसी सेनामा भर्ती भएका उनी भागेर आई सेवामै पुन: जोडिएका छन्। लेनिनले भने जाहेरी नै दिएकाले अर्को मुलुकको सेनामा गएर जागीर खाएको पुष्टि भएको भन्दै प्रहरीले बर्खास्त गरेको हो। उनले दिएको जाहेरीमा भने परिबन्दमा परेर रूसी सेनामा पुगेको बेहोरा छ। उनले प्रहरीमा कमान्डो तालीम लिएका थिए।
नेपाल र रूसबीच सैन्य भर्ना सम्बन्धी कुनै सन्धिसम्झौता भएको छैन। तैपनि नेपाली युवा आफूखुशी रूसी सेनामा भर्ती भइरहेका छन्। युक्रेनसँगको युद्धमा रूसी सेनाबाट लडेका १० जनाको ज्यान गइसकेको छ भने चार जना युक्रेनमा बन्दी भएका छन्। रूसी सेनामा कति नेपाली युवा भर्ती भएका छन् भन्ने यकीन तथ्यांक नेपालसँग छैन।
युद्धस्थलबाट फर्किएका युवाका अनुसार थुप्रै नेपाली रूसका लागि अग्रमोर्चामा लडिरहेका छन्। वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक गएका, पढ्न रूस गएका युवा सेनामा भर्ती भइरहेका छन्।
नेपाली युवा रणभूमिमा जाने क्रम यतिमै सीमित छैन। म्यानपावर व्यवसायी, विद्यार्थी विदेश पठाउने शैक्षिक परामर्श केन्द्र सञ्चालकले समेत गिरोह खडा गरेर संगठित रूपमा नेपाली युवालाई रूसी सेनाको जनशक्तिका रूपमा अवैध आपूर्ति गरिरहेका छन्। जुन डरलाग्दो रहेको सुरक्षा अधिकारीहरू बताउँछन्।
प्रहरीले गत महीना यस्तै गिरोहलाई नियन्त्रणमा लिएको थियो। एप्पल एजुकेशन कन्सल्टेन्सी र युजिन मल्टिपर्पाेज कन्सल्टेन्सीका सञ्चालक सुमनकुमार लिम्बू सहित चार जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। यो समूहले रूसी सेनामा पठाउने भन्दै १० जनाको ८३ लाख ६५ हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत, काठमाडौंमा ठगीको मुद्दा विचाराधीन छ।
“पढाइ सम्बन्धी काम गर्न खुलेका एजुकेशन कन्सल्टेन्सीहरूले अवैध रूपमा कामदार पठाएको अनुसन्धानबाट देखिएको छ,” एसएसपी खत्री भन्छन्, “दुई देशबीच सन्धिसम्झौता नै नभएको मुलुकमा सैन्य भर्ती गराउँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छविमाथि दाग लाग्ने काम भएको छ।”
त्यो भन्दा नि महत्त्वपूर्ण त अनाहकमा नेपाली युवाले रूस-युक्रेन युद्धमा ज्यान गुमाइरहेका छन्। यसरी ज्यान गुमाएका, अंगभंग र घाइते नेपालीले आर्थिक क्षतिपूर्ति लगायत सुविधा पनि पाएका छैनन्। सरकारले पनि यसका लागि पहल गर्न सक्दैन, विना सम्झौता निजी तवरमा भर्ना भएकाले। जस्तो- चार लाख रुपैयाँ बुझाएर रूसी सेनाका तर्फबाट युक्रेन विरुद्ध लडेका पूर्व प्रहरी जवान लेनिन घाइते भएर समेत खाली हात फर्किए।
मासिक कम्तीमा तीन लाख रुपैयाँ तलब हुने भनिए पनि उनले दुई महीना बन्दूक बोक्दा समेत एक पैसा पाएनन्। उल्टै ज्यान बचाउन भागेर आउनुपर्यो।
उनको जस्तै कथा-व्यथा बोकेर अझै कति नेपाली युवा रूस-युक्रेन रणभूमिबाट फर्कने हुन्? कतिले उतै ज्यान गुमाउने हुन्? जवाफ कसैसँग छैन।
* नाम परिवर्तन गरिएको।
यो पनि पढ्नुहोस् :