ग्लोबल आइएमई ब्यांकको वार्षिकोत्सवमा २५३ जनालाई सम्मान
ग्लोबल आइएमई ब्यांंक लिमिटेडको १७औं वार्षिकोत्सवमा १५ वर्ष सेवा पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरिएको छ।
ब्यांकद्वारा आयोजित विशेष कार्यक्रमबीच ग्लोबल आइएमई ब्यांंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीलाई सम्मान गरेका हुन्। अध्यक्ष ढकालले ग्लोबल आइएमई ब्यांकले मर्जर र व्यवसाय विस्तारसँगै ब्यांंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए।
त्यस्तै, ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ब्यांकले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए। ब्यांकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय ब्यांकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुलुकका ७७ वटै जिल्लामा ग्लोबल आइएमई ब्यांकका शाखा सञ्जाल छन्। ब्यांंकले ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखा रहित ब्यांंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा दिंदै आएको छ।