थारू संस्कृति जोगाउन माघ महोत्सव
थारू समुदायको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको छ।
थारू कल्याणकारिणी सभा लगायत संघसंस्थाको संयुक्त आयोजनामा पुस २० र २१ गते महोत्सवको आयोजना गर्न लागिएको हो। थारू भाषा, कला, संस्कृति लोप हुँदै गइरहेकाले संरक्षण र प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको थारू कल्याणकारिणी सभाका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक अशोक चौधरीले बताए।
महोत्सवमा थारू परिकार, माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी, झोल सहित परिकार बिक्रीवितरण गरिने भएको छ। त्यस्तै, थारू भाषा, कला, संस्कृतिसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका पनि प्रदर्शनमा राखिने जनाइएको छ।
महोत्सवमा थारू हस्तकला ढकिया, खोंग्या, भौका, भौकी, गोन्द्री, छट्री, खटिया, डोली, डोला, थारू गरगहना प्रदर्शन गरिने भएको छ। यससँगै सांस्कृतिक झाँकी प्रस्तुत गरिने आयोजक समितिका सल्लाहकार भुवन चौधरीले बताए। यसमा दाङका सबै स्थानीय तहका टोलीले प्रस्तुति राख्ने भएका छन्।