इसाईकरणको निशानामा आदिवासी
शासकहरूले इसाई मिसनरीसँग मिलेर निर्बाध रूपमा आदिवासी तथा दलित बस्तीमा धर्मान्तर गर्न अनुमति दिएकाले नै उनीहरू इसाईकरणको निशानामा परेका हुन्।
नागरिकले आफ्नो आस्था अनुसार धर्म मान्न पाउनुपर्छ। नेपालको संविधानले त्यो अधिकार स्थापित गरेको पनि छ, धर्मनिरपेक्षतालाई सुनिश्चित गरेर। तर धर्मनिरपेक्षताको परिभाषा सर्वस्वीकार्य छैन। सनातन धर्मको संरक्षण धर्मनिरपेक्षताको विश्वव्यापी अवधारणा र सैद्धान्तिक दृष्टिकोणसँग कतै पनि मेल खाँदैन।
धर्मनिरपेक्षता मूलतः धर्म र धर्मगुरुले शासन गर्ने वेला राजनीति र धर्मलाई अलग पारेर राज्य प्रशासन सञ्चालन गर्ने सिद्धान्त हो। यूरोपमा राजा र पोपबीच राजनीतिक शक्ति-संघर्षका लागि हानाथाप भयो। त्यति वेला पोपलाई राजनीतिक मामिलाबाट विच्छेद गरेर धार्मिक मामिलामा सीमित गर्न र राजाले राजनीति र प्रशासन सञ्चालन गर्न प्रतिपादित सिद्धान्त नै धर्मनिरपेक्षता हो।
नेपालमा एकथरीले धर्मनिरपेक्षतालाई इसाईकरणका रूपमा अर्थ्याएका छन्। यो सरासर राजनीतिक शक्ति पुनःप्राप्तिको रोटी सेक्नलाई गरिंदै आएको मिथ्या प्रचार मात्रै हो। विशेषगरी भारतको हिन्दूत्ववादी राजनीतिक प्रभावले नेपालमा पनि गुमेको शक्ति प्राप्त गर्न सकिन्छ कि भन्ने मनसायले गरिने प्रचारबाजी मात्रै हो।
आदिवासी बस्तीमा चर्च
इसाईकरणको सञ्जाल आदिवासी बस्तीमा फैलँदो छ। नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेले काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया-नेपाल टाइज (पृष्ठ २०९) पुस्तकमा नेपालका तामाङ बस्ती तीव्र गतिमा इसाईकरण भइरहेको उल्लेख गरेका छन्।
त्यस्तै, बेन क्याम्पवेलले ‘तामाङ क्रिश्चियन्स एन्ड द रिसिच्युयटिङ अफ रिलिजियस डिफरेन्स’ मा यसबारे विस्तृत लेखेका छन् (रिलिजन, सेकुलारिज्म एन्ड एथनिसिटी इन कन्टेम्पोररी नेपाल, पृ. ४०३)। दुई दशकसम्म अध्ययन र अनुसन्धान गरेको रसुवाको तामाङ बाहुल्य क्षेत्रमा दुई वटा सामग्री फेला परेपछि यसबारे लेख्न प्रेरित गरेको वेलले उल्लेख गरेका छन्। पहिलो, पुरानो मिसनरी पम्प्लेट र दोस्रो, नयाँ भिडिओ चक्का (सीडी)।
तामाङ बस्तीमा इसाईकरणको बीउ रोपिएको ‘समर लिंग्विस्टिक अफ ल्यांग्वेजेज-सिल)’ परियोजनाबाटै हो। सन् १९६० को दशकमा ल्हाप्साङकार्पो हिमाल (गणेश) फेदमा रहेको तामाङ गाउँमा सिल परियोजना शुरू भयो। बाइबल, बाइबलका श्लोकलाई तामाङ भाषामा अनुवाद गरियो। यसरी दशकौं सिलको प्रयासबाट तामाङ बस्तीमा इसाईकरणको बीजारोपण भएको पाइन्छ।
यसबारे लेख्दै वेन क्याम्पवेलले सन् १९७० को मध्यतिर सिलले पश्चिमी तामाङ भाषामा थुप्रै प्रकाशनहरू गरेको उल्लेख गरेका छन्। पञ्चायती व्यवस्थामा नुवाकोटमा प्रलोभनमा पारेर धर्मान्तर गरिएको खुलाएका छन् (रिलिजन, सेकुलारिज्म एन्ड एथनिसिटी इन कन्टेम्पोररी नेपाल, पृ. ४०५)।
पाँच वर्षअघि मकवानपुरको राईगाउँमा पुग्दा बूढापाकाले सुनाएका थिए- दनुवार, हायु जस्ता भाषाको कामका लागि भनेर पञ्चायतकालमा सिलका प्रतिनिधि ट्वीनअटर विमान चढेर आउँथे। आदिवासी भाषामा बाइबल अनुवाद गरेर गाउँ गाउँमा बाँडेका थिए। गाउँमा इसाई बन्नलाई फकाउने र फुलाउने काम गरेका थिए। भाषाको विकासका लागि भनेर वेलावेला भेला गराउँथे।
मानवशास्त्री जगबहादुर बुढा आफ्नो एमफीलको शोध अनुसन्धानको सिलसिलामा मकवानपुरको वनकरिया र चेपाङ गाउँ पुग्दा आदिवासी इसाईकृत भएको सुनाएका थिए। रुकुमका रामप्रकाश पुरीले छिमेकी खाम मगरगाउँमा आजभन्दा ४० वर्षअघि नै खाममगर भाषामा अनुवाद भएको बाइबल देखेको सुनाए।
चर्चद्वारा आर्थिक शोषण
२०५० सालको आसपासमा सर्लाहीको मिलनचोकका मगरहरू पहाडबाट झरेका थिए। उनीहरू स्याङ्जा, तनहुँ र गोरखाबाट बसाइँ सरेका हुन्। उनीहरू कोही बेलायती लाहुरे, कोही मलाया, कोही हङकङ र कोही भारतीय लाहुरेबाट सेवानिवृत्त भएकाहरू हुन्।
लामो समय बेलायती सेनामा काम गर्दा आफ्ना हाकिम प्रभावित भएर इसाई बनेका पनि भेटिए। नेपाल फर्केपछि उनीहरूले आफ्नो गाउँठाउँमा इसाईकरणको अभियान चलाए। केहीले आफन्त र इष्टमित्रलाई इसाई धर्ममा प्रवेश गर्न लगाए।
सर्लाहीको उत्तरी भेगमा मगरद्वारा स्थापित मिलन चर्च मण्डली सबैभन्दा पुराना मण्डली हो। त्यही चर्चबाट सर्लाहीमा इसाईकरणको अभियान सञ्चालन हुँदै आएको छ। पहिला मिलनचोकका मगरमा मात्रै सीमित रहेको इसाई धर्म बिस्तारै अन्य आदिवासीमा पनि फैलिंदै गयो।
सर्लाहीमा तामाङ जातिको जनसंख्या निकै रहेकाले इसाई धर्मलाई प्रभावकारी तरीकाले फैलाउन तामाङ बस्ती रोजियो। तामाङ गाउँमा इसाईकरणका अभियान सञ्चालन भए। इसाई धर्म मान्ने मगर अगुवाहरूले ‘हामी सबै मतवाली र आदिवासी हौं। हामी समान हौं र उस्ताउस्तै हौं’ भन्दै इसाई बनाउन थाले। युवालाई सांगीतिक कार्यक्रम मार्फत आकर्षित गर्न थालियो।
अहिले सर्लाहीका तामाङ र मगर गाउँमा धमाधम चर्च बन्दै छन्। तामाङ बाहुल्य हरिवन नगरपालिकामा हाल १२ वटा चर्च बनिसकेका छन्। आदिवासी तामाङ र मगरले लाखौं रुपैयाँ पर्ने जग्गा चर्चलाई दान गरेका छन्। चर्चका भवन बनाउन रड, सिमेन्ट र इँटा पनि दान गरेको पाइन्छ।
गाउँ गाउँमा खुलेका चर्चले दशांश संकलन गर्छन्। आफ्ना विश्वासीलाई दशांशका नाममा नगद, जिन्सी र सरसामान दिनुपर्ने नियम नै बनाएर उठाउन थालेका छन्। दशांशको अर्थ कुनै व्यक्ति वा परिवारले केही आयआर्जनको काम गरे बापत त्यसको १० प्रतिशत स्थानीय चर्चलाई दिनै पर्ने नियम हो।
कुखुराले पारेको पहिलो अन्डा चर्चलाई लगेर दिनुपर्ने, बारीमा मकै भाँच्दा पहिले चर्चलाई दिनुपर्ने, खसीबोका बेच्दा त्यसको दशांश चर्चमा पुर्याउनुपर्ने नियम जस्तै हुन्छ। यसरी आदिवासीहरू चर्चद्वारा नयाँ किसिमको आर्थिक शोषणमा पर्न थालेका छन्।
आदिवासीमाथि हिन्दू शासकहरूले थोपरेको दमन पन्छाउन नपाउदै नयाँखाले दमनमा पर्न थालेका छन्। सयौं वर्षदेखिको हिन्दूवादी शासनसत्ताले थिलोथिलो बनाएका आदिवासीलाई अहिले इसाईकरणले क्षतविक्षत बनाउन थालेको छ। आदिवासीलाई उनीहरूका मौलिक धर्म, संस्कृति र संस्कारबाट च्युत बनाउन हिन्दू शासक र सरकारलाई इसाई मिसनरीले सहयोग गर्दै आएको उहिल्यैदेखि हो।
राज्यको मौन समर्थन
आदिवासी अहिले इसाईकरणको निशानामा पर्नुमा शासकको हेलाहेचो त छँदै छ, साथमा इमानदार र सोझा हुनाले पनि हो। वेन क्याम्पवेलका अनुसार तामाङहरूले धर्म परिवर्तन गर्नुका केही कारण छन्। पहिलो, राज्यद्वारा ऐतिहासिक विभेद; दोस्रो, अविकास र सीमान्तीकरण तथा तेस्रो, तामाङ सौन्दर्यशास्त्रीय प्रस्तुतिहरूमा इसाई तत्त्वहरू मिश्रित गरी रसुवाका तामाङ गाउँमा देखाइनाले पनि उनीहरू प्रभावित भएका हुन्। त्यसका साथसाथै गरीबी, बेरोजगार, अन्धविश्वास र प्रलोभन पनि उत्तिकै कारक तत्त्व हुन्।
बाजेबज्यैले भोजन ग्रहण गर्नुअघि मन्त्र पढेर पहिला पितृको भाग थोरै खाना र पानी छुट्याउने गरेका थिए। अहिले इसाई धर्म मान्ने आदिवासीले प्रभु येशुको नाममा पहिला प्रार्थना गरेर मात्रै भोजन गरेको देखिन्छ। पितृको ठाउँमा प्रभुलाई राखिएको छ।
केही महीनाअघि तामाङ सभ्यताको प्रतीक डम्फुमा येशुको क्रश लगाएको डम्फु सार्वजनिक भयो। क्रशसहितको डम्फु बजाउँदै, ‘डम्फु राप्सि व्हाइ कोसि प्रभुला महिमा लदोला’ (डम्फु बजाउँदै गीत गाउँदै प्रभुको महिमा गान गर्नुपर्छ) बोलको दृश्य-गीत (भिडिओ) बाहिरियो। त्यसपछि दुई दर्जन तामाङ संस्थाले विज्ञप्ति जारी गरेरै डम्फुमा क्रश लगाएकोमा विरोध गरे। यसले अहिले आदिवासी समाजभित्र द्वन्द्व र टकराव पनि सिर्जना गरेको छ।
इसाईकरण पञ्चायतकालदेखि नै हुर्कंदै आएको परियोजना हो। लेखक विश्वभक्त दुलाल (आहुति)का अनुसार राजा र राणाले आफ्ना सन्तानलाई अंग्रेजी पढाउन सेन्ट मेरिज र सेन्ट जेभियर विद्यालय भित्र्याएका हुन्। सन् १९९० अघि नियमावली ल्याएर गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था भित्र्याइए। झन् २०४६ सालपछि त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको बाढी नै आयो। आहुति प्रश्न गर्छन्, ‘यिनै राजा, पञ्च र शासकहरूले ल्याएका होइनन्?’
नेपाली राज्यसत्ताले आदिवासीलाई हिन्दू बनाउन गर्नुसम्म गरे। राज्यसत्ताको डन्डाको उपयोग वा दुरुपयोग दुवै गरे। अहिले राज्यसत्ताले आदिवासी गाउँमा इसाईकरण गर्न निर्बाध अनुमति दिएकै कारणले उनीहरू इसाईकरणको निशानामा परेका हुन्।
नेपालका आदिवासी मूलतः गैरहिन्दू भएकाले पनि राज्यलाई यो चिन्ताको विषय भएन। इसाईकरणको सन्दर्भमा के देखियो भने डलरका लागि मिसनरीसित मिलोमतो गर्ने र आदिवासी तथा दलित गाउँबस्तीमा प्रवेश गर्न प्रेरित गर्ने। अनि नेपालमा इसाईको संख्या बढ्यो र इसाईकरणको खतरा देखाएर डंका पिट्ने काम पनि सँगै गरिएको पाइन्छ।
अझ इसाईकरणमा संलग्न नेताहरू बाहुन नै छन्। सोझासाझा आदिवासी त शताब्दीयौंको बहिष्करणबाट मुक्ति पाउने आशामा जालबाट उफ्रिंदा पाखामा पुगेका मात्रै हुन्।