केएमसीले मानेन काठमाडौं विश्वविद्यालयको निर्देशन
काठमाडौं मेडिकल कलेज (केएमसी)ले काठमाडौं विश्वविद्यालयको निर्देशन अवज्ञा गरेको छ।
आवासीय चिकित्सक विशद दाहाललाई गरेको निलम्बन तत्काल स्थगन गर्न विश्वविद्यालयले पत्र पठाएको थियो। तर केएमसीले दाहाललाई अस्पताल प्रवेश गर्न दिएको छैन।
विश्वविद्यालयले निलम्बन फिर्ता गर्न पत्र पठाएपछि डा. दाहाल अस्पताल पुगेका थिए। उनलाई अस्पतालका सुरक्षाकर्मीले गेटमै रोकेका छन्।
बुधबार बिहान पनि अस्पताल प्रवेश गर्न नदिएको डा. दाहालले बताए। “आज त कोही पनि आवासीय चिकित्सकलाई छिर्न दिएको छैन, अस्पतालले केयूको निर्देशन मान्दैनौं भनेको छ,” डा. दाहालले भने।
गत बिहीबार अस्पतालले स्वास्थ्य शिविरमा सहभागी नभएको कारण देखाउँदै दाहाललाई निलम्बन गरेको थियो। निलम्बन नियमसंगत नभएको भन्दै काठमाडौं विश्वविद्यालयले फिर्ता लिन अस्पताललाई पत्राचार गरेको थियो। तर केएमसीले आवासीय चिकित्सकलाई पनि अस्पताल प्रवेश गर्न दिएको छैन।
यो पनि पढ्नुहोस् : डा. सुनिल शर्माको ‘स्वास्थ्य शिविर आतंक’ विरुद्ध बोल्दा निलम्बनमा परेका चिकित्सक