लेबनानमा इजरायली आक्रमणमा परी हमासका कार्यकारी प्रमुखको मृत्यु
इजरायलले लेबनानमा पुस १७ गते राति गरेको ड्रोन आक्रमणमा परी हमासका कार्यकारी प्रमुख सालेह अल-अरौरी मारिएको इजरायली सेनाले दाबी गरेको छ।
बीबीसीका अनुसार इजरायली प्रवक्ता मार्क रेगेभले ‘हमास नेतृत्व विरुद्ध गरिएको सर्जिकल स्ट्राइकमा’ अल-अरौरी मारिएका छन्। लेबनानी सञ्चारमाध्यमका अनुसार दक्षिणी बेरूतमा भएको ड्रोन आक्रमणमा अल-अरौरी सहित ६ जना मारिएका छन्। तीमध्ये दुई जना हमासका सैन्य कमान्डर हुन् भने अरू चार सदस्य हुन्।
अरब न्यूजले उल्लेख गरे अनुसार टेलिग्राम मार्फत हमासको अल-अक्सा टेलिभिजन च्यानलले त्यहाँ मारिने हमासका दुई सैन्य कमान्डरहरू समिर फिन्दी अबु अमीर र अज्जाम अल-अक्रा अबु अम्मर रहेको जनाएको छ।
अल-अरौरी हमासको सैन्य विभाग ‘कासिम ब्रिगेडस्’ का मुख्य नेतामध्ये एक हुन् भने हमासका नेता इस्माइल हानियाका निकटवर्ती। लेबनानमा बसेर उनले आफ्नो समूह र हिजबुल्लाहबीच सम्पर्क स्थापना गर्न गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
हमासले यस घटनाको विरोध गरेको छ भने लेबनानस्थित सैन्य विद्रोही समूह हिजबुल्लाहले इजरायली आक्रमण लेबनानी सार्वभौमिकताको उल्लंघन भएको दाबी गरेको छ। लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले भने इजरायलले ‘लेबनानलाई जबर्जस्ती युद्धमा तान्न खोजेको’ आरोप लगाएका छन्।
इजरायली प्रवक्ताले यो आक्रमण इजरायलले नै गरेको भन्ने पुष्टि गर्न इन्कार गर्दै भने, “जोसुकैले गरेको भए पनि के स्पष्ट छ भने, यो लेबनानी राज्यमाथिको आक्रमण होइन। यो आतंकवादी संगठन हिजबुल्लाहमाथिको आक्रमण पनि होइन।”
५७ वर्षीय अल-अरौरी ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले खोजिरहेका नेतामध्ये एक थिए। ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको अप्रत्याशित आक्रमणमा एक हजार २०० मान्छेको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सामान्य नागरिक थिए। हमासले २४० जनालाई बन्दी बनाएको थियो। तीमध्ये एक नेपाली युवक पनि छन्।
त्यसयता इजरायलले गाजामा गरेको आक्रमणमा २२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ जसमध्ये अधिकांश महिला र बालबालिका छन्।
गाजामा इजरायलले आक्रमण थालेदेखि नै हिजबुल्लाह समूहले लेबनानबाट इजरायल विरुद्ध रकेट आक्रमण गरिरहेछ।
लेबनानका विदेशमन्त्री अबदल्लाह बोउ हबीबले बीबीसीसँग भने अनुसार उनको सरकारले हिजबुल्लाहलाई आफैंले कुनै प्रतिक्रिया नदिन सहमत गराउन वार्ता गरिरहेछ। “२४ घण्टामा नै उनीहरूले यसको प्रतिक्रिया दिन्छन्/दिँदैनन् भन्ने थाहा हुनेछ,” उनले भने, “लेबनानीहरू, हिजबुल्लाह पनि क्षेत्रीय युद्धमा होमिन चाहँदैनन्, त्यही नै हाम्रो चासो हो।”
उनले इजरायललाई लेबनान र बेरूतमा मात्र नभई गाजामा पनि कुनै प्रकारका हिंसा नगर्न पश्चिमा जगत्ले दबाब दिनुपर्ने धारणा राखेका छन्।
(बीबीसी र अरब न्यूजको सहयोगमा)