हात्तीले मान्छेलाई किन गर्छ आक्रमण?
केही वर्षयताका घटना केलाउँदा हात्ती मारिएको वा दुःख पाएको क्षेत्रमा हात्तीले मान्छेमाथि आक्रमण गरेको देखिन्छ।
पूर्वी तराईका दुई जिल्ला झापा र मोरङमा पछिल्लो समय मान्छे र हात्तीबीच द्वन्द्व बढ्दै गएको छ। करेन्ट लागेर हात्ती मार्नु र हात्तीको आक्रमणबाट स्थानीय बासिन्दाको ज्यान जानु सामान्य जस्तै बनेको छ।
पछिल्ला केही वर्षको तथ्यांक हेर्दा मर्ने र मार्ने संख्या डरलाग्दो देखिन्छ। गत १२ वर्षमा झापामा मात्रै १६ वटा जंगली हात्ती मारिएका छन्। यस अवधिमा हात्तीको आक्रमणबाट ५६ जनाले ज्यान गुमाएका छन्।
हात्तीको आक्रमणबाट अंगभंग तथा घाइते भएकाको संख्या निकै ठूलो छ। अझ धन सम्पत्ति नष्ट भएकाहरूको हिसाबकिताब नै छैन।
जंगली हात्तीले अन्नबाली नष्ट गरेपछि स्थानीय बासिन्दा प्रतिकारमा उत्रिन्छन्। हात्तीलाई दुःख दिन्छन्, अझ कतिपय ठाउँमा त मार्ने नै गरिएको छ। हात्तीलाई दुःख दिने तथा मार्ने गरिएको क्षेत्रमै हात्तीले मान्छेको ज्यानै लिने गरी आक्रमण गरेको पाइन्छ। पछिल्ला केही वर्षको तथ्यांक र घटना केलाउँदा जुन क्षेत्रमा हात्तीलाई दुःख दिइएको तथा मारिएको छ, त्यही क्षेत्रमा हात्तीको आक्रमणबाट मान्छेको ज्यान गएका घटना धेरै भएको देखिएको छ।
जस्तो- २०७९ असार १७ मा झापाको बुद्धशान्ति गाउँपालिका-५, पाँचपोखरीमा आठ वर्षको भाले हात्ती मृत भेटियो। अनुसन्धानका क्रममा करेन्ट लागेर हात्ती मारिएको पुष्टि भयो।
त्यसको दुई महीनापछि बुद्धशान्ति-४, पाँचपोखरीस्थित जंगलको बाटो भएर घर फर्किंदै गर्दा ३७ वर्षीया सम्झना श्रेष्ठको ज्यान गयो। स्कूटरमा घर फर्किरहेकी श्रेष्ठलाई जंगली हात्तीले आक्रमण गरेको थियो। हात्ती मरेको स्थान र हात्तीको आक्रमणबाट श्रेष्ठको ज्यान गएको स्थान आसपासमै पर्छन्।
त्यस्तै, २०७९ कात्तिक ३० मा झापाकै कचनकवल गाउँपालिका-१, कलियागन्जमा १६ वर्षको भाले हात्ती मृत भेटियो। यो हात्ती पनि करेन्ट लगाएर मारिएको डिभिजन वन कार्यालयको अनुसन्धानमा खुल्यो।
त्यसको दुई महीनापछि बाह्रदशी गाउँपालिका-५ का जगतबहादुर भुजेल मृत भेटिए। भुजेल हात्ती मारिएको क्षेत्र आसपासकै जंगलमा मृत भेटिएका थिए। जंगली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको प्रहरी अनुसन्धानमा देखियो।
एक महीनाअघि मंसीर २८ मा मात्रै पनि बाह्रदशी गाउँपालिका-१, खयरबारी क्षेत्रमा १६ वर्षको भाले हात्ती मृत फेला पर्यो। यो हात्तीले एक सातादेखि खयरबारी क्षेत्रमा सखरखण्ड खाएर किसानलाई हैरान बनाएको थियो। सखरखण्ड जोगाउन किसानले थापेको विद्युतीय पासोमा परेर हात्ती मर्यो।
त्यसको ठ्याक्कै एक सातापछि जंगली हात्तीको आक्रमणबाट बाह्रदशीको पूर्वी सीमा क्षेत्रमा पर्ने हल्दीबारी गाउँपालिका-२ का ६० वर्षीय पाठल राजवंशीको ज्यान गयो। हात्ती मरेको र हात्तीको आक्रमणबाट राजवंशीको ज्यान गएको क्षेत्र आसपासमै पर्छन्।
यस वर्ष मात्रै झापामा तीन वटा जंगली हात्तीलाई करेन्ट लगाएर मारिएको छ। त्यही क्षेत्र वरिपरि हात्तीको आक्रमणबाट सात जनाको ज्यान गएको छ। वन डिभिजन कार्यालय, झापाका अनुसार गत वर्ष यही अवधिमा दुई हात्ती मारिएका थिए भने हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको थियो।
के हात्तीले इगो पाल्छ?
हात्ती पनि मान्छे जस्तै संवेदनशील प्राणी भएको संरक्षणकर्मी बताउँछन्। जंगली हात्तीका विषयमा विद्यावारिधि गरेका डा. अशोक रामका अनुसार बूढी हात्ती (हजुरआमा हात्ती)को नेतृत्वमा हात्तीको समूह हिंड्छ। अनुशासन पालना नगर्ने उरन्ठेउलो हात्ती समूहबाट निष्कासित हुन्छ। त्यसरी निस्केको हात्तीले नै गाउँघरमा दुःख दिने गरेको डा. राम बताउँछन्।
सप्तरीमा आफूलाई सताउने व्यक्तिलाई हात्तीले दुःख दिएर मारेको उनी सुनाउँछन्। “आफ्नै परिवारको सदस्यले दुःख पाएका छन् वा मारिएका छन् भने केही हात्तीमा इगो हुन्छ,” राम भन्छन्। उनी २०७१ सालमा सप्तरीमा भएको घटना उदाहरणका रूपमा पेश गर्छन्। “एक जनाले हात्तीलाई कुटपिट गरेको थियो, पछि त्यही हात्तीको आक्रमणबाट उनको ज्यान गयो,” उनी भन्छन्।
सबै हात्तीले इगो राख्छन् भन्ने नसकिने उनको भनाइ छ। “हात्तीको स्मरणशक्ति निकै बलियो हुन्छ। आफू र आफ्नो समूहलाई दुःख दिने, जिस्क्याउने, गाली गर्ने, गुलेली हान्ने मान्छेलाई हात्तीले सजिलै पत्ता लगाउन सक्छ,” डा. राम भन्छन्, “हात्तीलाई धेरै उत्तेजित पार्ने र दुःख दिने काम गर्यो भने मान्छेको ज्यान लिन सक्छ।”
यससँगै कसैबाट आफूलाई आक्रमण हुने डर भएमा पनि हात्तीले आक्रमण गर्ने संरक्षणकर्मी बताउँछन्। झापाको बिर्तामोड नगरपालिका-७ को सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेल २०७४ फागुन १२ को घटनालाई यससँग जोड्छन्। उक्त सामुदायिक वनमा हात्तीको आक्रमणबाट एकै दिन दुई व्यक्तिको मृत्यु भयो।
जंगलमा च्याउ टिप्न गएका बिर्तामोड-७ का रसुल मियाँ र बिर्तामोड-३ का हरिरमण राजवंशीको ज्यान गएको थियो। “एकसुरले च्याउ टिपिरहेका दुई जनाको हात्तीसँग जम्काभेट भएको हुन सक्छ, जसले गर्दा हात्तीले आफूमाथि आक्रमण हुन सक्ने डरले उनीहरूमाथि आक्रमण गरेको जस्तो घटनास्थलबाट देखिन्थ्यो,” प्याकुरेल भन्छन्।
जंगली हात्तीले आफ्नो बाटोमा आएको अप्ठ्यारो हटाउन खोज्दा मान्छेको ज्यान जाने गरेको विज्ञहरूको भनाइ छ। “हात्ती बौद्धिक प्राणी हो, एकदमै संवेदनशील हुन्छ,” हात्तीविज्ञ डा. नरेन्द्र प्रधान भन्छन्, “आफ्नो समूहको हात्ती मर्दा माटोले पुरेर अन्त्येष्टि गर्ने गरेको पनि देखेका छौं।”
डा. प्रधानको बुझाइमा झापा हात्तीको बढी आवतजावत हुने जिल्ला हो। जसले गर्दा हात्ती र मान्छेबीच द्वन्द्वका घटना बढी हुने गरेको उनको भनाइ छ।
झापामा हात्ती मारिने र मान्छेको ज्याने गरेको विषयमा भने छुट्टै अध्ययन गर्नुपर्नेमा हात्तीविज्ञहरू जोड दिन्छन्। “जंगली हात्ती मरेपछि त्यही क्षेत्र आसपासमा मान्छे मारिनु संयोग हो वा हात्तीको इगो हो भन्ने कुराको छुट्टै अध्ययन हुनुपर्छ,” डा. प्रधान भन्छन्।
हात्ती आवतजावत हुने क्षेत्रमा मान्छेको पनि आवतजावत बढी हुँदा द्वन्द्व बढेको संरक्षणकर्मीको भनाइ छ। हात्ती आफैंमा उत्तेजित हुने प्राणी नभएकाले मान्छेले गर्ने व्यवहारमा भर पर्ने उनीहरूको तर्क छ। यसको ताजा उदाहरण यही पुस १३ गते जंगली हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिका-११, दुधेका ४५ वर्षीय मेघराज राईको ज्यान गएको घटनालाई दिन्छन्।
मध्यरातमा जंगली हात्ती गाउँमा आएको थियो। हात्तीले राईको घर भत्काएको थियो। त्यसपछि उनले जंगली हात्तीलाई लखेटेका थिए। १०० मिटर जति लखेटेपछि भने हात्ती फर्किएर आयो। राई भाग्न सकेनन्। हात्तीले आक्रमण गर्दा उनको ज्यान गयो।
विज्ञहरू हात्तीको आनिबानी थाहा नपाएका र मदिरा सेवन गरेका व्यक्तिलाई हात्ती धपाउन नजान सुझाव दिन्छन्। धपाउने नाममा पुच्छर बटार्ने, आगोले डाम्ने, गुलेली हान्ने, नजिकबाट हिर्काउने गर्दा हात्ती उत्तेजित हुन्छ। आफूले दुःख पाएको गाउँ र चोट दिने मान्छेहरू सजिलै चिन्न सक्ने गुण हात्तीमा हुने भएकाले सजग रहनुपर्ने विज्ञहरूको भनाइ छ।