वीरेन्द्र र वेगको स्ट्रबेरी व्यवसाय
रोल्पा र म्याग्दीका दुई युवाले दाङमा व्यावसायिक स्ट्रबेरी खेती शुरू गरेका छन्।
घोराही उपमहानगरपालिका-१४, झिंगौरामा करीब नौ कट्ठा जग्गामा रोल्पाका वीरेन्द्र खड्का र म्याग्दीका वेग पुनले आठ लाख रुपैयाँको लगानीमा यो उद्यम थालेका हुन्। विदेश जानुभन्दा स्वदेशमै केही गरौं भन्ने उद्देश्यले झिंगौरामा रहेका स्वर्गद्वारी आश्रमको जग्गा १० वर्षका लागि भाडामा लिएर स्ट्रबेरी खेती शुरू गरिएको सञ्चालकमध्येका एक खड्काले बताए।
‘एग्रोमार्ट दाङ’ कृषि फर्म स्थापना गरेर आफूहरूले पछिल्लो समय पुष्प व्यवसायसँगै स्ट्रबेरी खेती थालेको खड्का बताउँछन्।
खड्काका अनुसार हाल दैनिक ३० केजी स्ट्रबरी बिक्री भइरहेको छ। “प्रतिकेजी ८०० रुपैयाँका दरले बेच्दै आएका छौं,” उनले भने, “अहिलेसम्म २०० केजी बिक्री गरिसकेका छौं, बजारको माग अनुसार पुर्याउन सकेका छैनौं।”
स्ट्रबेरी स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने भएकाले यसको माग बढेको उनी बताउँछन्।