बालकुमारी घटनामा मारिएका सुजनको शव दैलेख पुगेपछि भक्कानिए आफन्त
गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरी दमनबाट ज्यान गुमाएका सुजन रावतको शव आज उनको गृहजिल्ला दैलेख पुर्याइएको छ।
कोरियन भाषा परीक्षाका लागि आवेदन दिन काठमाडौं पुगेका दैलेखका २३ वर्षीय सुजन कोरिया जाने परीक्षाबाट वञ्चित गराइएपछि प्रदर्शनमा उत्रिएको समूहमाथि प्रहरी दमन हुँदा मारिएका थिए। उनको शव नेपाली सेनाको हेलिकोप्टर मार्फत दैलेख पुर्याइएको हो। शव पुर्याइनासाथ उनका आफन्तहरू भक्कानिएका थिए।
श्रीमान् गुमाएको वर्ष दिनमै छोरा पनि गुमाएकी नन्दा कटुवाल रावत भावविह्वल बनेकी थिइन्। सम्हालिन गाह्रो भएपछि उनलाई आफन्तहरूले सान्त्वना दिइरहेका थिए। श्रद्धाञ्जलीका लागि उपस्थित भएकाहरू पनि भक्कानिंदै रोएका थिए।
बुबा बितेपछि आमा, बहिनी र भाइको पालनपोषणको जिम्मा सुजनकै काँधमा थियो।
बालकुमारी घटनामा सुजन सहित अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको छ। प्रहरी दमनका कारण दुई युवाको ज्यान गएको विषयलाई लिएर कर्णालीमा युवाहरू प्रदर्शनमा पनि उत्रिएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पुतला जलाइएको थियो।
सरकार र पीडित पक्षबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम भने स्थगन गरिएका छन्।