गाँजाको औषधीय अनुसन्धान अघि बढाउनुपर्ने विज्ञहरूको तर्क
नेपालमा गाँजाको औषधीय अनुसन्धानका लागि पहल गर्न विज्ञहरूले जोड दिएका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको ‘विज्ञान संवाद’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरूले गाँजाको नियन्त्रित र औषधीय उपयोगलाई अघि बढाउनुपर्ने तर्क अघि सारेका हुन्।
काठमाडौं विश्वविद्यालय स्कूल अफ साइन्सका प्राध्यापक डा. पन्ना थापा नेपालमा गाँजा भन्नासाथ गाँजा सेवनलाई मात्र बुझिने हुँदा यसका उपयोगी पक्ष छायामा परेको बताउँछन्। “नेपालले गाँजाको औषधीय उपयोगलाई मार्गप्रशस्त गर्न नीति हेरफेर गर्नुपर्छ र औषधीय अनुसन्धानको कामलाई अघि बढाउन ढिला गर्न हुँदैन,” प्राध्यापक थापाले भने।
‘गाँजा सम्बन्धी नेपालमा हालको अवस्था र स्वास्थ्यमा प्रभाव’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै डा. थापाले कम उमेरका मानिसको शारीरिक विकासमा नकारात्मक असर गर्ने हुँदा २५ वर्षभन्दा कम उमेरका मानिसलाई गाँजाको प्रयोगबाट रोक्न कडा कानून र प्रभावकारी नियमन हुनुपर्ने बताए।
गाँजामुक्त भनिएका देशमा पनि गाँजालाई नियन्त्रित उपयोग गर्ने अनुमति दिइएको बताउँदै अधिवक्ता राजकुमार सुवालले कानूनले औषधीय उपयोगका लागि गाँजाको उपयोगलाई नरोके पनि व्यावहारिक समस्या भने बाधक बनेको धारणा व्यक्त गरे। ‘गाँजा सम्बन्धी नीति नियमहरू’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता सुवालले यस्तो बताएका हुन्।
‘गाँजा सम्बन्धी गरेका अनुसन्धान र हालसम्मको उपलब्धि’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका नास्टका वैज्ञानिक डा. सजनलाल स्याउलाले गाँजा सम्बन्धी विशिष्टीकृत अनुसन्धानमा लाग्नुपर्ने वेला भइसकेको तर्क गरे।
कार्यक्रममा हेम्प उद्योगका निर्देशक गणेश ऐडीले ‘गाँजा सम्बन्धी आर्थिक पक्ष’ मा प्रस्तुति दिंदै गाँजाबाट बनेका सामग्रीको उत्पादन र बजारीकरणको चुनौतीमाथि प्रकाश पारेका थिए।
गाँजा खेतीले वैधानिकता पाउने/नपाउने अन्योलका बीच संवाद कार्यक्रममा उठेका बुँदाले नीतिगत तहमा मार्गप्रशस्त गर्ने अपेक्षा लिइएको नास्टकी प्रवर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना वज्रले बताइन्। कार्यक्रममा यस क्षेत्रमा कार्यरत अनुसन्धानकर्मी, संघसंस्था, मन्त्रालयका पदाधिकारी लगायतको उपस्थिति थियो।
आधुनिकताको प्रभावमा परेर आफ्ना रैथाने ज्ञान मासिंदै गएको सन्दर्भमा नेपालले गाँजाको ऐतिहासिक उपयोगलाई समय अनुकूल बनाउँदै जानुपर्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बताए। “गाँजा सेवन हानिकारक होला तर त्यो कारणले मात्रै यसको बहुआयामिकतालाई छायामा पार्नु भएन,” पौडेलले भने, “अनुसन्धान मार्फत वैज्ञानिक उपयोग र उत्पादनलाई अघि बढाउनुपर्छ।”
नास्टका उपकुलपति प्रा.डा. दिलीप सुब्बाले गाँजाको वैज्ञानिक उपयोगको संवादलाई प्रभावकारी बनाउने दिशामा नास्ट अग्रसर रहेको बताउँदै सबै निकायको सहकार्यमा मात्रै यस विषयमा प्रभावकारी ढंगले अघि बढ्न सकिने भएकाले संवाद कार्यक्रम राखिएको बताए। कार्यक्रममा नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले गाँजाबारेको आमधारणा र वैज्ञानिक उपलब्धिलाई प्रकाश पार्न कार्यक्रम आयोजना गरिएको बताउँदै नीतिगत तहबाट पहल नभएसम्म यसको वैज्ञानिक अनुसन्धान र उत्पादन सम्भव नहुने बताए।