पत्रकारिताका सच्चा ‘मेन्टर’
गोकुल पोखरेल भन्नुहुन्थ्यो, “पत्रकार कहिल्यै ‘रिटायर्ड’ हुँदैन।” उहाँको कथनमा नतमस्तक हुँदै एउटा शब्दावली थप्न मन लाग्यो- सम्झना पनि कहिल्यै बिरानो हुँदैन, गोकुल सर!
राणाकालमा शुरू भएको नेपाली पत्रकारितामा थुप्रै राजनीतिक र प्राविधिक मोड आए। लेटरप्रेस, अफसेट प्रेस हुँदै डिजिटल प्रविधिको तिलस्मी युगसम्म आइपुग्दा नेपालको पत्रकारिताले नपत्याउँदो फड्को मारेको छ।
राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल, २०६२/०६३ को अप्रिल क्रान्ति र त्यसपछि सतत नेपाली पत्रकारिताले नेपाली समाजलाई बदल्न सघायो र आफू पनि बदलिंदै गयो।
नेपाली पत्रकारितालाई अहिलेको विकसित चरणमा पुर्याउन अग्रज गोकुल पोखरेल, भारतदत्त कोइराला, गोपालदास श्रेष्ठ जस्ता पत्रकारहरूको उल्लेखनीय भूमिका रहेको तथ्यलाई सगर्व आत्मसात् गर्न सकिन्छ। यस लेखमा पुस १६ गते मृत्युवरण गर्नुभएका पत्रकार गोकुल पोखरेलसँगका पंक्तिकारका अनुभूति र उहाँले पत्रकारिताको विकासमा दिनुभएको योगदानलाई पेश गरिएको छ।
कुरा निजी प्रसंगबाटै थालौं। २०६० सालमा नेपाल प्रेस इन्स्टिच्यूटले क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगन्जको क्षेत्रीय संयोजक पदमा विज्ञापन निकालेको थियो। त्यसका लागि मैले पनि आवेदन दिएको थिएँ। प्रतिस्पर्धा मार्फत म छनोट भएँ। त्यस वेला नेपाल प्रेस इन्स्टिच्यूटले विराटनगर र बुटवलमा पनि क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालन गरिरहेको थियो।
त्यस समयमा मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रका २४ वटा जिल्लाका पत्रकारका लागि तालीम, कार्यशाला र अन्य समयसापेक्ष कार्यक्रम सञ्चालन गर्नु संयोजकको जिम्मेवारी थियो। संयोजकका नाताले संयोजनकारी भूमिका मेरै थियो।
नियुक्ति लिएर नेपालगन्ज जाने वेला गोकुल पोखरेल नेपाल प्रेस इन्स्टिच्यूटको अध्यक्ष हुनुहुन्थ्यो। कार्यक्षेत्रमा खटिनुअघि उहाँले मलाई आफ्नो कार्यकक्षमा बोलाएर मैले निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारी प्रस्ट भाषामा सम्झाउनुभएको थियो, जुन म अहिले पनि झलझली सम्झन्छु।
पोखरेल भन्नुहुन्थ्यो, “हाकिम नबन्नू, पत्रकारहरूको सहजकर्ता बन्नू।” सबैसँग मित्रवत् व्यवहार गरेमा वातावरण सहज हुन्छ भन्नुहुन्थ्यो उहाँ। पोखरेलको सुझाव थियो- साथीसँगी र सहकर्मीबीच कुनै कारणले मनमुटाव भए आफू झगडाको कारक बन्नु हुँदैन, बरु ‘भोल्टगार्ड’ को भूमिका निर्वाह गर्नुपर्छ।
उहाँले स्वदेशी तथा विदेशी प्रतिनिधिका अगाडि पालना गर्नुपर्ने शिष्टाचार र सौहार्द्रपूर्ण व्यवहारबारे राम्रैसँग पाठ पढाउनुभएको थियो। एक अबोध बालकलाई सम्झाए जसरी दिइएका ती सुझाव मेरा लागि मार्गदशक सिद्धान्त नै बने।
पोखरेलसँग भेट हुनुअघि उहाँको व्यावसायिक जीवनबारे रोचक किस्सा सुनिन्थ्यो। उहाँ गोरखापत्रको प्रधानसम्पादक हुँदा राजपरिवारका एक सदस्यसँग सम्बन्धित समाचार छपाइको अशुद्धिले अन्यथा अर्थ लाग्ने गरी छापिएछ। यसपछि उहाँको जागीर नै गएको प्रसंग पत्रकार वृत्तमा चर्चाको विषय बनिरहन्थ्यो।
जीवनका यस्तै उतारचढावबाट पाठ सिकेर नै होला, कतै पेश गर्ने प्रयोजनले आफूले लेखेका सामग्री आफैंले पटक पटक पढ्ने, तथ्य जाँच गर्ने र आफूलाई सही छ भन्ने नलागेसम्म अन्त नपठाउने उहाँको बानी थियो।
गोकुल पोखरेलबाट प्रशिक्षित पत्रकारमध्ये तीर्थ कोइराला पनि हुनुहुन्छ। कोइरालाले कतिपय सन्दर्भमा उहाँसँग सहकार्य पनि गर्नुभयो। पत्रकार कोइरालाका दृष्टिमा गोकुल पोखरेल पेशागत सीप, क्षमता र दक्षतामा विश्वास गर्ने पेशानिष्ठ पत्रकार हुनुहुन्थ्यो। समग्रमा उहाँ पेशागत मर्यादाको मियो हुनुहुन्थ्यो।
उहाँले सुझाउनुभएको थियो, “आफूले सम्पादन गरेका क्रियाकलापको अभिलेख राख्नू।” मैले त्यसलाई पालना गर्ने प्रयास गरें। यसबाट प्रगति प्रतिवेदन लेख्न र इतिहास बनिसकेका घटना स्मरण गर्न धेरै सहज भएको पाएँ। अभिलेखीकरणको अभ्यासले संस्थागत स्मृति कायम गर्न सघाएको पाएँ। यसलाई उहाँबाट प्राप्त अमूल्य अभौतिक उपहार सम्झन्छु म।
गोकुल पोखरेल जस्ता अग्रजले पत्रकारिता गरेका वेला नेपालमा पत्रकारिताको ज्ञान र सीप दिने संस्थाको चर्को अभाव थियो। अनुज पुस्ता पत्रकारिताको आधारभूत ज्ञान र सीपबाट वञ्चित नहोओस् भन्ने भावनाले उहाँहरूको मनमा वास गरेको थियो।
त्यस वेला पत्रकारिताको प्राज्ञिक अध्ययन-अध्यापनको वातावरण राम्रोसँग तयार भइसकेको थिएन। त्रिभुवन विश्वविद्यालयले २०३३ सालमा प्रवीणता प्रमाणपत्र र २०३६ सालमा स्नातक तहमा पत्रकारिताको पढाइ शुरू गरे पनि त्यसले व्यापकता पाएको थिएन। उपत्यकाका एकाध कलेजमा मात्र पढाइ सीमित थियो।
त्यस वेला पत्रकारितालाई ‘करिअर’ बनाउन चाहनेहरूका लागि ज्ञान, सीप र ‘मेन्टरशिप’ को चर्को अभाव थियो। त्यस खडेरीग्रस्त समयमा अग्रजका दिमागमा पत्रकारलाई तालीम प्रदान गर्ने संस्थाको चित्र तयार भयो। सोही अनुसार गोपालदास श्रेष्ठ, गोकुल पोखरेल, भारतदत्त कोइराला, भोग्यप्रसाद शाह, गोविन्द वियोगी जस्ता अग्रजले २०४१ सालमा नेपाल प्रेस इन्स्टिच्यूट स्थापना गर्नुभयो।
त्यस वेला नेपाल प्रेस इन्स्टिच्यूट मरूद्यान जस्तै हुन पुग्यो। त्यसले एक से एक ऊर्जाशील पत्रकार जन्माउन थाल्यो। रवीन्द्र मिश्र, हरिकला अधिकारी, आनन्दराम आचार्य, अरुण रञ्जित, तीर्थ कोइराला, कपिल काफ्ले, युवनाथ लम्साल, राजेश घिमिरे, राजेन्द्र दाहाल, लक्ष्मण हुमागाईं, बालकृष्ण बस्नेत जस्ता कहलिएका व्यक्तिहरू नेपाल प्रेस इन्स्टिच्यूटकै उत्पादन हुन्।
तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा विज्ञान सञ्चार सम्बन्धी कार्यक्रम सञ्चालनमा पनि उहाँको भूमिका थियो। त्यसले प्रकाशन गर्ने विज्ञान सम्बन्धी फिचर सेवा ‘विज्ञानमाला’ मा उहाँको प्रत्यक्ष वा परोक्ष संलग्नता थियो।
२०४६ सालको राजनीतिक परिवर्तनपछि ब्रोडशीट अखबार आउन थाले। यस्तैमा नेपाल प्रेस इन्स्टिच्यूटले डेनमार्केली संस्था डानिडासँग लेखापढी गरेर देशभरका पत्रकारलाई तालीम दिने वातावरण बनायो। यही उद्देश्यले विराटनगर, बुटवल तथा नेपालगन्जमा क्षेत्रीय सञ्चार स्रोत केन्द्रहरू स्थापना भए।
मिडियामा दक्ष जनशक्ति उत्पादन गर्न डानिडाले सन् १९९६ देखि २००६ सम्म नेपाल प्रेस इन्स्टिच्यूटलाई उदार मनले सहयोग गर्यो। समयक्रममा नेपाल प्रेस इन्स्टिच्यूटले देशभरका पत्रकारलाई तालीम दिने अभिप्रायले प्रशिक्षक प्रशिक्षण तालीम सञ्चालन गरी प्रशिक्षकहरूको समूह तयार पार्यो।
त्यस वेला देशका कुनाकन्दरामा पत्रकारिताका विभिन्न विधाका तालीम सञ्चालन भए। मिडियाको विकाससँगै देशभर पत्रकार बन्ने लहर नै आयो। धेरै युवाका लागि पत्रकारिता आकर्षक पेशाका रूपमा देखा पर्न थाल्यो।
देशमा पत्रकारिताको ‘क्रेज’ बढाउने र पेशागत सीप थप्ने दिशामा गोकुल पोखरेल, भारतदत्त कोइराला जस्ता अग्रजले रचनात्मक भूमिका खेल्नुभयो, जुन धेरै अर्थमा वन्दनीय छ।
नेपाल प्रेस इन्स्टिच्यूटले दिने तालीममा सहभागी हुँदा मैले गोकुल पोखरेलको कक्षा पनि लिएको थिएँ। पूर्वीय दर्शनका प्रकाण्ड विद्वान् तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका छोरा हुनुका नाताले पनि उहाँमा बुबाका केही गुण रहेको अनुभूत गर्न सकिन्थ्यो। उहाँका कलम नेपाली तथा अंग्रेजी दुवै भाषामा समानान्तर चल्थे।
बेलायत, फ्रान्स आदि देशबाट पत्रकारिताका व्यावहारिक ज्ञान र सीप प्राप्त गर्नुभएका पोखरेल ज्ञान र अनुभवका खानी नै हुनुहुन्थ्यो। पोखरेल कक्षामा आफ्ना कुरा राख्दा पर्याप्त दृष्टान्त पेश गर्नुहुन्थ्यो। त्यसैले उहाँको कक्षा आकर्षक र ज्ञानवर्द्धक हुन्थ्यो।
विज्ञान ज्ञानी व्यक्तिले मात्र जान्ने विषय हो भन्ने बुझाइ हामीकहाँ कायमै छ। विज्ञानलाई रहस्यको पर्दाले छोप्नु हुँदैन, यसको रहस्यलाई जतिसक्दो उद्घाटन गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो। यस अनुरूप उहाँले विभिन्न गतिविधि पनि सञ्चालन गर्नुभएको थियो।
तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा विज्ञान सञ्चार सम्बन्धी कार्यक्रम सञ्चालनमा पनि उहाँको भूमिका थियो। त्यसले प्रकाशन गर्ने विज्ञान सम्बन्धी फिचर सेवा ‘विज्ञानमाला’ मा उहाँको प्रत्यक्ष वा परोक्ष संलग्नता थियो।
गोकुल पोखरेल भन्नुहुन्थ्यो, “पत्रकार कहिल्यै ‘रिटायर्ड’ हुँदैन।” उहाँको कथनमा नतमस्तक हुँदै एउटा शब्दावली थप्न मन लाग्यो- सम्झना पनि कहिल्यै बिरानो हुँदैन, गोकुल सर!
गोकुल पोखरेल जस्ता अग्रजको छत्रछायामा रहेर नेपाल प्रेस इन्स्टिच्यूटमा काम गर्दा म लाभान्वित भएँ। पी खरेल, चिरञ्जीवी खनाल, हस्त गुरुङ, पुष्प अधिकारी, कपिल काफ्ले आदिसँग सहकार्य गर्ने अवसर जुट्यो। पत्रकारिताका प्रशिक्षक प्रशिक्षण तालीमप्राप्त स्रोत व्यक्तिहरू रघु मैनाली, किशोर कार्की, मन्टेश्वरी राजभण्डारी, खेम भण्डारी, चिरञ्जीवी अर्याल, हेमन्त कर्माचार्य, भरत भुसाल आदिसँग पत्रकारिताका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे विचार-विमर्श गर्ने सुन्दर अवसर मिल्यो।
नेपालगन्जको बसाइमा स्थानीयस्तरमा ‘चाचाजी’ नामबाट सुपरिचित अग्रज पत्रकार पन्नालाल गुप्त, पूर्णलाल चुके, जनक नेपाल, मेघराज ओली, शुक्रऋषि चौलागाईं, अक्षरी पोखरेल, करुणा थापा, लियाकत अली, एकराज चौधरी, डिल्ली बिसी आदि नेपालगन्जीय सञ्चारकर्मीहरूसँग मीठो किसिमले पेशागत दोस्ती बढ्यो। मध्य र सुदूरपश्चिमका २४ वटा जिल्लाका पत्रकारसँग पनि चिनापर्ची र मायाममता बढ्यो। यस बाहेक स्थानीय नागरिक समाजसँग पनि साइनो गाँसियो।
त्यस वेला देशमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षतिर पुग्दै थियो। हत्याहिंसाको शृंखला जारी थियो। यस्तो अभिशप्त समयमा देशमा शान्ति पुनर्बहाली होस् भन्ने आमनागरिकको उत्कट चाहना थियो, जुन स्वाभाविक थियो। यही मेहरोमा बाँकेको नागरिक समाजले ‘शान्ति र सद्भाव अभियान’ अघि बढाएको थियो।
म पनि त्यसको एक हिस्सा बनेको थिएँ। त्यसक्रममा प्राध्यापक गणेश रेग्मी, जमुना भट्ट, झुकमाया जिएम, झविलाल शर्मा, ईश्वरी विश्वकर्मा, कृष्ण उपाध्याय, सीपी सिंह जस्ता तत्कालीन अभियन्ताहरूसँग मीठो सहकार्य भयो।
त्यसले दु:खको घडीमा सहजीवन र सहकार्यको महत्त्वबारे राम्रै पाठ सिकायो। जीवनका यी तमाम भोगाइमा नेपाल प्रेस इन्स्टिच्यूट, गोकुल पोखरेल र अन्य अग्रजबाट पाएको अवसरको अविस्मरणीय हिस्सेदारी छ।
गोकुल पोखरेल भन्नुहुन्थ्यो, “पत्रकार कहिल्यै ‘रिटायर्ड’ हुँदैन।” उहाँको कथनमा नतमस्तक हुँदै एउटा शब्दावली थप्न मन लाग्यो- सम्झना पनि कहिल्यै बिरानो हुँदैन, गोकुल सर! सम्झनाको फूलबारीमा तपाईं सधैं फक्रनुहुनेछ। तपाईंप्रति हार्दिक श्रद्धासुमन!