कश्मीरमा सुरक्षा व्यवस्था झन् कडा
सोमबार शुरुदेखि भएको इद अल अधा पर्वको पूर्व सन्ध्यादेखि नै कश्मीरका सबैजसो मस्जिदमा सुरक्षाव्यवस्था कडा बनाइएको भारतीय अधिकारीहरूले बताएका छन् ।
ठूला जामा मस्जिदहरूलाई बन्द गर्ने आदेश दिइएको छ भने साना मस्जिद मात्र खुला राखिएको र ती मस्जिदमा ठूलो भीडभाड नभएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गएको दुई दिनयता कश्मीरमा कर्फ्यू खुकुलो पारिएको बताइएको थियो । तर, इदको अवसरमा हुनसक्ने हिंसालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ ।
जम्मु–कश्मीरलाई केन्द्र सरकारको मातहतमा राख्ने कदमको विरोध भएका कारण कश्मीरमा आठ दिनदेखि सुरक्षा व्यवस्था कडा गरिएको समाचारमा जनाइएको छ ।
मुसलमानको बाहुल्य भएको जम्मू्–कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार सुरक्षाकर्मी गस्तीमा रहेका छन् भने फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ ।
गत बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरका नागरिकलाई इद उल अधा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए।
जम्मू–कश्मीरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपछि कश्मीरमा विरोध हुँदै आएको छ ।
भारत सरकारको यो कदमपछि विश्वको आँखा भारत प्रशासित कश्मीरको अवस्थाप्रति केन्द्रित रहेको छ ।
मुसमान समुदायको ठूलो पर्व इदका लागि भारतको नियन्त्रणमा रहेको कश्मीर प्रशासनले आइतबार कतिपय इलाकामा कर्फ्यू खुकुलो पारेको थियो।
कफ्र्यू खुकुलो पारेपछि सडकमा केही चहलपहल देखिएको र सोमबारको इदको किनमेल गर्न सबै जना बाहिर निस्किएका थिए । त्यस प्रयोजनका लागि सवारी साधन पनि केही खुकुलो पारिएको थियो ।
आइतबार दिउँसो १२ बजेसम्म सडकमा नागरिक र सवारी साधनको आवतजावत बढेको कश्मीरबाट प्राप्त भएका समाचारमा जनाइएको थियो । आइतबार कतिपय स्थानमा ट्राफिक जाम पनि भएको बताइएको थियो ।
तर १२ बजेपछि अचानक सुरक्षा व्यवस्थामा कडा गरिएको र मानिसको चहलपहल स्वात्तै घटेको थियो । त्यहाँ अहिले पनि सञ्चार तथा सूचनाका साधनहरू पनि प्रायः बन्द छन् ।
निरन्तरको कर्फ्यू र सञ्चारको अभावमा त्यहाँको अवस्था के–कस्तो छ भन्ने बारेमा केही सूचना प्राप्त हुन नसकेको स्थानीयको भनाइ छ ।