जापान एअरलाइन्सको विमान दुर्घटना
टोकियोस्थित हानिदा विमानस्थलमा अवतरणका क्रममा मंगलबार जापान एअरलाइन्सको विमान फ्लाइट ५१६ मा आगो लागेको छ।
फ्लाइट ५१६ ले टोकियो शहरबाट ८३२ किलोमिटर उत्तरमा अवस्थित साप्पोरो शहर नजिकैको न्यू चितोसे विमानस्थलबाट उडान भरेको थियो।
फ्लाइटरेडारका अनुसार स्थानीय समय अनुसार साँझ ५:४७ मा उक्त विमान हानिदा विमानस्थलमा अवतरण भएको थियो। विमानमा आगलागी भएका कारण यति वेला हानिदा विमानस्थलका सबै रनवे बन्द गरिएको छ।
जापान एअरलाइन्सका अनुसार विमानमा सवार सबै ३७९ यात्रु तथा चालक दलका सदस्यलाई सुरक्षित साथ निकालिएको छ। आगलागीका कारण विमान पूर्णतः ध्वस्त भएको छ।
भूकम्पपीडितलाई राहत लिएर उड्दै गरेको जापानी कोस्ट गार्डको विमानसँग फ्लाइट ५१६ ले ठक्कर खाएको आशंका गरिएको छ। कोस्ट गार्डका प्रवक्ताका अनुसार उक्त विमानमा सवार ६ मध्ये पाँच सदस्य हराइरहेका छन् भने पाइलटको ज्यान जोगिएको छ। बीबीसीले उल्लेख गरे अनुसार कसरी र कहिले दुई विमान ठोक्किए भन्नेबारे अनुसन्धान जारी छ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा