डा. सुनिल शर्माको ‘स्वास्थ्य शिविर आतंक’ विरुद्ध बोल्दा निलम्बनमा परेका चिकित्सक
काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न आवासीय चिकित्सकलाई पाठ्यक्रममै नभएको स्वास्थ्य शिविरमा खटाएको भन्दै विरोध गरेका डा. विशद दाहाल एक महीना निलम्बनमा परेका छन्।
पुस ७ गते काठमाडौं मेडिकल कलेज (केएमसी)का एमडी/एमएस तहका आवासीय चिकित्सकहरू प्यूठानको गौमुखी र बुद्धभूमि नगरपालिकामा आयोजना गरिएको पाँचदिने स्वास्थ्य शिविर सकेर काठमाडौं फर्कंदै थिए। दाङ आइपुग्दा एक जना महिला आवासीय चिकित्सक अत्यधिक रक्तस्राव भई गम्भीर बिरामी परिन्। उनलाई भैरहवा हुँदै विमान मार्फत काठमाडौं ल्याइयो।
उनी छारे रोगले ग्रस्त भई विमानमै बेहोश भएकी थिइन्। जसोतसो काठमाडौं ल्याइपुर्याइएकी उनी हाल एक अस्पतालमा उपचाररत छिन्।
आवासीय चिकित्सकहरूका अनुसार दिनभर शिविरमा खटिएका चिकित्सकलाई कलेजले रातारात यात्रा गराएर अर्को ठाउँ पुर्याउँथ्यो। सबेरै उठाएर अर्को शिविरमा खटाइन्थ्यो। आराम र निद्रा पर्याप्त नहुँदा थुप्रै चिकित्सक सामान्य बिरामी भएका थिए। ती महिला चिकित्सकलाई पनि त्यही भागदौडले गम्भीर बिरामी बनाएको क्रिटिकल केयर विभागका आवासीय चिकित्सक विजय केसी बताउँछन्।
स्वास्थ्य शिविरका नाममा उनीहरूमाथि अस्पतालले गरेको ज्यादती यो पहिलो पटक थिएन। पछिल्लो एक वर्षदेखि केएमसीले महीनामा १५ दिनभन्दा बढी स्वास्थ्य शिविर राख्दै आएको छ। जुन एमडी/एमएसको पाठ्यक्रममा समावेश पनि छैन।
एकातिर पाठ्यक्रममै नभएको काम गर्नुपर्ने, अर्कातिर स्वास्थ्य शिविरमा अग्रज चिकित्सक पनि नपठाउने भएपछि उनीहरूको सिकाइ प्रकिया नै अवरुद्ध भइरहेको छ।
केएमसी अस्पतालले विभागीय प्रमुखलाई पठाएको पत्र अनुसार पुसमा मात्रै तीन गतेदेखि २५ गतेसम्म प्यूठान, कपिलवस्तु, धादिङ, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका १८ ठाउँमा स्वास्थ्य शिविर राख्ने तालिका छ। कतै एक सातासम्म त कतै दुई सातासम्मको तालिका बनाइएको छ।
स्वास्थ्य शिविर आतंकले आजित आवासीय चिकित्सकहरूले एक वर्षअघि कलेज प्रशासन र सञ्चालकसँग आफूहरूको सिकाइ अवरुद्ध हुने गरी स्वास्थ्य शिविर नराख्न अनुरोध गरेका थिए। चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलमा उजुरी पनि गरेका थिए। उजुरीपछि नेपाल मेडिकल काउन्सिलका तर्फबाट डा. कालु सिंह खत्रीको टोली र चिकित्सा शिक्षा आयोगको तर्फबाट डा. गीता गुरुङको टोली अनुगमनका लागि आएका थिए।
मेडिकल काउन्सिलको टोलीले त्यहाँको पठनपाठनमा मापदण्ड पूरा नभएको र सुधार गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा आयोगमा प्रतिवेदन पनि बुझाएको थियो। तर कलेज प्रशासनले विद्यार्थीको समस्या सम्बोधन गरेन।
‘कलेज सञ्चालकको राजनीतिक अभीष्ट पूरा गर्न स्वास्थ्य शिविर’
प्यूठानबाट फर्कंदा एक आवासीय चिकित्सक गम्भीर बिरामी परेपछि गत पुस ८ गते कलेजका ९० जना आवासीय चिकित्सकले संयुक्त हस्ताक्षर गरेर स्वास्थ्य शिविरमा नजाने भनी कलेज प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए।
‘पाठ्यक्रममा नभएका यस्ता क्रियाकलापहरूमा खटाइँदा हाम्रो रेजिडेन्सीको आधाजसो समय अस्पताल बाहिर बितेको छ, जसले हाम्रो सिकाइ र अध्ययनमा गम्भीर असर परेको छ,’ कलेजलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘हप्ता, दुई हप्तासम्म अमानवीय ढंगले काममा लगाइँदा हामी विद्यार्थीलाई कतै राजनीतिक दाउपेचमा प्रयोग गरिंदै छ कि भन्ने आभास हुन थालेको छ।’
तर कलेजले पुस ९ गते पुनः ६ वटा स्वास्थ्य शिविरको तालिका निकाल्यो। जनरल मेडिसिन विभागका आवासीय चिकित्सक विशद दाहालले पाठ्यक्रम बाहिरको स्वास्थ्य शिविरमा नजाने भन्दै अडान राखे। गैरीगाउँ सुकुम्बासी बस्तीको पूर्व निर्धारित कार्यक्रममा नजाँदा कलेजको प्रतिष्ठामा आँच आउने सोचेर उनी पहिलो दिनको शिविरमा भने गए। दोस्रो पटकदेखि उनी शिविरमा गएनन्। अन्य विभागका आवासीय चिकित्सक भने अस्पताल प्रशासनको दबाब थेग्न नसकेर निरन्तर स्वास्थ्य शिविरमा गए।
दोस्रो शिविरमा नगएपछि कलेजले डा. दाहाललाई पुस १२ गते आवासीय चिकित्सकले पालना गर्नुपर्ने कर्तव्य र अनुशासन उल्लंघन गरेको भन्दै एक महीना निलम्बन गरेको सूचना निकाल्यो। अहिले केएमसीका सम्पूर्ण आवासीय चिकित्सक कलेजले स्पष्टीकरण समेत नसोधी डा. दाहाललाई निलम्बन गरेको भन्दै आन्दोलनमा छन्।
“प्रश्न गरेको आधारमा स्पष्टीकरण नसोधी मलाई कारबाही गरियो, यो सरासर अन्याय हो,” डा. दाहाल भन्छन्।
नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न पाठ्यक्रम बाहिरको काममा विद्यार्थीलाई प्रयोग गरेको दाहाल बताउँछन्। शर्माले केएमसी र नोबेल दुवै मेडिकल कलेजका विद्यार्थीलाई महीनाको १५ दिनभन्दा बढी स्वास्थ्य शिविरमा दौडाइरहेका छन्।
स्वास्थ्य शिविर आयोजना गरिएका अधिकांश स्थानमा राजनीतिमा संलग्न मानिसहरू आउने र चुनावकेन्द्रित प्रचार गर्ने गरेको दाहालको भनाइ छ।
सञ्चालक शर्माले विभिन्न कार्यक्रममा आफू नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट महामन्त्री पदको आकांक्षी भएको बताउँदै आएका छन्। यही कारण स्वास्थ्य शिविर आयोजना गरी भोट तान्ने पृष्ठभूमि तयार पारिरहेको दाहाल बताउँछन्। “आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न हामीलाई पाठ्यक्रममा नै नभएको काम लगाउँदा हाम्रो गुणस्तरमा पनि प्रश्न उठ्छ,” उनी भन्छन्।
एमबीबीएसपछि चिकित्साशास्त्रका विद्यार्थीले आफ्नो विषय अनुसार अस्पतालमै बिरामीसँग धेरैभन्दा धेरै समय बिताउनुपर्छ। उनीहरूले अग्रज चिकित्सकको सुपरिवेक्षणमा बसेर बिरामी जाँच गर्नुपर्छ। यही सिकाइले नै उनीहरूलाई पछि दक्ष चिकित्सक बनाउँछ। तर केएमसीले अग्रज चिकित्सक विनै महीनाको आधाभन्दा बढी समय विद्यार्थीलाई अस्पताल बाहिर पठाउने गरेको छ, जुन चिकित्सा शिक्षाको आधारभूत सिद्धान्त विपरीत हो।
विवादित सञ्चालक
अहिले केएमसी अस्पतालको गेटमा डा. दाहालको तस्वीर टाँसी उनलाई अस्पताल प्रवेश गर्न नदिन सुरक्षा गार्डलाई निर्देशन दिइएको छ।
चिकित्सकको गुणस्तर नै खस्कने गरी स्वास्थ्य शिविरमा खटाइएको भन्दै विरोध गर्दा आफू आँखाको तारो भएको दाहाल बताउँछन्। आखिर उनी मात्रै किन आँखाको तारो भए त? यो प्रश्नको जवाफ डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको अभियानसँग समेत जोडिन्छ।
शर्माको नोबेल मेडिकल कलेजले पूर्वाधारको मापदण्ड नै नपुर्याई सम्बन्धन पाएको थियो। उक्त कलेजले शैक्षिक सत्र २०७१/७२ मा एमबीबीएसमा १५० र बीडीएसमा ५० सीट पाएको थियो। नेपाल मेडिकल काउन्सिलले गरेको निरीक्षणका क्रममा नोबेलमा ४६ जनालाई निरीक्षणमा आउँदा देखाउनकै लागि प्राध्यापक भनेर खडा गरिएको थियो। त्यस्तै, अन्य मापदण्ड पनि पूरा नभएको पाइएको थियो।
त्यति हुँदाहुँदै कलेजले सम्बन्धन पाएपछि विरोधमा डा. केसी अनशन बस्दा डा. दाहाल त्रिवि शिक्षण अस्पतालमा एमबीबीएस अध्यनरत थिए। डा. केसीको अभियानमा प्रत्यक्ष देखिएका दाहाल त्यस वेलादेखि नै निजी मेडिकल कलेजका सञ्चालकको आँखाको तारो बनेका थिए।
यो पनि,
मेडिकल क्षेत्रमा ‘बदनाम’ सुनिल शर्माकाे संसद् यात्रा
त्यति मात्र होइन, २०७० सालमा डा. भगवान कोइरालाले राजीनामा दिएपछि अहिले काठमाडौं मेडिकल कलेजका प्राचार्य डा. रतिन्द्रनाथ श्रेष्ठलाई त्यस वेला त्रिवि शिक्षण अस्पतालको निर्देशक बनाइएको थियो। डा. केसीकै विरोधका कारण उनी कार्यकक्ष प्रवेश गर्न पाएनन्। त्यति वेला उनलाई कार्यकक्ष प्रवेश गर्न नदिन आन्दोलन गर्ने विद्यार्थीको नेतृत्व डा. दाहालले नै गरेका थिए।
केएमसीले दाहाललाई निलम्बन गरेपछि डा. केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त कलेजका प्राचार्य त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको पदाधिकारी छँदा ठूलो भ्रष्टाचार काण्डमा छानबिनमा परेका तथा जयराम गिरी प्रतिवेदनले उनी लगायतका पदाधिकारीहरूको अनियमितता खुलाई कारबाहीको सिफारिश गरेको थियो।’
आफू डा. केसीको अभियानमा सहभागी भएको र केएमसीमा पनि आन्दोलनको नेतृत्व गरेको कारण पृष्ठभूमि हेरेर निलम्बन गरिएको दाहाल बताउँछन्। कलेजले निलम्बन गरेपछि अहिले दाहालले चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिललाई समस्या समाधान गर्न आग्रह गरेर पत्र लेखेका छन्।
यी निकायबाट निलम्बन कानून विपरीत भएको र फिर्ताका लागि पहल गर्ने जवाफ आए पनि केएमसी कलेजले भने निलम्बन फिर्ता गरेको छैन। सोही कारण केएमसीका सम्पूर्ण आवासीय चिकित्सक डा. दाहाललाई गरेको निलम्बन फिर्ता लिनुपर्ने र पाठ्यक्रममा नभएको स्वास्थ्य शिविर गराउन नपाइने भन्दै काम छाडेर आन्दोलनरत छन्।
नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मा आफ्नो मेडिकल कलेजको शुल्क र सीट निर्धारण विषयमा वेलावेला विवादमा आइरहने पात्र हुन्। नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ का सांसद बनेका शर्मा गत असारमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ समेत परेका थिए।