दक्षिण कोरियाका प्रतिपक्षी दलका नेता छुरा प्रहारबाट घाइते
दक्षिण कोरियाका प्रतिपक्षी दलका नेता ली जेइ-म्युङ छुरा प्रहारबाट घाइते भएका छन्।
योनहाप न्युज एजेन्सीका अनुसार बुसान शहरमा आयोजित पत्रकार सम्मेलनमा उनीमाथि छुरा प्रहार भएको हो। मंगलबार बिहान उनको घाँटीको देब्रे भागमा छुरा प्रहार गरिएको थियो। आक्रमणकारीलाई तत्कालै पक्राउ गरिएको छ।
आक्रमणमा परी लीको घाँटीमा एक सेन्टिमिटर गहिरो चोट परेको थियो। उनलाई हेलिकोप्टरमा ‘एअरलिफ्ट’ गरी अस्पताल पुर्याइएको थियो। उनलाई होशमा छँदै उपचार गरिएको थियो। प्रहरीका अनुसार उनको चोट घातक छैन।
ली सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा साँघुरो मतान्तर (०.७३ प्रतिशत)ले पराजित भएका थिए।
५०/६० वर्षका एक पुरुषले उनीमाथि आक्रमण गरेका थिए। उनले आक्रमण गर्नुपूर्व शुरूमा लीसँग अटोग्राफ मागेका थिए।
५९ वर्षीय ली कोरियाको डेमोक्रेटिक पार्टीका प्रमुख नेता हुन्।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)