विपन्न नागरिकलाई घर बनाइदिंदै बौदीकाली गाउँपालिका
नवलपुरको बौदीकाली गाउँपालिकाका अति विपन्न परिवारले नयाँ घर पाउने भएका छन्। उनीहरूका लागि स्थानीय सरकारले घर बनाउन शुरू गरेको छ।
स्थानीय सरकारले ल्याएको आवास योजना अनुसार ६ वटै वडाका ११ वटा अति विपन्न परिवारको घर निर्माण भइरहेको छ। गाउँपालिकाले आवास योजना अन्तर्गत अति विपन्न परिवारलाई आन्तरिक स्रोतबाट घर बनाइदिन लागेको गाउँपालिका अध्यक्ष प्रकाश ओझा बताउँछन्।
“अति विपन्न परिवारका घर जीर्ण भएका छन्। उनीहरूले बनाउन नसक्ने देखिएको हुँदा पालिकाले आवास योजना ल्याएको हो,” अध्यक्ष ओझा भन्छन्, “संघीय सरकारले खरको छाना विस्थापन गर्ने नीति त ल्याएको छ तर कहिले कार्यान्वयनमा आउँछ यकीन छैन। संघीय सरकारकोे भर पर्दा घरै भत्किने अवस्था आएपछि स्थानीय सरकारले बनाउन लागेको हो।”
बौदीकालीले ६ वटा वडामा झन्डै १५० विपन्न परिवारका लागि घर निर्माण गरिदिनुपर्ने देखिएको छ। स्रोत अभावले हाल ११ घरबाट काम थालेको हो। “संविधानले नागरिकको आवासको अधिकार प्रत्याभूत गरेको छ तर सो अधिकार प्रदान गर्नका लागि सरकारबाट लगानी भने प्राप्त छैन। पालिकाको आन्तरिक स्रोत सीमित हुँदा जति सकिन्छ, त्यति गर्दै जाऔं भनेर काम थालेका हौं,” अध्यक्ष ओझा भन्छन्।
गाउँपालिकाले तयार गरेको आवास योजनाको मापदण्ड अनुसार ४४ वर्गमिटर क्षेत्रमा घर बन्नेछ। लम्बाइ आठ मिटर र चौडाइ चार मिटर हुने घरमा दुई कोठा हुनेछन्। घरको लागत तीन लाख ८० हजार रुपैयाँ पर्ने गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख सृजन श्रेष्ठले बताए। “इँटाको गारोको नौ फिट अग्लाइ हुने घरमा जस्ताको छानो हुनेछ,” इन्जिनीयर श्रेष्ठ भन्छन्, “लोड बियरिङ खाकामा पाँच इन्चको गारोको घरमा बरन्डा, भुइँ ढलान, प्लास्टर र रङरोगन गरिनेछ।”
गाउँपालिकाले दातृ निकाय र संघसंस्थासँग सहकार्य गरेर विपन्न घरपरिवारका जीर्ण आवास विस्थापन गर्ने नीति लिएको छ। “स्रोत अभावमा दातृ निकाय र परोपकारी संस्थासँग समन्वय गरेर अघि बढ्ने योजना छ,” अध्यक्ष ओझा भन्छन्।
आन्तरिक स्रोत ७० लाख रुपैयाँ हाराहारी भएकाले गाउँपालिकाले बजेट अभावको चुनौती भोगिरहेको छ। आवास निर्माणका लागि प्रदेश सरकारलाई गुहार्दा उत्साहजनक परिणाम हात नलागेको उनी सुनाउँछन्।
ओझाका अनुसार १५० घर बनाउन चार लाखका दरले रु.६ करोड लगानी चाहिन्छ। तर आवास निर्माणका लागि कतैबाट कुनै सहयोग पाउन नसकेको उनी बताउँछन्।
आफूहरूले गर्ने लगानीमा केही अंश संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएमा आवास कार्यक्रम दिगो र प्रभावकारी हुने उनको आशा छ। कार्यक्रम सफल पार्न गाउँपालिकाले गैरसरकारी निकाय र दातृ निकायसँग सहयोगका लागि पहल गरिरहेको छ।
२०३२ सालअघिको नक्शांकनमा बौदीकाली क्षेत्र पाल्पा जिल्लामा पर्थ्यो भने २०३२ सालपछि नवलपरासी जिल्लामा पर्यो। डेडगाउँ, रुचाङ, मिथुकरम, नरम, रकुवा र जौबारी गाविसलाई गाभेर बौदीकाली गाउँपालिका बनाइएको हो। अहिले नवलपुरमा पर्ने गाउँपालिकाको पूर्वमा बलिङटार, दक्षिणमा हुप्सेकोट गाउँपालिका पर्छन् भने पश्चिममा पाल्पा र उत्तरमा तनहुँ पर्छन्।
गण्डकी प्रदेश मानव विकास सूचकांकमा अन्य प्रदेशको तुलनामा राम्रै स्थानमा परेको हुँदा आवास कार्यक्रमलाई सहयोग जुटाउन सकस परेको अध्यक्ष ओझा बताउँछन्। “पालिका क्षेत्र प्रदेशकै पिछडिएको क्षेत्र हो। आन्तरिक स्रोत पनि कम, संघीय र प्रादेशिक सहयोग पनि नआउँदा सोचे जस्तो काम गर्न सकिएको छैन,” उनी भन्छन्, “अहिले अति आवश्यक ११ घरबाट आवास निर्माण शुरु गर्यौं। कार्यक्रमलाई निरन्तरता दिनेछौं। सहयोग जुटाउन विभिन्न निकायमा पहल गरिरहेका छौं।”