बाङ्लादेशका नोबल पुरस्कार विजेता युनुसलाई जेल सजाय
बाङ्लादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई त्यहाँको एक अदालतले ६ महीनाको जेल सजाय तोकेको छ।
देशको श्रम कानून उल्लंघन गरेको आरोपमा उनलाई जेल सजाय भएको हो। उनले स्थापना गरेको मोबाइल फोन कम्पनी ‘ग्रामीण टेलिकम’ ले आफ्ना मजदूरका निम्ति कल्याणकारी कोष स्थापना नगरेको भन्दै उनलाई दोषी प्रमाणित गरिएको हो।
प्राध्यापक युनुस बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाको आलोचकका रूपमा चिनिंदै आएका छन्। उनका समर्थकले अहिलेको फैसला पनि राजनीतिक उद्देश्यप्रेरित भएको आरोप लगाएका छन्।
“अदालतमा मेरा वकीलहरूले तर्क गरे जस्तै यो आदेश अहिलेसम्मका सबै नजीर र तर्क विपरीत छ,” अदालतले आदेश गरे लगत्तै प्राध्यापक युनसले टिप्पणी गरे, “म सबै बाङ्लादेशी जनतालाई अन्यायको विरुद्ध आवाज उठाउन र लोकतन्त्र एवं हामी सबैको मानव अधिकारको पक्षमा उभिन आह्वान गर्छु।”
लघुवित्त मार्फत गरीब जनताको उन्नतिका लागि काम गरेकै कारण युनुसले सन् २००६ मा नोबल पुरस्कार पाएका थिए। ८३ वर्षीय युनुसको समर्थनमा गत भदौमा १७० भन्दा बढी विश्वका नेता र नोबल पुरस्कार विजेताले हसिना समक्ष अनुरोध गरेका थिए।
यो पनि,
बाङ्लादेशका नोबल पुरस्कार विजेता युनुसका पक्षमा विश्वका नेता र नोबल विजेताको आह्वान
सन् २००८ मा सत्तामा आएदेखि नै हसिना सरकारले युनुसमाथि छानबिन शुरू गरेको थियो। खासगरी सन् २००७ मा युनुसले राजनीतिक दल गठन गर्ने घोषणा गरेपछि उनी क्रुद्ध भएकी थिइन्। त्यति वेला सेना समर्थित सरकार थियो र हसिना जेलमा थिइन्। यद्यपि युनुसले घोषणा गरे जस्तो राजनीतिक दल स्थापना गरेनन्।
युनुसले नेताहरूको रुचि पैसामा मात्रै भएको भन्दै आलोचना गरेका थिए। हसिनाले भने ग्रामीण ब्यांकको प्रमुखका रूपमा उनले गाउँका गरीब महिलाबाट पैसा उठाउन बल र अन्य माध्यम प्रयोग गरेको भन्दै ‘रगतचुसाहा’ को संज्ञा दिएकी थिइन्।
हसिना नेतृत्वको सरकारले सन् २०११ मा ग्रामीण ब्यांकको कामकारबाहीको समीक्षा गर्न थालेको थियो। सरकारको सेवानिवृत्ति सम्बन्धी नियमहरू उल्लंघन गरेको भन्दै युनुसलाई प्रबन्ध निर्देशक पदबाट हटाइएको पनि थियो। सन् २०१३ मा उनलाई सरकारको अनुमति विना पैसा लिएको आरोपमा मुद्दा पनि चलाइएको थियो, जसमा नोबल पुरस्कार र उनको पुस्तकको रोयल्टीको विषय पनि उठाइएको थियो।
पछि उनले स्थापना गरेका अन्य कम्पनीका विषय लिएर उनलाई अन्य मुद्दा पनि लगाइयो, जस अन्तर्गत ग्रामीण टेलिकमको विषय पनि थियो। ग्रामीण टेलिकम बाङ्लादेशको सबैभन्दा ठूलो मोबाइल फोन कम्पनी ‘ग्रामीण फोन’ को अंग हो, जुन आफैंमा नर्वेली टेलिकम कम्पनी टेलेनरको शाखा हो।
अदालतको आदेशमाथि टिप्पणी गर्दै उनका एक वकील अबदुल्लाह अल ममुनले भने, “यो अहिलेसम्मै नभएको फैसला हो। सिंगो मुद्दामा कानूनी प्रक्रिया पूरा गरिएकै छैन। यो केवल युनुसको अन्तर्राष्ट्रिय छवि बिगार्ने नियत मात्रै हो। हामी यस विरुद्ध पुनरावेदनमा जानेछौं।”
-बीबीसीको सहयोगमा