गाजाका सञ्चारकर्मीको समर्थनमा नेपाली पत्रकारद्वारा दीप प्रज्वलन (तस्वीरहरू)
प्यालेस्टिनी जनतामाथि इजरायली सेनाले गरेको आक्रमणको निन्दा तथा गाजाका सञ्चारकर्मीको समर्थनमा नेपाली पत्रकारले दीप प्रज्वलन गरेका छन्।
२२ हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरी भएको इजरायली हमलाको विरोधमा सोमबार पाटनको कृष्ण मन्दिर अगाडि नेपाली पत्रकारले मैनबत्ती बालेका हुन्। “गाजामा कार्यरत सञ्चारकर्मी त्यहाँका आममानिस झैं बमबारीको जोखिममाझ गाँस र वासको अभाव झेल्दै र प्रियजनको बिचल्लीमाझ चलिरहेको नरसंहारबारे विश्वलाई जानकारी दिइरहेका छन्,” नेपाली पत्रकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गत वर्ष विश्वभरिमा मारिएभन्दा बढी पत्रकार गत ७ अक्टोबरयता गाजामा मारिएका छन्। साढे दुई महीनामा ७० भन्दा बढी प्यालेस्टिनी पत्रकारको ज्यान गइसकेको छ।
जुनसुकै वेलामा मारिने जोखिममा रहेका गाजाका पत्रकारहरूले निर्दोष बालबालिकासँगै प्यालेस्टिनीको सामूहिक हत्याका साथै सन् १९४८ देखि नै थातथलो उजाडिएका मानिसको पीडासम्मको समाचार दिइरहेका छन्।
क्षेप्यास्त्र प्रहार र स्नाइपरको भयबीच समाचार प्रवाह गरिरहेका पत्रकारप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंमा पत्रकारहरूले भनेका छन्, “काठमाडौंबाट हामी गाजामा घेराबन्दीमा परेका पत्रकारसँग ऐक्यबद्धता जनाउँदै उर्लंदो नरसंहारको समाचार प्रकाशनमा लगाइने व्यवधानलाई चिर्ने क्षमता मिलोस् भनी कामना गर्दछौं।”