सिक्किमको राजनीतिक कलहको शिकार बनिन् नेपाली भ्लगर
सिक्किमका दुई प्रतिद्वन्द्वी राजनीतिक दलमध्ये एकका नेताको नाम भ्लगमा लिएकै आधारमा अर्कोले वैरी ठान्दा नेपाली भ्लगर उमा चाम्लिङ गिरफ्तार हुनुपर्यो।
मंसीर अन्तिम साता सिक्किम घुम्न गएकी नेपाली भ्लगर उमा चाम्लिङलाई आफ्नो भ्रमण यति विवादास्पद होला भन्ने लागेकै थिएन। चिनजान भएका मानिस नभए पनि घुम्ने इच्छाले त्यहाँ पुगेको उनले हालै फेसबूक लाइभ मार्फत बताएकी छन्।
तर उनको त्यो भ्रमण सोचे जस्तो रमाइलो भएन। भिडिओ मार्फत साम्प्रदायिक अशान्ति भड्काउन खोजेको आरोपमा उनी सदर प्रहरी स्टेशन गान्तोकबाट गिरफ्तार हुन पुगिन्।
पुस १४ गते गिरफ्तार भएकी उनी अहिले रिहा भएर नेपाल फर्किसकेकी छन् तर एक नेपाली भ्लगर भारतको सिक्किममा किन पक्राउ परिन् भन्ने प्रश्न उठेको छ। यस घटनालाई नजिकबाट अवलोकन गर्नेहरूले उनी सिक्किमको राजनीतिक कलहको शिकार बनेको टिप्पणी गर्छन्।
त्यसो त यो आरोपमा पक्राउ पर्नुअघि नै विना अनुमति सिक्किम प्रवेश गरेकाले पक्राउ परी रिहा भइसकेकी थिइन्। विना अनुमति प्रवेश नपाइने भारतका केही प्रान्तमध्ये सिक्किम पनि एक हो।
तर अनुमति नलिई सिक्किम गएकाले पक्राउ परेको उनले नाना (राई भाषामा दिदी) भनेर सम्बोधन गर्ने सिक्किमकी अनिता खालिङ राईले बताएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। त्यति वेला जमानतमा छुटेकी चाम्लिङ पुनः गिरफ्तार हुनुको कारण भने फेसबूकमा उनले पोस्ट गरेको भिडिओ बन्न पुग्यो।
उक्त भिडिओमा उनले पुस १४ गते सिक्किमको लेग्सेपमा हुन गइरहेको राई जातिको चाड साकेलामा आफू साकेला नाच्न जाने भन्दै दर्शकलाई पनि सहभागी हुन आह्वान गरेको देखिन्छ। तर त्यही भिडिओ मार्फत साम्प्रदायिक सद्भाव बिथोल्न खोजेको आरोपमा उनी गिरफ्तार भइन्।
सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य शिला राईले दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन्। उनलाई भारतीय दण्ड संहिताको धारा १५३ ‘क’ (विभिन्न समुदायबीच शत्रुता बढाउने कार्य), १५३ ‘ख’ (राष्ट्रिय एकतामाथि प्रभाव पार्ने कार्य’ र ५०५ ‘सार्वजनिक दुराचार गराउने भनाइ’ जस्ता अभियोग लगाउँदै पक्राउ गरिएको सिक्किम प्रहरीले जनाएको भारतीय न्यूज एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाले उल्लेख गरेको छ।
सिक्किमकी शिला राईले किन नेपाली भ्लगर विरुद्ध उजुरी दिइन् त? कारण हो, सिक्किमको राजनीतिक कलह। सिक्किममा मुख्य दुई वटा दलबीच राजनीतिक प्रतिस्पर्धा छ- सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)।
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (पीएस गोले) क्रान्तिकारी मोर्चाका नेता हुन्। यसअघि डेमोक्रेटिक फ्रन्टका पवनकुमार चाम्लिङ मुख्यमन्त्री थिए जो २५ वर्षसम्म त्यही पदमा थिए।
नेपाली भ्लगर चाम्लिङ विरुद्ध उजुरी दिने राई क्रान्तिकारी मोर्चाकी सदस्य हुन्। उक्त पार्टीका प्रवक्ता जेकब चाम्लिङले पुस १२ गते एक भिडिओ विज्ञप्ति सार्वजनिक गर्दै चाम्लिङ अनुमति नलिई सिक्किम भित्रिएको र एसडीएफले आयोजना गरेको कार्यक्रमको प्रचारमा लागेको भन्दै भारतको जासूसी संस्था ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ)ले अनुसन्धान गर्नुपर्ने माग गरेका थिए।
क्रान्तिकारी मोर्चाले चाम्लिङलाई आरोप लगाउनुको कारण चाहिं उनको भ्लग देखिन्छ। मंसीर ३० गते चाम्लिङले यूट्यूबमा पोस्ट गरेको भ्लगमा शुरूतिरै पवन चाम्लिङलाई भेट्न आफू उत्साहित भएको बताएकी छन्। आफू र पवन दुवै चाम्लिङ राई भएकाले भेट्ने इच्छा लागेको भन्दै उनले पवनलाई कोपा (बाजे) भनेर सम्बोधन गरेकी छन्। पुस ८ गते उनले पवन चाम्लिङलाई भेटेको तस्वीर पनि फेसबूकमा पोस्ट गरेकी छन्।
दार्जिलिङका एक सामाजिक अभियन्ताको विश्लेषणमा उनी सिक्किमको राजनीतिक दाउपेचको शिकार हुन पुगिन्। “पुस १४ का साकेला कार्यक्रम खास पवन चाम्लिङको पार्टी एसडीएफले आयोजना गरेको थियो,” नाम उल्लेख नगर्न आग्रह गर्दै ती अभियन्ता भन्छन्, “भारतमा सन् २०२४ मा हुन लागिरहेको निर्वाचनका कारण उनी राजनीतिक दाउपेचको शिकार भइन्। उनलाई कुन पार्टीको के कार्यक्रम भन्ने पनि थाहा थिएन।”
ती अभियन्ताका अनुसार निर्दोष नेपाली भ्लगर पक्राउ गरेको भन्दै सिक्किम र नेपालमा विरोध भएपछि गान्तोकको प्रहरीले उनलाई पुस १५ मा नेपाल फर्कायो। त्यही दिन बेलुका उनले फेसबूक लाइभमा आएर घटनाबारे आफ्नो धारणा राखेकी छन्।