५५ प्रतिशत उद्योगीले लगानीको योजना स्थगित गरे : परिसंघ
उद्योगी-व्यवसायीको संस्था नेपाल उद्योग परिसंघले गरेको एक अध्ययनले अर्थतन्त्रमा शिथिलता कायमै रहेको देखाएको छ।
परिसंघले सोमबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा समग्र बजार माग खस्किएको, कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागेको र उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखाएको छ। परिसंघले देशभरिका उद्योग व्यवसायमा गरेको सर्वेक्षणका आधारमा यस्तो निष्कर्ष निकालेको हो।
ताजा सर्वेक्षण अनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा गत वर्षको पहिलो त्रैमासमा २८.२८ प्रतिशतले ह्रास आएकोमा यस वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशत बिन्दु घटेको छ। आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचन आएको हो। यसैगरी उद्योगहरूको कारोबार रकम आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासका तुलनामा यस वर्षको पहिलो त्रैमासमा ३०.५४ प्रतिशतले खुम्चिएको छ।
परिसंघले अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण उद्योगी-व्यवसायीको मनोबल कमजोर बनेको अध्ययनमा देखिएको जनाएको छ। सर्वेक्षण अनुसार गत आर्थिक वर्षमा ६९.४४ प्रतिशत उद्योगी-व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगन गरेको जनाएका थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी-व्यवसायीले आफ्ना लगानीका योजना स्थगन गरेको बताएका छन्। गत वर्षको तुलनामा लगानीको मनोबलमा केही सुधार भए पनि अझै आधाभन्दा बढी व्यवसायी लगानीका लागि उत्साही नभएको तथ्यांकले देखाएको छ।
सिमेन्ट उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले संकुचन आएको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा अहिलेको सिमेन्टको समग्र माग ४४.५७ प्रतिशतले घटेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
निर्माण व्यवसाय क्षेत्रको समग्र माग गत वर्षको तुलनामा थप १६.२०५ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ पहिलो त्रैमासमा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९ प्रतिशतले संकुचन आएको अध्ययन प्रतिवेदनले जनाएको छ।
आर्थिक शिथिलताका कारण एफएमसीजी (फास्ट मुभिङ कन्ज्युमर गुड्स) भनिने उपभोग्य वस्तुको माग १७.७ प्रतिशतले घटेको अध्ययनले देखाएको छ। जबकि गत वर्षको पहिलो त्रैमासमा यस्ता वस्तुको माग २.५ प्रतिशतले बढेको थियो।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ पहिलो त्रैमासमा एफएमसीजीको समग्र मागमा कुल १५.६४ प्रतिशतले कमी आएको परिसंघले जनाएको छ। यसैगरी यस क्षेत्रको कारोबार रकम आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा ८.५२ प्रतिशतले संकुचन आएको छ। अध्ययन अनुसार यस आर्थिक वर्षको पहिलो त्रैमासमा यो क्षेत्रका दुईमध्ये एक व्यवसायीले आफ्ना लगानी योजना स्थगन गरेको जनाएका छन्।
पछिल्लो दुई वर्षयता अर्थतन्त्रमा शिथिलता रहेको व्यवसायीले बताउँदै आएका छन्। सरकारले पछिल्ला महीनामा अर्थतन्त्रको शिथिलतामा सुधार आएको र बजार चलायमान हुन थालेको बताउँदै आएको छ। परिसंघले उद्योगी-व्यवसायीसँगको सर्वेक्षणका क्रममा उनीहरूले दिएको जवाफको आधारमा यस्तो निष्कर्ष निकालेको हो।