अझै भेटिएनन् माइकल, छैन गतिलो उद्धार संयन्त्र
पदयात्रामा गएका पर्यटकलाई आपत्विपत् पर्दा उद्धार गर्ने गतिलो संयन्त्र नहुँदा मार्दी भ्रमणका क्रममा हराएका माइकलबारे तीन दिनसम्म कुनै जानकारी पाउन सकिएको छैन।
स्वीडेनका नागरिक २० वर्षीय माइकल लियू ब्लमवर्ग हराएको तीन दिन पुगेको छ। मार्दी पदयात्राका क्रममा पुस १४ गते बिहान ४ बजे हाई क्याम्पबाट मार्दी आधारशिविरका लागि निस्किएका उनी फर्किएनन्। फर्किने योजना भएकै कारण माइकलले आफ्नो झोला अघिल्लो रात बसेको होटल म्याजिक माउन्टेनमा नै राखेका थिए।
स्थानीय बासिन्दा, होटल व्यवसायी पुस १४ गते दिउँसोदेखि नै माइकलको खोजीमा छन्। मार्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष राजकुमार तामाङ माइकल नफर्किएको सूचना पाएसँगै दिनरात खोज तथा उद्धारमा लागिरहेको बताउँछन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीले माइकलको खोजबिनका लागि भनेर दुई जनाको टोली पठाएको छ। त्योभन्दा थप पहल गरेको छैन।
२८ दिनअघि नेपाल आएका माइकल यसअघि मनास्लु पदयात्रामा गएका थिए। मनास्लु पदयात्रामा भने उनले आफूसँगै गाइड लगेका थिए। गाइडसँग पनि माइकलबारे सोधपुछ भइरहेको पर्यटक प्रहरी पोखराका प्रमुख प्रहरी निरीक्षक जगदीश घिमिरे बताउँछन्। पर्यटक प्रहरी प्रमुख घिमिरका अनुसार आधारशिविरमा मौसममा परिवर्तन भइरँहदा एक्लै गएका माइकलले बाटो बिराएका हुन सक्छन्।
माइकल अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)सँग पदयात्राका लागि अनुमति लिएरै मार्दी गएका थिए। नेपाल पर्यटन बोर्ड, पोखरा निमित्त कार्यालय प्रमुख नवीन पोखरेल एकल रूपमा विदेशी पर्यटक पदयात्रामा जान नपाउने नियम भए पनि रोक्न नसकिएको सुनाउँछन्। यसले गर्दा उद्धारमा कठिनाइ हुने पोखरेलको भनाइ छ।
मार्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष तामाङ माइकलको खोजीमा स्थानीय सरकारले तत्परता नदेखाएको गुनासो गर्छन्। आफूहरू दिनरात खटिएर खोजतलास गरिरहेको भए पनि स्थानीय सरकारबाट कुनै सहयोग नमिलेको तामाङ बताउँछन्।
माछापुच्छ्रे गाउँपालिकाले भने त्यो ठाउँको भूगोल बुझेका दानबहादुर पौडेललाई खोजीका लागि पठाएको बताएको छ। यसले पर्यटकको खोज तथा उद्धारमा स्थानीय सरकार, व्यवसायी तथा सरोकारवालाबीच समन्वय नभएको देखाउँछ। पदयात्री हराएको दिन बढ्दै जाँदा सकुशल भेटिने सम्भावना पनि घट्दै जाने स्थानीय बासिन्दा बताउँछन्।
व्यवसायी र स्थानीय सरकारबीच विवाद
माइकल हराएको घटनाले व्यवसायी र स्थानीय सरकारबीचको विवाद पनि छताछुल्ल भएको छ। व्यवसायीहरू स्थानीय सरकारको विरोधमा उत्रिएका छन्। “गाउँपालिकाले पदयात्रीसँग शुल्क लिने तर खोज तथा उद्धारमा बेवास्ता गरेको छ,” समितिका अध्यक्ष तामाङ भन्छन्।
गाउँपालिकाले मार्दी पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउँदै आएको छ। गाउँसभाबाट आर्थिक ऐन २०८० पारित भई पदमार्गमा शुल्क उठाउने निर्णय भएसँगै स्वदेशीलाई १०० र विदेशीलाई ५०० रुपैयाँ शुल्क तोकिएको छ। जसको विरोध गर्दै व्यवसायीले मार्दीको पर्यटकीय गतिविधिमा असर पर्ने बताएका थिए।
समितिका अध्यक्ष तामाङ भन्छन्, “यसरी पैसा उठाउँदा पर्यटक मार्दी पदयात्रामा आउन छाड्नेछन्। गण्डकीमा आउने पर्यटकका लागि मार्दी बाहेक अरू थुप्रै रोजाइ छन्। एक्यापलाई शुल्क तिरिसक्दा पुनः अर्को शुल्क तिनुपर्दा पर्यटक घट्नेछन्।”
व्यवसायीले हुमालमा (लो क्याम्प) रहेको पर्यटक शुल्क उठाउने सूचना केन्द्रलाई पुस १५ मा भत्काएका छन्। त्यही ठाउँमा पुस १३ गते ५०० रुपैयाँ शुल्क तिरेर माइकल हाई क्याम्प गएका थिए।
त्रिपालले बनेको अस्थायी सूचना केन्द्र भत्काइदिएपछि गाउँपालिकाले विरोध जनाएको थियो। पुस १५ गते नै विज्ञप्ति जारी गरी गाउँपालिकाको बृहत्तर हितलाई ध्यानमा राखेर गरिएको निर्णयमा अवरोध गर्नु कानूनको ठाडो उल्लंघन रहेको जनाएको थियो। माछापुच्छ्रे-८ का वडाध्यक्ष राम गुरुङ व्यवसायीले कानून पालनामा अटेर गरिरहेको जिकिर गर्छन्।
यता व्यवसायीले भने पटक पटक गाउँपालिकामा ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि बाध्य भएर सूचना केन्द्र हटाएको बताएका छन्। समितिका अध्यक्ष तामाङका अनुसार गाउँपालिकाको निर्णय व्यावहारिक नभएकाले आन्दोलन गर्न ११ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। उनी शुल्क उठाउने गाउँपालिकाको निर्णय फिर्ता नहुँदासम्म विरोध जारी रहने बताउँछन्।