गृहमन्त्रीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन
बालकुमारीमा प्रहरीसँगको झडपमा दुई युवकको ज्यान गएको घटनालाई लिएर सुर्खेतमा प्रदर्शन गरिएको छ।
पीडितका आफन्त र युवाले सोमबार जिल्ला प्रशासन कार्यालय, सुर्खेतको अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पुत्लादहन गरेका छन्।
कोरियाली भाषा सिकेका युवाले ईपीएस परीक्षा दिन पाउनुपर्ने माग गर्दै पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।
सोही घटनालाई लिएर पीडितका आफन्त र युवाले कर्णालीको राजधानी सुर्खेतमा प्रदर्शन शुरू गरेका हुन्। त्यही दिनदेखि शुरू भएको विरोध अझै रोकिएको छैन।
शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले गोली चलाएको भन्दै गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका छन्। त्यस्तै, यातायातमन्त्री ज्वालाले पनि राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ। पुस १३ गते बालकुमारी पुगेका मन्त्री ज्वाला चढेको गाडीमा पनि आगजनी गरिएको थियो।
त्यस्तै, घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको जीवनयापनका लागि आर्थिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायत माग पीडित पक्षका छन्।
उनीहरूले सुर्खेतमा सरकारी सवारीसाधन चलाउन दिएका छैनन्।
यो पनि पढ्नुहोस् : दुई युवकको ज्यान लिने त्यो सरकारी अपव्याख्या