लिंग पहिचानपछि आफूखुशी गर्भपतन, जोखिममा महिलाको स्वास्थ्य
लिंग पहिचान गरी आफूखुशी गर्भपतनको औषधि सेवन गर्नेहरू बढेको तथ्यांकले बताइरहेको छ भने यसले महिलाको स्वास्थ्यलाई नै जोखिममा पारेको छ।
योनिबाट निरन्तर रगत बगिरहेको समस्या लिएर गत भदौ २१ गते पर्सा, सुर्जाहाकी ३२ वर्षीया महिला वीरगन्जस्थित नारायणी अस्पताल पुगिन्। ती महिलाको घरमा चार छोरी छन्। छोराको रहरले पाँचौं सन्तानको तयारी गरेकी थिइन्। तर गर्भमा पुनः छोरी नै भएको थाहा पाएपछि १४औं हप्ताबाट गर्भपतनको औषधि सेवन गरेकी थिइन्।
गत कात्तिक २ गते पर्साको पटेर्वासुगौली गाउँपालिकाकी एक महिला तथा जगरनाथपुर गाउँपालिका-६ की अर्की २४ वर्षीया महिलाको व्यथा पनि उस्तै थियो। सन्तानका रूपमा तीन वटी छोरी जन्माइसकेका ती दुवै महिलाको गर्भमा चौथो सन्तान थियो। दुवै छोरी थिए।
यसपछि परिवारको दबाबमा दुवैले गर्भपतन गराउने औषधि सेवन गरेका थिए। परिणामतः दुवैमा अत्यधिक रक्तस्रावको समस्या आयो।
यी त प्रतिनिधि घटना मात्र हुन्, नारायणी अस्पतालमा गर्भपतनको औषधि सेवन गरी समस्या निम्तिएपछि आउने महिलाको संख्या अहिले बढ्दो छ। अस्पतालले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९/८० मा रक्तस्रावको समस्या लिएर आउने महिलाको संख्या २८२ थियो। जसमध्ये २०० जनाले अस्पतालमा परामर्श नगरी गर्भपतनको औषधि सेवन गरेका थिए। चालू आर्थिक वर्षमा भने गत साउनमा २१, भदौमा २० र असोजमा २१ जना यही समस्या लिएर अस्पताल आएका थिए।
अस्पतालको प्रसूति वार्डमा कार्यरत नर्सिङ इन्चार्ज हेमा थापाका अनुसार अधिकांशले लिंग पहिचान गरेपछि नै गर्भपतन गराउँछन्। “घरमा छोरीछोरी छ भन्छन्, भिडिओ एक्सरे गराएका हुन्छन्। कतिपयले सबै कुरा भन्छन्, कतिपयले शुरूमा बताउँदैनन्, काउन्सिलिङ गरेपछि गर्भपतन गराउन औषधि सेवन गरेको स्वीकार गर्छन्,” नर्सिङ इन्चार्ज थापा भन्छिन्।
ग्रामीण क्षेत्रका अशिक्षित परिवारमा मात्रै नभई शहरका शिक्षित परिवारमा पनि लिंग पहिचान गरेर गर्भपतन गराउनेहरू रहेको उनको भनाइ छ। जस्तो- लिंग पहिचानपछि गर्भपतनको औषधि सेवन गरेकी वीरगन्ज-१६, नगवाकी २३ वर्षीया महिलालाई २०८० असोज ४ गते अत्यधिक रक्तस्राव भएर अस्पताल ल्याइएको थियो। उनका श्रीमान् गैरसरकारी संस्थामा जागीरे छन्।
पटक पटकको गर्भपतनले गर्भ नै नरहने जोखिम
स्वास्थ्यकर्मीका अनुसार सूचीकृत नभएका स्वास्थ्य संस्था वा मेडिकलबाट गर्भपतन गराउने औषधि लिने र तरीका पालना नगरी औषधि सेवन गर्ने गरिएको पाइएको छ। परिणामतः पाठेघरमा ‘रिटेन्ड प्रोडक्ट अफ कन्सेप्शन’ (आरपीओसी) को अवस्थामा अस्पताल आउने महिला बढी देखिएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन्। आरपीओसीले गर्भपतनपछि पनि पाठेघरमा भ्रूणको तन्तु रहेको तथा गर्भपतन पूर्ण रूपमा नभएको अवस्थालाई जनाउँछ। यो अवस्थामा महिलाको पाठेघरबाट महीनावारीको समयमा भन्दा बढी रगत निरन्तर बग्छ। जसले गर्दा उनीहरूमा रक्तअल्पताको जोखिम हुन्छ।
नारायणी अस्पतालका प्रसूति विभाग प्रमुख वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर सुरेन्द्र चौधरी गर्भपतनको औषधि सेवन गरेर पूर्ण रूपमा गर्भपतन नभएपछि अस्पताल आउने क्रम बढेको बताउँछन्। “गर्भपतन गराउने औषधि खाइसकेका हुन्छन्, इन्कम्प्लिट भएपछि अस्पताल आउँछन्,” उनी भन्छन्, “उनीहरूमा रक्तअल्पता हुने र ज्यान जाने जोखिम हुन्छ।”
पटक पटक गर्भपतन गराउँदा स्वतः गर्भपतन हुने जोखिम बढी हुने र गर्भ नै नरहने सम्भावना पनि हुने उनको भनाइ छ।
कानूनमा के छ?
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा लिंग पहिचान गरी गर्भपतन गर्न नपाइने भनिएको छ। ऐनले गर्भमा रहेको भ्रूणको लिंग पहिचान हुने काम गर्न नहुने, गर्भवती महिलालाई गर्भको लिंग पहिचान गर्न डरत्रास देखाई प्रलोभनमा पारी बाध्य पार्न नहुने भनेको छ।
ऐनको विपरीत लिंग पहिचान हुने कार्य गरेमा तीन महीनादेखि ६ महीनासम्म कैद तथा लिंग पहिचान गरी गर्भपतन गराएमा थप एक वर्ष कैद हुने व्यवस्था छ।
यद्यपि नेपाल सरकारले सन् २००२ देखि नै सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १५ अनुसार गर्भवतीको मन्जुरीले १२ हप्तासम्मको गर्भपतन गर्न सकिनेछ।
यस्तै, गर्भवतीको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्ने जोखिम भएमा गर्भवतीको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ। यसका लागि इजाजतपत्र प्राप्त चिकित्सकको राय आवश्यक पर्छ।
जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको २८ हप्तासम्मको गर्भ पनि गर्भवतीको मन्जुरीले गर्भपतन गर्न सकिन्छ भने एचआईभी वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेका महिलाको मन्जुरीमा पनि २८ हप्तासम्मको गर्भपतन गर्न सकिने प्रावधान छ।
भ्रूणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी खराब रहेको, वंशानुगत खराबी वा अन्य कुनै कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवतीको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ।
अत्यधिक रक्तस्रावले ‘हेमोरेजिक शक’
नारायणी अस्पतालका स्वास्थ्यकर्मीका अनुसार गर्भपतनको औषधि सेवन गरेर रक्तस्राव भएको तीन महीनापछि पनि उपचारका लागि आएका घटना छन्। कतिपयलाई त इन्फेक्सन समेत भइसकेको हुन्छ।
नारायणी अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर दीप्ति यादवका अनुसार गर्भपतनपछि स्वास्थ्य जटिलता भएर अस्पतालको इमर्जेन्सीमा आउने कतिपय बिरामी अत्यधिक रक्तस्रावका कारण ‘हेमोरेजिक शक’ मा समेत गइसकेका हुन्छन्।
आन्तरिक वा बाह्य कारणले शरीरबाट अत्यधिक मात्रामा रगत बगेमा मानिस हेमोरेजिक शकको अवस्थामा पुग्छ। रगतले अक्सिजन र अन्य आवश्यक पदार्थ शरीरका विभिन्न अंग र तन्तुमा पुर्याउँछ। जब धेरै रक्तस्राव हुन्छ, ती अंगमा पर्याप्त रगत प्रवाह हुन नसकी अक्सिजन तथा अन्य आवश्यक पदार्थ पनि पुग्न सक्दैनन्। जसका कारण बिरामीको ओठ र नङको भाग निलो हुन्छ। मुटुको चाल बढ्छ। मानिस बेहोश समेत हुन्छ।
गत असोज २६ गते पर्सागढी-३ कि ४१ वर्षीया महिला ‘हेमोरेजिक शक’ कै अवस्थामा नारायणी अस्पताल आइपुगिन्। शरीरबाट चिटचिट पसिना आइरहेको थियो। ब्लड प्रेसर जाँच गर्दा ९०/५० थियो। उनी अर्धचेत थिइन्।
स्वास्थ्यकर्मीले अक्सिजन र क्याथेटर (पिसाब फेर्नका लागि बाहिरबाट लगाउने पाइप) लगाए। अत्यधिक रक्तस्राव भइसकेको थियो, त्यसैले ब्लड ब्यांकबाट मगाएर रगत पनि चढाइयो। यसपछि बल्ल उनी सामान्य अवस्थामा फर्किइन्।
स्वास्थ्यकर्मीसँगको कुराकानीमा उनले औषधि सेवन गरेर १६ हप्ताको गर्भपतन गराएको बताइन्। सातौं गर्भ पनि छोरी नै भएको पत्ता लागेपछि परिवारले उनलाई गर्भपतन गर्न दबाब दिएको थियो।
“पसलमा गएर मागेर गर्भपतनको औषधि सेवन गर्छन्। गर्भ पाठेघरभित्र छ कि बाहिर छ भन्ने पनि थाहा हुँदैन। जाँच नै नगरी औषधि बिकाउनका लागि दिइन्छ। कति हप्ताको हो, कसरी खाने भनेर सिकाउँदैनन्। तालीम लिएका पनि हुँदैनन्,” डा. यादव भन्छिन्, “त्यसले गर्दा कम्प्लिकेशन हुन्छ। कतिपय बिरामी त धेरै ब्लीडिङ भएर मरेतुल्य अवस्थामा अस्पताल आइपुग्छन्।”
उनका अनुसार वीरगन्जमा मात्रै होइन, तराई-मधेशभरि यो समस्या देखिएको छ तर नियन्त्रण गर्न नसकिरहेको अवस्था छ। प्रयोगकर्ता सचेत नहुँदा यसले निम्त्याउने प्रभाव झनै घातक देखिएको छ।
“कतिपयले हिस्ट्री दिंदैनन्। ब्लीडिङ भयो भनेर आउँछन्,” यादव भन्छिन्, “दबाई खानुभएको थियो भनेर सोधेपछि हो भन्छन्। कति जनाले दबाई खाएको तीन महीना भयो तर ब्लीडिङ रोकिएन भन्छन्। सामान्यतया दुई हप्तापछि त ब्लीडिङ रोकिनुपर्छ।”
वीरगन्जकै प्रभु अस्पताल सञ्चालक एवं प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. लक्ष्मी थापा गर्भपतनको औषधि जथाभावी सेवन गर्ने परिपाटी नियन्त्रण गर्न कानून निर्माण गरी कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताउँछिन्। यस्तै, कडा अनुगमन समेत गर्नुपर्ने बताउँछिन्।
अनुमतिप्राप्त व्यक्तिले सूचीकृत ठाउँमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकको निगरानीमा मात्रै औषधि बिक्रीवितरण गर्नुपर्ने उनको भनाइ छ। “सर्वसाधारणले पनि गर्भपतन गराउने औषधिलाई गर्भनिरोधक साधनका रूपमा प्रयोग गर्न भएन। सरकारले उपलब्ध गराउने परिवार नियोजनको साधनको सदुपयोग हुनुपर्छ। जनता सचेत हुनुपर्छ,” उनी भन्छिन्।