सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा
सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको दोस्रो क्वालिफायर खेलमा कोशीले सुदूरपश्चिमलाई नौ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले एक विकेटको क्षतिमा १३ ओभरमै पूरा गर्यो।
कोशीका लागि काजल श्रेष्ठले ३८, रुबिना क्षेत्रीले ३७ र अप्सरी बेगमले १२ रन बनाए। सुदूरपश्चिमका लागि लक्ष्मी साउदले एक विकेट लिइन्।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ८८ रन बनाएको थियो। सुदूरपश्चिमका लागि सम्झना खड्काले २५, बिन्दु रावलले १७ र कविता जोशीले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
कोशीका लागि संगीता राईले दुई, शबनम राई, निशा शाह र अलिसा खडियाले एक-एक विकेट लिए।
अब उपाधिका लागि कोशीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि पहिलो क्वालिफायरमा कोशीलाई नै हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको थियो।
फाइनल खेल बुधबार बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।