बाँकेको बालसुधार गृह तनावग्रस्त
बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा तनाव उत्पन्न भएपछि प्रहरीले बल प्रयोग गर्ने तयारी गरेको छ।
बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता सुधारगृहमा आइतबार दुई समूहबीच झडप भएको थियो। त्यही विवाद बढ्दै गएर तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले बताए।
दुई समूहबीच झडपका क्रममा सुधारगृहमा आगजनी र तोडफोड भएको थियो। आज पनि विवाद साम्य भएको छैन। स्थितिलाई नियन्त्रणमा लिने कोशिश भइरहेको डीएसपी डाँगीले बताए।
“सुधारगृहमा चार-पाँच दिनदेखि विवाद शुरू भएका रहेछ, हामीले आइतबार मात्र खबर पायौं,” डीएसपी डाँगीले हिमालखबरसँग भने, “स्थिति तनावपूर्ण छ। हिजोदेखि नै स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं।”
अझै पनि सुधारगृहको तनाव कम नभएको उनले बताए। “अप्रिय घटना हुन नदिन अब बल प्रयोग गरेर भए पनि स्थिति नियन्त्रणमा लिन्छौं,” उनले भने।
पुरानो रिसइबीका कारण दुई समूहबीच झडप भएको सुधारगृहले जनाएको छ। अहिले सुधारगृहमा ११६ जना छन्।
यसअघि पनि बाँकेकै जयेन्दु बाल सुधारगृहमा झडप भएको थियो। झडपमा एक जनाको ज्यान गएको थियो।
यो पनि पढ्नुहोस् : सुधारगृहमा सल्किएको असन्तोषको आगो