डेभिड वार्नरले एकदिवसीयबाट पनि लिए सन्न्यास
अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले टेस्टसँगै एकदिवसीय क्रिकेटबाट पनि सन्न्यास घोषणा गरेका छन्।
“अवश्य म एकदिवसीय क्रिकेटबाट पनि सन्न्यास लिंदै छु,” सोमबार सिड्नी क्रिकेट मैदानमा उनले भने। यसअघि उनले पाकिस्तान विरुद्धको जारी टेस्ट शृंखला आफ्नो अन्तिम टेस्ट हुने बताइसकेका थिए।
यद्यपि अस्ट्रेलियन टोलीले आवश्यक ठानेको खण्डमा आफू सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि उपलब्ध हुने उनले बताएका छन्। “मलाई थाहा छ च्याम्पियन्स ट्रफी नजिकिंदै छ। यदि यो दुई वर्षको समय मैले लयमा रहेर क्रिकेट खेलिरहें भने र टोलीले मेरो आवश्यकता महसूस गर्यो भने म उपलब्ध हुनेछु।”
उनले भारतमा विश्वकपको उपाधि जित्नु आफ्नो महत्त्वपूर्ण उपलब्धि भएको पनि बताए। सन्न्यासपछि अब विश्वका अन्य लिग खेल्ने पनि उनले बताए।
वार्नर च्याम्पियन्स ट्रफीका लागि नफर्किएको अवस्थामा भारत विरुद्धको विश्वकपको फाइनल खेल नै उनको अन्तिम एकदिवसीय हुनेछ। त्यसको अर्थ २२ शतक सहित ४५.३० को औसतमा एकदिवसीयमा उनले ६ हजार ९३२ रन बनाएका हुनेछन्।
वार्नर पुरुष एकदिवसीयमा अस्ट्रेलियाका छैटौं सर्वाधिक रन बनाउने खेलाडी हुन्। र, शतकको सवालमा उनी अस्ट्रेलियाली दिग्गज खेलाडी रिकी पोन्टिङ (जसले वार्नरभन्दा २०५ एकदिवसीय पारी बढी खेलेका छन्)भन्दा मात्र पछाडि छन्।
वार्नरले आगामी जून महीनामा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपसम्म भने उक्त फर्म्याटमा खेल्न चाहेका छन्।
टेस्टका दिग्गज
वार्नर अब आफ्नो टेस्ट करिअरको समाप्तिबाट केवल एक खेल पर छन्। यसपछि उनले आफ्नो करिअरको समापन चौथो सर्वाधिक रन बनाउने ओपनर ब्याटरका रूपमा गर्नेछन्। इङ्ल्यान्डका एलेस्टर कूक, भारतका सुनील गभास्कर र दक्षिण अफ्रिकाका ग्रेम स्मिथले मात्र टेस्टमा ओपनरका रूपमा वार्नरले भन्दा बढी रन बनाएका छन्।
वार्नरले टेस्ट क्रिकेटमा ४४.५८ को औसतमा आठ हजार ६९५ रन बनाएका छन्। र, कुनै पनि अस्ट्रेलियाली ओपनर ब्याटरले टेस्टमा वार्नरले जति रन बनाएका छैनन्। वार्नरले मेर्लवर्न क्रिकेट मैदानमा पाकिस्तान विरुद्धको केवल अघिल्लो खेलमा म्याथ्यु हेयडनको आठ हजार ६२५ रनको आँकडालाई पछाडि पारेका थिए।
हेयडन मात्र केवल यस्ता ओपनर ब्याटर हुन् जसले वार्नर (२६ शतक)ले भन्दा बढी टेस्ट शतक (३० शतक) बनाएका छन्।
-ईएसपीएन क्रिक इन्फोबाट