बालकुमारी घटनाको छानबिन गर्न आयोग गठन
सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न आयोग गठन गरेको छ।
उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीनसदस्यीय जाँचबुझ आयोग गठन गरिएको हो। आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश पौडेलको अध्यक्षतामा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
आयोगलाई घटनामा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन तथा विश्लेषण गर्ने, घटनाको कारण र त्यस स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी कमीकमजोरी पहिचान गर्ने कार्यादेश दिइएको छ। आयोगले बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति तथा पदाधिकारी एवं निकायको भूमिकाबारे अध्ययन गर्ने, दोषी देखिएकालाई कारबाहीको सिफारिश गर्ने र आगामी दिनमा यस प्रकारका घटना हुन नदिन आवश्यक सुझाव पेस गर्ने मन्त्री शर्माले बताइन्।
आयोगलाई एक महीनाको समयावधि तोकिएको छ। आयोगले सुझाव सहितको वास्तविकता प्रस्तुत गर्ने र सुझावलाई सरकारले कार्यान्वयन गर्ने मन्त्री शर्माले जानकारी दिइन्। बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछामको चौरपाटी गाउँपालिका-१ का वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका-६ का सुजन रावतको ज्यान गएको थियो।