बालकुमारी घटना छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुने
सरकारले ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आयोग गठनका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शनिबार निर्देशन दिएका छन्। गृह मन्त्रालयले आयोग सम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्ंमा पेश गर्ने भएको छ।
मन्त्रिपरिषद्को सोमबार बिहान बस्ने बैठकले आयोग गठन सम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए। जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने मन्त्री ज्वालाको भनाइ छ। आयोगले सोमबारबाटै नै काम गर्ने जनाइएको छ।
मन्त्री ज्वालाले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गर्ने जानकारी दिए। “प्रधानमन्त्रीज्यूले आवश्यक निर्देशन दिइसक्नुभएको छ। भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारे आवश्यक निर्णय गर्नेछ,” उनले भने।
कोरियाली भाषा सिकेका युवाले ईपीएस परीक्षा दिन पाउनुपर्ने माग गरी बालकुमारीमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीको कुटपिटबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।
गृह मन्त्रालयले घटनाको छानबिनका लागि पुस १३ गते नै समिति गठन गरिसकेको छ। सरकारले शनिबार मात्रै ललितपुरका प्रहरी प्रमुख, ललितपुरका प्रमुख जिल्ला अधिकारी र इपिएस कोरिया शाखाका प्रमुखलाई छानबिन नसकिँदासम्म निलम्बन गरिसकेको छ। (रासस)