मधेशमा गरीब खान नपाएर, धनी खान नजानेर कुपोषित
मधेश प्रदेशमा गरीब परिवारका बालबालिका खाना नपाएर त, धनी परिवारका बालबालिका खान नजानेर कुपोषणबाट पीडित छन्।
नौ महीना हुँदा पनि महोत्तरीको मटिहानी नगरपालिकाकी जानकी महराका छोरा बिक्कीको तौल बढेन। दुब्लो-पातलो नै रहँदै गएपछि उनीहरू अस्पताल पुगे। “केही बिरामी भयो कि भनेर अस्पताल लगेका थियौं,” महरा भन्छिन्, “चिकित्सकले कुपोषण भएको भनेका छन्।”
पहिलो सन्तान पनि दुब्लो थियो। दोस्रो सन्तान पनि उस्तै भएपछि महरा परिवार आत्तिएको थियो। “जति गर्दा पनि तौल बढेन, ज्यान लागेन,” उनी भन्छिन्। उनलाई पनि चिकित्सकले पोषिलो खानेकुरा खान सल्लाह दिएका छन्।
उसो त महरा पनि दुब्ली-पातली नै छिन्। पेटमा बच्चा हुँदा पनि पोषिलो खानेकुरा खान पाइनन्। “जग्गाजमीन छैन, अरूको खेतबारीमा काम गरेर छाक टर्छ,” उनी आफैं प्रश्न गर्छिन्, “बिहानबेलुका छाक टार्न त गाह्रो छ, पोषिलो खानेकुरा कहाँबाट ल्याउने?”
उनले आफ्नो त वास्ता गरेकी थिइनन् तर सन्तानको चिन्ता लाग्यो। के गर्ने भनेर चिकित्सकलाई सोधिन्। पोषण पुन:स्थापना गृहमा लग्न सल्लाह दिए।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रादेशिक अस्पतालमा पोषण पुन:स्थापना गृह सञ्चालनमा छ। चिकित्सकको सिफारिशमा कुपोषित बालबालिकालाई पुन:स्थापना गृहमा राखेर उपचार गरिन्छ। जानकीले पनि छोरा बिक्कीलाई पुन:स्थापना गृहमा राखेकी छन्।
घरमा पोषिलो आहार हुँदैन। दालभात जे पाक्यो, सन्तानलाई त्यही खुवाउँछन्। माछामासु खान त चाडपर्व पर्खिनुपर्छ भने सागपात र तरकारी पनि हुँदैन। पछिल्लो पटक कहिले फलफूल किनेर ल्याएको भन्ने पनि सम्झिन सकिनन्।
सिरहा नगरपालिकाको माड़रका किरण गुप्ताकी चार वर्षीया छोरी लक्ष्मीलाई पनि उस्तै समस्या छ। उनको तौल बढेको छैन। शरीर दुब्लो-पातलो छ।
जेठी छोरीको तौल नबढ्दा खासै वास्ता नगरेका गुप्ता परिवार कान्छी छोरी लीलाको पनि एक वर्षसम्म तौल नबढेपछि चिन्तित बन्यो। लीलाको तौल मात्रै होइन, उचाइ पनि उमेर अनुसार बढेन। उपचारका लागि अस्पताल पुगेपछि चिकित्सकले कुपोषण भएको सुनाए। “खानपान नमिल्दा छोरीहरूमा समस्या आएको रहेछ,” उनी भन्छन्।
किरण गुप्ताको परिवारलाई जानकी महराको जस्तो खानलाउन धौधौ हुने पनि होइन। पूरै परिवार व्यापार-व्यवसायमा संलग्न छ। सिरहाको मिर्चैयामा हार्डवेयर पसल छ।
प्रशस्तै जग्गाजमीन भएको उनको परिवारलाई वर्षभर खान पनि पुग्छ। तैपनि छोरीहरू कुपोषणबाट ग्रसित बने। कान्छी छोरीलाई उपचारका लागि पोषण पुनःस्थापना केन्द्रमा राखेका छन्। किन कुपोषण भयो? “डाक्टरले खानपिनमा ध्यान नदिंदा कुपोषण भएको हो भनेका छन्,” उनी भन्छन्।
गुप्ता परिवार पनि आफूलाई जे पाक्यो, त्यही बालबालिकालाई खुवाउँछन्। फलफूल, माछामासुमा खासै ध्यान दिंदैनन्। बजारबाट फर्किंदा पनि चाउचाउ, नमकिन, भुजिया, समोसा ल्याइदिन्छन्, छोराछोरीका लागि। बालबच्चा पनि त्यसमै रमाउने गरेको उनी सुनाउँछन्।
यी दुई मधेशका प्रतिनिधि घटना हुन्। तराईको दलित समुदायको महरा परिवारले साँझबिहान हातमुख जोड्न अप्ठ्यारो हुँदा बालबालिकालाई पोषिलो खानेकुरा पुर्याउन सकिराखेको छैन। अर्कातिर, आर्थिक रूपमा सम्पन्न गुप्ता परिवार प्रशस्त खाद्यान्न भए पनि त्यसको उचित उपभोग नगर्दा बालबालिकालाई कुपोषित बनाइरहेको छ।
स्वास्थ्यकर्मी पनि मधेशमा गरीब परिवारमा मात्रै नभई हुनेखाने परिवारमा पनि कुपोषणको समस्या देखिएको बताउँछन्। उनीहरूका अनुसार गरीब परिवारका बालबालिका खाना नपाएर कुपोषित भइरहेका छन् भने धनी परिवारका बालबालिका खानपिनबारे जानकारी नहुँदा कुपोषणबाट पीडित छन्।
जनकपुरधामस्थित पुन:स्थापना केन्द्रमा कुपोषित बालबालिका लिएर आउनेको संख्या दिनदिनै बढ्दै गएको छ। गरीब र सम्पन्न परिवारका बालबालिका हाराहारीमै आउने गरेको पुन:स्थापना गृहकी नर्स रिंकु यादव बताउँछिन्। “गरीब परिवारका बालबालिकामा कुपोषण हुने नै भयो। आर्थिक रूपले सम्पन्न, दुई छाक खानपिन गर्न समस्या नहुने परिवारका बालबालिकामा पनि कुपोषणको समस्या देखिन्छ,” यादव भन्छिन्।
मधेश प्रदेशका जनकपुर, वीरगन्ज र राजविराजमा सञ्चालित पोषण गृहमा पनि बालबालिकाको संख्या बढ्दै गएको छ। तीनै स्थानमा १०-१० शय्याको व्यवस्था छ। तर दैनिक कुपोषित बालबालिका लिएर आउने गरेका अभिभावक राख्ने ठाउँ नभएर फर्किने गरेका छन्।
तथ्यांकमा कुपोषण
सरकारी तथ्यांक अनुसार मधेश प्रदेशमा जन्मेका लगभग १३.७ प्रतिशत शिशु अति कम तौलका छन। शिशुहरू कुपोषणको शिकार बन्ने गरेपछि उनीहरूमा विभिन्न खालका रोग देखिने गरेका छन्। जबकि देशभर आठ प्रतिशत मात्रै छ।
त्यस्तै, मधेश प्रदेशमा पाँच वर्षभन्दा कम उमेरका १.५ प्रतिशत बालबालिका श्वासप्रश्वास समस्याबाट ग्रसित छन्। मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुपोषणका कारण बालबालिकामा रक्तअल्पताको समस्या देखिने गरिएको छ। ५९.४ शिशुमा प्रतिशतमा रक्तअल्पताको समस्या देखिएको छ।
अर्कातर्फ, प्रजनन उमेरका महिलामा समेत रक्तअल्पताको समस्या उच्च देखिएको छ। जसले गर्दा शिशु जन्मिंदा आमालाई विभिन्न समस्याले च्याप्ने गरेको छ। करीब ५८ प्रतिशत महिलामा रक्तअल्पता देखिने गरेको तथ्यांक छ।
कुपोषणका कारण बालबालिकामा पुड्कोपनको पनि समस्या देखिएको छ। ३७ प्रतिशत शिशुमा पुड्कोपनको समस्या देखिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, प्रदेशमा कडा खालको कुपोषणका कारणले चारदेखि २० प्रतिशत बालबालिका समस्यामा रहेको पाइएको छ। त्यस्तै, १४ प्रतिशत शिशुमा ख्याउटेपनको समस्या देखिएको छ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल डेमोग्राफिक हेल्थ सर्भेका अनुसार १५ देखि १९ वर्षभित्रका गर्भवती महिला कर्णालीपछि मधेशमै छन्। मधेशमा यो उमेर समूहका २० प्रतिशत र कर्णालीमा २१ प्रतिशत गर्भवती हुने गरेका छन्। देशभर भने १४ प्रतिशत देखिएको छ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादव मधेश प्रदेशमा ६ देखि ५९ महीनासम्मका १० हजार बालबालिका कुपोषित रहेको बताउँछन्। अभिभावकले कुपोषणलाई सामान्य रूपमा लिने गरेकाले समस्या भएको डा. यादवको भनाइ छ। “अहिले पनि अभिभावक आफ्ना शिशुमा कस्तो खालको समस्या छ? तौल, पोषणको अवस्था कस्तो छ? यस्ता विषयमा जानकारी नै राख्दैनन्,” उनी भन्छन्।
मधेशमा किन धेरै कुपोषण?
तराई-मधेश अन्नको भण्डार हो। यस क्षेत्रमा उत्पादित अन्नपात पहाड र हिमालसम्म पुग्छ। तर यहाँकै बालबालिका कुपोषित छन्। अहिलेसम्म पुन:स्थापना गृह पुगेका बालबालिकाका आधारमा नर्स यादव अभिभावक दोषी देख्छिन्। “बच्चाले समयमा खायो कि खाएन? कस्तो खानेकुरा खायो? त्यसमा ध्यान दिएको देखिंदैन,” उनी भन्छिन्।
अभिभावकमा चेतनाको कमी र लापरवाहीले सन्तान कुपोषित बन्दै गएको देखिएको उनी सुनाउँछिन्। साथै, अभिभावकले कुपोषणको समस्यालाई गम्भीरताका साथ नलिएकाले यो समस्या घट्न नसकेको उनको अनुभव छ।
स्वास्थ्यकर्मीका अनुसार घरमा पाकेको खाद्यवस्तुको साटो बाहिरका खानेकुराको प्रयोगले गर्दा पनि कुपोषण कम भएको छैन। तराई-मधेशमा घरमा पकाइएको खानेकुराभन्दा बजारमा पाइने पकौडा, समोसा, चाउचाउ, चाउमिनलाई खाजाका रूपमा प्रयोग गर्ने प्रचलन छ। यसले गर्दा बालबालिकाले पौष्टिक तत्त्व पाउन सकेका छैनन्।
अर्कातिर, कामकाजी दम्पतीले बालबालिकालाई समय नदिंदा पनि यो समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन्। कामको हतारोले बालबालिकाले खाए/नखाएको ख्याल राख्दैनन्। मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. यादवले गरीबीसँगै अभिभावकको बेवास्ताका कारण कुपोषण घट्न नसकेको बताउँछन्। “बालबालिकाले के खायो, कस्तो खायो भन्ने अभिभावकले ध्यान राख्दैनन्,” उनी भन्छन्।
त्यस्तै, धेरैजसो अभिभावक विदेशमा हुँदा त्यसको असर पनि देखिएको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव झा बताउँछन्। “वैदेशिक रोजगारीका क्रममा धेरैजसो विदेशमा छन्। घरमा एक्ली आमाले बजारकै खाद्यवस्तु दिने गर्छन्,” डा. झा भन्छन्, “देखासिकीले पनि बजारकै खाद्यवस्तुमा जोड हुन्छ। यसले नकारात्मक असर पारिरहेको छ।”
अर्कातिर, आर्थिक अवस्था कमजोर भएका परिवार पनि छन्। उनीहरूलाई दैनिक गुजारा चलाउन मुश्किल हुन्छ। उनीहरूका लागि भनी सञ्चालित कार्यक्रम प्रभावकारी नहुँदा कुपोषण घट्न नसकेको सरकारी अधिकारी बताउँछन्। धनुषाको नगराईन नगरपालिका कार्यकारी अधिकृत रामगुलाम कर्ण मधेशका विभिन्न स्थानीय तहमा पोषण सम्बन्धी कार्यक्रम सञ्चालन भए पनि प्रभावकारी नभएको बताउँछन्।
यस्ता कार्यक्रममा नियुक्त हुने कर्मचारीका कारणले सफल हुन नसकेको उनको भनाइ छ। “पोषण संयोजकको नियुक्ति हुँदा स्वास्थ्य क्षेत्रका व्यक्तिलाई राख्नुको साटो स्थानीय तहमा नेताहरूले आफनो मान्छेलाई राख्ने गरेका छन्,” कर्ण भन्छन्, “एक त यस्ता व्यक्तिसँग ज्ञानको कमी हुन्छ। अर्को, कृषि, स्वास्थ्य सबैसँग समन्वय गर्न नसक्दा कार्यक्रम प्रभावकारी भइरहेका छैनन्।”
कतिपय स्थानीय तहमा गैरसरकारी संस्थाले पोषण सुधारको कार्यक्रम सञ्चालन गरिरहेका छन्। त्यसमा स्थानीय सरकारसँगै प्रदेश सरकारले पनि बजेट दिने गरेको छ। यी कार्यक्रम पनि प्रभावकारी नभएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. यादवको भनाइ छ। “पोषणका कार्यक्रम स्थानीय स्तरमा सञ्चालन त भइरहेका छन् तर प्रभावकारिता देखिएको छैन,” डा. यादव भन्छन्, “तीनै तहका सरकारबीच समन्वय गरेर कारण खोज्नुपर्छ।”
मधेशमा बालबालिकालाई कुपोषणबाट जोगाउन जनचेतनासँगै खानपिनमा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्। यससँगै आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पौष्टिक आहारको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ। मधेश प्रदेशमा दीर्घ कुपोषण हुनुमा गर्भावस्था एवं शिशु तथा बाल्यकालीन अवस्थामा पर्याप्त आहार नहुनु, हेरचाह राम्रोसँग नहुनु, सूक्ष्म पोषकतत्त्व कमी हुनु तथा बारम्बार संक्रमण हुनुलाई कारण मानिएको छ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. झा बालबालिकालाई कुपोषणबाट जोगाउन आमाको स्वास्थ्यबारे पनि ध्यान दिनुपर्ने बताउँछन्। उनी भन्छन्, “बालबालिकासँगै आमाको स्वास्थ्य अवस्था, खानपान, अनिवार्य आइरन चक्कीको सेवन, गर्भपरीक्षण तथा बच्चा जन्मेपछि शिशुलाई छिटो स्तनपानबारे सचेत गराउनैपर्छ।”