यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमितिका ११ निर्णय
तीन दिनसम्म चलेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ।
कांग्रेसले संक्रमणकालीन न्यायलाई सबैको साझा सहमतिका आधारमा टुंगो लगाउनुपर्ने निर्णय गरेको छ। अब सशस्त्र द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुनेमा कांग्रेस बैठकले जोड दिएको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।
त्यस्तै, राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा हालसम्म अवसर नपाएका वा बिभिन्न कारणले अवसरबाट बञ्चित भएका व्यक्तिलाई प्राथमिकता दिने निर्णय गरेको छ। कांंग्रेसको निर्णयमा भनिएको छ, ‘प्रदेश कार्यसमितिको सिफारिश भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने।’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ६ वटा भातृ संगठनको अवधि थप्ने निर्णय गरेको छ। बैठकले नेपाल विद्यार्थी संघ, नेपाल दरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ र नेपाल लोकतान्त्रिक खेलकूद संघको अवधि ६ महीना थपेको हो। अधिवेशन गर्नका लागि म्याद थपिएको प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ छ।
त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको मिति पनि अनुमोदन गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो।