मार्दी ट्रेकमा हराए स्वीडेनका नागरिक माइकल
मार्दी हिमाल ट्रेकिङमा गएका स्वीडेनका नागरिक २० वर्षीय माइकल लियु ब्लुमबर्ग शनिबार बिहानदेखि हराइरहेका छन्।
उनी मार्दी यात्राका क्रममा शनिबार बिहानै ४ बजे तीन हजार ५८० मिटरको उचाइमा रहेको ‘हाइ क्याम्प’बाट मार्दी आधारशिविरका लागि निस्किएका थिए। ‘हाइ क्याम्प’मा रहेको होटल म्याजिक माउन्टेमा अघिल्लो साझ आएर बसेका उनी बिहान आधारिशिविरका लागि निस्किएको जनाएको छ।
पहिला भ्यू प्वाइन्टसम्म उनलाई देखिएको होटल सञ्चालक मेखबहादुर तामाङले बताए। त्यसपछि चार हजार ५०० मिटरमा रहेको आधारशिविरतर्फ हिडेका माइकल नफर्किएको उनले बताए। सञ्चालक तामाङका अनुसार माइकलले होटलबाट एक बोतल पानी किनेका थिए।
माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङका अनुसार लो क्याम्पमा गाउँपालिकाले खडा गरिएको अस्थायी शिविरमा पर्यटन शुल्क फारममा उनले फारम भरेका छन्। त्यसपछि अहिलेसम्म उनी सम्पर्कमा नआएको वडाध्यक्ष गुरुङले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकका अनुसार वरिष्ठ सई सुशिल लामिछानेसहित दुई जनाको टोलीलाई माइकलको खोजतलासका लागि शनिबार नै मार्दी पठाइएको छ। प्रहरी टोली त्यो स्थानमा पुग्न बाँकी नै रहेको उनले बताए। गाउँपालिकाको तर्फबाट त्यो ठाउँको भूगोल बुझेका दानबहादुर पौडेललाई पनि प्रहरी टोलीसँगै पठाइको वडाध्यक्ष गुरुङले बताए।
मार्दी ट्रेकमा पर्यटक हराएको यो पहिलो घटना भने होइन। बर्सेनी यो ट्रेकमा स्वदेशीसँगै विदेशी पर्यटक पनि हराउने गरेका छन्।
स्थानीय पर्यटन व्यवसायी कविता गुरुङले पर्यटकको लापरबाहीले दुर्घटना हुने गरेको बताइन्। विदेशी पर्यटक गाइडविना नै ट्रेकिङमा जाँदा, शारीरिक स्वास्थ्य अवस्थाबारे ध्यान नदिँदा यस्तो हुने गरेको सुनाइन्।