गालिबको जन्मजयन्तीका अवसरमा तीन पुस्तक सार्वजनिक
उर्दूका महाकवि मिर्जा असदुल्लाह खान गालिबको जन्मजयन्तीको अवसर पारेर तीन वटा पुस्तक सार्वजनिक भएका छन्।
डा.कृष्णजंग राणाको ‘रंग ए गजल’, सैयद खालिद मोहसिनको ‘मुझको हनूत किजिए’ र इम्तियाज वफाको ‘रम्जे वफा’ गजल संग्रह सार्वजनिक भएका हुन्।
उर्दू एकेडेमी नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठान र भारतीय दूतावासको संयुक्त आयोजना सञ्चालन भएको जश्न-ए-गालिब मुशायरा कार्यक्रममा ‘रम्जे वफा’ पुस्तक लोकार्पण गरिएको हो।
त्यस्तै, डा. राणा निवासमा आयोजित कार्यक्रममा ‘रंग ए गजल’ विमोचन गरिएको छ। होटेल हायात प्यालेसमा आयोजित अर्को कार्यक्रममा ‘मुझको हनूत किजिए’ लोकार्पण गरिएको हो।
मिर्जा गालिबलाई सम्झिदै तीन वटा गजल संग्रह प्रकाशित गरिएको डा. साकिब हारूनीले बताए। अझै थप कृति प्रकाशनको क्रममा रहेको उनले बताए।
नेपालमा उर्दू गजल लेखनप्रति चासो बढ्दै गएको बताउदै एकेडेमीका अध्यक्ष इम्तियाज वफाले यो उर्दू साहित्यका लागि सुखद पक्ष भएको बताए।