बालकुमारी घटनामा पक्राउ परेका ७३ युवा रिहा
ललितपुरको बालकुमारीमा पुस १३ गते भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका उनीहरू पक्राउ परेका थिए। सबैलाई आइतबार छाडिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।
प्रवक्ता कडायतले भने, “प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई छोडिएको छ र उनीहरूलाई मुद्दा नचलाउने निर्णय भएको छ।”
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरी भौतिक सम्पत्तिमा समेत तोडफोड गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरी थुनामा राखेको थियो।
प्रदर्शनका क्रममा भएको झडपमा प्रहरीको कुटपिटबाट दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।
घटनामा जिम्मेवार रहेको भन्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई सरुवा गरिएको छ। प्रदर्शनस्थिलमा खटिएका प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ।