कोत ‘पर्व’ कि काण्ड?
पहिलो पटक १९३८ सालको दस्तावेजमा कोत पर्व भनी उल्लेख गरेको पाइन्छ भने पुस्तकमा चाहिं सर्वप्रथम २००४ सालमा प्रकाशित तोत्रराज पाण्डे र नयराज पन्तको नेपालको संक्षिप्त इतिहासमा कोत पर्व भनी उल्लेख भएको पाइन्छ।
प्राध्यापक त्रिरत्न मानन्धरको अनुसन्धानात्मक कृति नेपालको इतिहासमा जंगबहादुरमा परराष्ट्र मन्त्रालयमा रहेका त्यस वेलाका पोकाहरू खोलेर जंगबहादुरकालीन मौलिक इतिहासको उत्खनन गरिएको छ। फाइन प्रिन्टद्वारा प्रकाशित यो कृतिमा जंगबहादुर को हुन्? कहिले जन्मे? कसरी शक्तिमा आए? के के काण्ड मच्चाए? राजाहरूलाई कसरी खोपीको देउता बनाएर राखे? गगनसिंहको हत्या कसले गर्यो? जंगबहादुर स्वयं कहिले र कहाँ बिते? लगायत धेरै प्रश्नसँग सम्बन्धित प्राथमिक स्रोतमा आधारित तथ्य र तिनको सूक्ष्म विश्लेषण पाइन्छ।
पुस्तकमा जंगबहादुरको उदय, परराष्ट्र सम्बन्ध, प्रशासनिक व्यवस्था र षड्यन्त्रात्मक राजनीति गरी जम्मा चार अध्याय छन्। सरल शैलीमा लेखिएको यो कृति जंगबहादुरबारे जान्न चाहने जोकोहीका लागि उपयोगी छ।
इतिहासका चर्चित पात्र जंगबहादुरबारे धेरैले लेखेका छन्। उनकै पुत्र पद्म जंगबहादुर राणाको लाइफ अफ महाराज सर जंगबहादुर अफ नेपाल (सन् १९०९), जोन ह्वेल्पटनको जंगबहादुर इन यूरोप (सन् १९८३), एमएस जैनको इमर्जेन्स अफ अ न्यू एरिस्टोक्रेसी इन नेपाल (सन् १९७२), कृष्णकान्त अधिकारीको नेपाल अन्डर जंगबहादुर (सन् १९८४) अंग्रेजीमा लेखिएका पुस्तकहरू हुन्।
नेपाली भाषामा कमलमणि दीक्षितको जंगगीता (२०४०), दीक्षितद्वारा सम्पादित जंगबहादुरको बेलाइतयात्रा (२०१४), जंगबहादुरको बत्तीस सालको रोजानाम्चा (२०२३), उनकै लेखन र राजेन्द्र दाहालद्वारा सम्पादित जंगबहादुरको बेलाइती कापी (२०६४), चित्तरञ्जन नेपालीको जंगबहादुरको कथा (२०७०) र त्रिरत्न मानन्धरको नेपालको इतिहासमा जंगबहादुर (२०८०) प्रकाशित छन्।
जंगबहादुरबारे कतिपय सत्य त कतिपय बढाइचढाइ गरिएका हुन सक्ने विभिन्न किस्सा, किंवदन्ती र मिथकहरू पनि पाइन्छन्।
को हुन् जंगबहादुर?
१७७ वर्षअघिको कोत काण्डमा मारकाट गरेर उदाएका जंगबहादुरले उदार लोकतन्त्र र वैयक्तिक स्वतन्त्रतालाई निमिट्यान्न पारेर आफ्नो भाइखलकको हातमा शासनसत्ता स्थापित गरेका थिए। त्यसपछि उक्त पारिवारिक शासन १०४ वर्ष चल्यो।
विसं १८७४ असार ७ गते मामाघर गोरखाको बोर्लाङमा जन्मिएका जंगबहादुरको नाम शुरूमा वीरनरसिंह कुँवर थियो। उनी सानैदेखि साहसी थिए, यही कारण मामा माथवरसिंह थापाले उनलाई ‘जंगे’ भनेर बोलाउने गर्थे। पछि उनी यही नामले प्रख्यात भए।
बालनरसिंह कुँवरकी कान्छी पत्नी गणेशकुमारीका छोरा थिए उनी। बालनरसिंह, राजा रणबहादुर शाहका अंगरक्षक थिए। रणबहादुरलाई सौतेनी भाइ शेरबहादुर शाहले हत्या गर्नासाथ तिनै बालनरसिंहले शेरबहादुरको पनि हत्या गरिदिएका थिए। त्यसपछि उनले काजीको पदवी पाए।
बाबुको बिंडो थाम्दै सेनामा भर्ती भएका जंगबहादुर निकै साहसी, चतुर र सैन्य रणनीति बुझेका व्यक्ति थिए।
विसं १९०३ आश्विन वदि ९ को राति १० बजेतिर आफ्नै घरमा पूजा गरिरहेका वेला अकस्मात् जनरल गगनसिंहको हत्या भयो। गगनसिंहको हत्यारा पत्ता लगाउन राजा राजेन्द्रकी कान्छी महारानी लक्ष्मीदेवीको दबाबमा वसन्तपुरस्थित कोतमा बोलाइएको बैठकमा जंगबहादुरले धेरैको हत्या गरेर आफूलाई सर्वशक्तिमान् शासकका रूपमा उभ्याए।
एकथरीका भनाइ अनुसार लाल झा भन्ने व्यक्तिले भौ प्वाबाट गोली हानेर गगनसिंहको हत्या गरेको भन्ने छ भने अर्काथरीलाई जंगबहादुरले नै गगनसिंहको पनि हत्या गरेका हुन् भन्ने छ (जंगबहादुरले आफ्नै मामा माथवरसिंहको पनि हत्या गरेका थिए)।
केही लेखकले कोत काण्ड गर्न जंगबहादुरलाई तत्कालीन ब्रिटिश रेजिडेन्टले मद्दत गरेको आरोप लगाएका थिए। तर प्राध्यापक मानन्धरको प्राथमिक स्रोतमा आधारित खोजहरूले यी दुवैथरीका बुझाइलाई पुष्टि गर्न सक्दैनन्।
‘गगनसिंहको हत्या कसले गर्यो?’ शीर्षकमा आफ्नो पुस्तकको पृष्ठ १३ मा उनी लेख्छन्, ‘यसप्रकार मौलिक स्रोतले अन्यथा प्रमाणित नगरेसम्म गगनसिंहको हत्यामा फत्यजंगको प्रत्यक्ष हात रहेको कुरा स्वीकार गर्नु पर्दछ।’
यस हत्यामा राजा राजेन्द्र, कान्छी महारानी र जंगबहादुर पनि केही हदसम्म जिम्मेवार रहेको इतिहासकार मानन्धरले निचोड निकालेका छन्।
कोत ‘पर्व’ कि काण्ड?
जनरल गगनसिंहको हत्या भएको केही घण्टापछि नै कोत काण्ड मच्चिएको थियो। उक्त काण्डमा करीब ४०० भाइभारदार, उच्चपदस्थ कर्मचारीहरूको रगतको खोलो बगेको थियो।
आम नेपालीले ‘पर्व’ भन्दा चाडबाड र रमिता गर्ने विशेष दिनलाई ठान्छन्। तर त्यति धेरै मानिसको रगतको खोलो बगेको घटनालाई ‘पर्व’ किन भनिएको होला? कोत काण्डलाई मात्र होइन त्यसपछि भएका भण्डारखाल, अलौ, १९३८ सालको काण्ड, १९४२ सालको काण्ड, मकै काण्ड सबैलाई ‘पर्व’ नै भन्ने चलन छ।
ऐतिहासिक कागजात खोतल्दा विसं १९३८ को एउटा दस्तावेजमा कोत पर्व र अलौ पर्व भनी उल्लेख भएको पाइन्छ। १९३८ सालको काण्डमा मारिएका वीरमानसिंह बस्नेतले भनेका छन्, ‘कोत पर्वलाई अलौ पर्वले लग्यो। अलौ पर्वलाई हामीले लग्यौं।’
नेपाली इतिहासबारे पहिलो पुस्तक अम्बिकाप्रसाद उपाध्यायले लेखेका हुन्। यो चन्द्रशमशेरको पालामा प्रकाशन भएको थियो। उक्त पुस्तकमा कोत पर्व भनेर लेखिएको छैन। इतिहासबारे दोस्रो पुस्तक नेपालको संक्षिप्त इतिहास २००४ सालमा निस्केको हो। यसका लेखक तोत्रराज पाण्डे र नयराज पन्त हुन्। यस पुस्तकमा भने ‘पर्व’ उल्लेख छ।
प्राध्यापक मानन्धर भने यसलाई ‘पर्व’ भन्दा पनि ‘कोतको हत्याकाण्ड’ भन्नु ठीक हुने तर्क गर्छन्। उनी पर्व भन्ने चलन १९३८ को काण्डपछि चलेको चलन हुने अनुमान गर्छन्।
बृहत् नेपाली शब्दकोशले ‘पर्व’ लाई यसरी परिभाषित गरेको छ :
धार्मिक, सांस्कृतिक वा सामाजिक दृष्टिले महत्त्वपूर्ण मानिने समय वा दिन, उत्सव, चाड।
कुनै काम हुने वा गरिने विशिष्ट दिन, मौका, अवसर।
कुनै विशेष घटना वा त्यस्तो घटना भएको समय। (उदाहरण- कोतपर्व, भँडारखाल पर्व इत्यादि।)
सोही शब्दकोशमा काण्डलाई यसरी परिभाषित गरिएको छ :
अप्रिय तथा नराम्रो घटना, उत्पात (लाइब्रेरीकाण्ड, हत्याकाण्ड इत्यादि।); अशान्तिको स्थिति।
कमान्डर-इन-चीफ अनि प्राइम मिनिस्टर
केही लेखकले कोत हत्याकाण्ड लगत्तै जंगबहादुर प्राइम मिनिस्टर बने भनी लेखेका छन्। तर यो साँचो होइन। कोतको रक्तपात हुनासाथ कान्छी महारानी लक्ष्मीदेवीले उनलाई प्राइम मिनिस्टर बनाएको भनाइलाई प्रमाणहरूले पुष्टि गर्दैनन्।
कोत काण्ड लगत्तै उनी कमान्डर-इन-चीफ मात्र बनेका थिए। प्राइम मिनिस्टर बन्न त उनले झन्डै एक महीना कुर्नुपर्यो।
१९०३ कातिक १२ गते वसन्तपुर दरबार परिसरमा फेरि अर्को काण्ड भयो। राजा राजेन्द्रले आफू र आफ्ना छोराहरूलाई षड्यन्त्र गरी मार्न लागिपरेका वीरध्वज बस्नेत, दलमर्दन थापा लगायतको सफाइ गर्न कमान्डर-इन-चीफ जंगबहादुर राणालाई हुकुम दिएपछि उनले कोत काण्डको समेत दोषी ठहर्याई वीरध्वज, दलमर्दन लगायतलाई वसन्तपुरस्थित भण्डारखालमा समाप्त गरेका थिए।
यसरी राजा राजेन्द्रकै अह्रोट बमोजिम जंगबहादुरले कोत काण्डमा बच्न सफल आफ्ना विरोधीहरूलाई समाप्त पारेको घटनालाई नै भण्डारखाल पर्व भनिन्छ। कोत काण्डपछि कमान्डर-इन-चीफ र भण्डारखाल काण्डपछि उनी प्राइम मिनिस्टर बनेको तथ्यहरूले प्रस्ट पार्दछन्।
नेपालको इतिहासमा जंगबहादुरको पृष्ठ २४ मा विसं १९०४ जेठमा बनारसबाट राजा राजेन्द्रले नेपाल सरकारलाई पठाएको पत्रमा भण्डारखालमा आफ्नो र आफ्ना छोराहरूका शत्रु सखाप पारेकाले खुशी भई जंगबहादुरलाई प्राइम मिनिस्टरको पदवी दिएको उल्लेख छ। ‘वीरध्वज र दलमर्दनले मेरो र मेरा दुई छोराको ज्यान लिने प्रयत्न गरेका थिए। मेरो हुकुम बमोजिम मन्त्री जनरल जंगबहादुरले उनीहरूलाई मारी हाम्रो रक्षा गरे। यस कामदेखि म खुशी भई मैले उनलाई प्राइम मिनिस्टर र कमान्डर-इन-चीफको पदवी दिनाको साथै मुख्तियार पनि बनाएँ र म आफैं बनारस आएँ,’ पत्रमा उल्लेख छ।
जंगबहादुरको शासनकालमा प्रशासनमा कोही कसैले चुइँक्कसम्म गर्न पाउँदैनथे। उनको आदेशलाई सबैले शिरोधार्य गर्नुपर्थ्यो। त्यस्तो कठोर शासनमा पनि एउटा मुद्दा छिन्न नौ महीना लागेको सुन्दा अचम्म लाग्छ। १९२२ भाद्रमा जारी गरिएको प्रशासनिक व्यवस्था सम्बन्धी विभिन्न पत्रहरूमध्ये अन्तिम पत्रमा उल्लेख गरिएको छ, ‘प्रस्तुत कागजपत्रमा जग्गा सम्बन्धी मुद्दा धनसारमा दायर गरेकोमा उक्त अदालतले नौ महीनासम्म मुद्दा नछिनेकाले सो मुद्दा टक्सारमा सार्ने कुराको आदेश दिइएको छ।’ (पृष्ठ १३३)
परराष्ट्र नीतिमा पारंगत
‘पश्चिमका पादरीहरूले हाम्रो धर्म, संस्कृति नाश गराएर हामीलाई गुलाम बनाउँछन्’ भन्ने पृथ्वीनारायण शाहको वाणीबाट प्रभावित जंगबहादुर कालान्तरमा तिनै पादरीको मूल भूमि बेलायत भ्रमण गर्ने पहिलो नेपाली शासक भए।
‘कहिल्यै घाम नअस्ताउने मुलुक’ भनेर चिनिने त्यस बखतको बेलायती साम्राज्यले छिमेकी भारतमा समेत इस्ट इन्डिया कम्पनीको नाममा शासन गरिरहेको थियो। त्यस वेला नेपालको सम्बन्ध खासगरी ब्रिटिश इस्ट इन्डिया कम्पनी र उत्तरतिर भोटसित बढी थियो। त्यसैले झैझगडा, वादविवाद र सरसहयोग पनि यिनै दुईतिरका छिमेकीहरूसित हुने गर्थ्यो।
जंगबहादुरको प्रधानमन्त्री भएको वेला विसं १९११-१२ मा नेपाल-भोट (तिब्बत) युद्ध भएको थियो। त्यस युद्धमा भोटलाई पराजित गरी नेपालले ‘लामाहरूको देश’ सँग १८४९ मा गुमाएको प्रतिष्ठालाई पुनः प्राप्त गरेको थियो।
जंगबहादुरले भोटसँग किन युद्ध गरे? यस शोध ग्रन्थको पृष्ठ १०७ मा भनिएको छ, ‘अठार सय खोलाका नेपाली नागरिकहरूले नेपाल-भोट सिमाना नजिकैको भोटको जग्गामा भोटका अधिकारीहरूलाई बहाल तिरी एउटा गोठ बनाई चौंरी गाई पालिराखेका थिए। तर विसं १९११ पौष महीनामा अचानक पच्चीस जवान भोटेहरू आई यी नेपाली गोठालाहरूमाथि आक्रमण गरी एक जनालाई मारी चार जनालाई घाइते पारी अन्य चार जनालाई पक्रेर लगी यातना दिए र उनीहरूका मालताल पनि लुटेर लिए। यो घटनाको खबर पाउने बित्तिकै नेपालले भोटमाथि आक्रमण गर्न कुति र केरुङमा क्रमशः रणसिं खत्री र बमबहादुरको नेतृत्वमा फौज पठायो।’
यस युद्धमा चीन संलग्न नहोस् र भोटलाई सहयोग नगरोस् भनेर भोटस्थित चिनियाँ अम्बा (कूटनीतिक प्रतिनिधि)हरूलाई आफ्नो पक्षमा राख्ने रणनीति अनुसार मध्यस्थताका लागि आग्रह पनि गरिरह्यो।
यो युद्धको अन्त्य विसं १९१२ को थापाथली सन्धिद्वारा भएको थियो। सन्धि अनुसार भोट सरकारले नेपाललाई बर्सेनि १० हजार रुपैयाँ सिर्तोका रूपमा बुझाउनुपर्ने भयो। ल्हासास्थित आफ्ना व्यापारीको हकहित सुरक्षाका लागि एक जना वकील पनि राख्न पाउने भयो। नेपाली व्यापारीसँग भोट सरकारले महसूल लिन नपाउने भयो।
जंगबहादुरकै पालामा विसं १९२९ को अन्त्यतिर ल्हासाको एउटा समारोहमा नेपाली प्रतिनिधिलाई अन्य देशका प्रतिनिधिको अगाडि दुर्व्यवहार गरेपछि विवादले उग्ररूप लियो। ल्हासास्थित आफ्ना वकीललाई फिर्ता बोलाई जंगबहादुरले भोटसित कूटनीतिक सम्बन्ध विच्छेद गरिदिए।
विसं १९११ वैशाख वदी १ मा गोर्खा सरकार र सिक्किम सरकारबीच पनि एक व्यापार सन्धि भएको थियो। उक्त सन्धिमा सिक्किमे भोटे व्यापारीले गाई-गोरु वध गर्ने भएकाले उनीहरूलाई गाई-गोरु बेच्न बन्देज लगाइएको थियो।
बेलायतलाई सौगात
इस्ट इन्डिया कम्पनीलाई सिपाही विद्रोहमा सहयोग गरेका जंगबहादुर विसं १९०६ माघ सुदी २ का दिन काठमाडौंबाट प्रस्थान गरी १९०७ द्वितीय वैशाख सुदी १४ मा बेलायत पुगे। उनले म्लेच्छको संस्कृति, खानपिन र रहनसहनबाट टाढा रहने र आफ्नो हिन्दू संस्कृतिलाई महत्त्व दिने मनसायले यात्रा आरम्भ गरेका थिए। तर अंग्रेजहरूको विकास देखेर उनी प्रभावित भए।
उनले बेलायतकी महारानी, प्रधानमन्त्री र भारतस्थित गभर्नर जनरलका लागि समेत विभिन्न प्रकारका नेपाली हातहतियार, सुनका असर्फी लगायत धेरै मूल्य पर्ने सौगात लिएर गएका थिए। बेलायतको एउटा अखबारले उनले लगेका उपहारको मोल करीब साढे दुई लाख पाउन्ड (अन्दाजी ६२ लाख रुपैयाँ) पर्ने उल्लेख गर्दै समाचार समेत प्रकाशित गरेको थियो। त्यहींबाट प्रकाशित हुने अर्को अखबारले चाहिं ती सौगातको मूल्य पाँच लाख पाउन्डभन्दा बढी (करीब डेढ करोड रुपैयाँ) भएको उल्लेख गरेको थियो (पृष्ठ ६६-६७)।
तर महारानी र प्रधानमन्त्रीले सुनका टक, असर्फी र हातहतियारभन्दा पनि नेपाली जनजीवनका विविध पक्षलाई प्रतिबिम्बित गर्ने सामग्री हेर्न चाहेको आशय व्यक्त गरेपछि जंगबहादुरले त्यस्ता सामान तुरुन्त पठाइदिन नेपाल सरकारलाई पत्र लेखेका थिए।
त्यो वेला बेलायतबाट उनको पत्र नेपाल कहिले आइपुग्यो र ती सामान खोजेर पठाउन कति समय लाग्यो होला? जंगबहादुर बेलायतमै छँदा ती सामान पुगे कि पुगेनन् होला? उनी आफैंले ती सौगात महारानीलाई दिन भ्याए कि भ्याएनन् होला? त्यस वेलाका बेलायती अखबार हेर्ने हो भने यी कुरा पत्ता लाग्लान्। कुहिने र नाशिने बाहेकका ऐतिहासिक वस्तु र दस्तावेजहरू संग्रह गर्न सफल बेलायतले ती सामग्री कतै सुरक्षित पो राखेको छ कि! खोजको विषय हुन सक्छ।
त्यस वेला उनले तामाका मुद्रा, ढ्याक, पतासी, हर्रो, बर्रो, जिम्बु, मुकुन्डो, बुलाकी, मोहनमाला, चेप्टो सुन, धादिङको कालो माटो, भक्तपुरको कौसीपंचा माटो, छाउनीको कैलो माटो, मातातीर्थको ढुंगो, चौबन्दी, लगौंटी समेत सौगात लगेका थिए। हुक्का-चिलिम, ठेकी, ढिकी, मकल, दुईमुखे चुलो, धालाचा, क्वतः, पञ्चपात्र, नर्सिंगा, सहनाई, सारंगी, धिमेबाजा, ठू, टिमुर, मार्सी, छ्यापी, बेल, झिनुवाँ, मुसल, खुर्पी, भक्यामिलो, मयनकाँडा, भोर्ला लगायत धेरै सौगात सामग्रीको सूची यस पुस्तकमा समेटिएका छन्।
नेपालस्थित ब्रिटिश रेजिडेन्ट अरस्कीन मार्फत् ती सामान बेलायत पठाइएको थियो। सामानको विस्तृत नामावली सूची २९ पृष्ठ लामो छ।
त्रिभुवन विश्वविद्यालयकै अर्का अवकाशप्राप्त प्राध्यापक मुकुन्दराज अर्यालबाट प्राप्त ती सामानको सूचीपत्र सहितको दस्तावेजमा कुन कुन अड्डाले के के सामान खोजे भन्ने समेत उल्लेख गरिएको प्राध्यापक मानन्धरले कृतिको ६५-९९ पृष्ठमा विस्तृत विवरण दिएका छन्। जुन निकै चाखलाग्दो छ।
भाइ बद्रीनरसिंहको षडयन्त्र!
नेपालको राजकाज षड्यन्त्रको भुमरीमा पर्दै आएको कुरा इतिहासका पानामा उल्लिखित चाकडी, चाप्लुसी, कानेखुशी, धोकाधडी र हत्याहिंसाका घटनाले प्रमाणित गर्छन्।
विसं १९०४ प्रथम जेठ वदी १३ का दिन जंगबहादुरले राजा राजेन्द्रलाई गद्दीच्युत गरी सुरेन्द्रलाई राजा बनाएपछि उनी सुगौली पुगे। र, रानी लक्ष्मीदेवीलाई पत्र लेख्दै कोत पर्वबारे सत्यसाँचो के हो जानकारी गराउन आदेश दिए।
त्यसको जवाफमा रानीले लेखिन्, ‘चौरानवे साल देषि हाम्रा दर्वारमा जालसाज वन्दा वन्दा गजूर चडि सकियो दुद र पानि मिलाई राषेछन् त्यो पनि हजूरमा जाहिर हुन्यै हो’ (पृष्ठ ४५)।
यसरी विसं. १८९४ देखि षड्यन्त्रात्मक राजनीतिले उग्ररूप लिंदै आएको थियो। त्यही साल जनरल भीमसेन थापाले जेलभित्रै सेरिएर आत्महत्या गर्नुपरेको थियो। लक्ष्मीदेवीले आफ्नो पत्रमा जंगबहादुर र विजयराजलाई जालसाजको संज्ञा दिंदै यताको कुरा उता र उताको कुरा यता पुर्याएर षड्यन्त्र गर्नेहरू भनेकी छन्।
कोतको मारकाटबाटै सत्तामा पुगेका जंगबहादुरको ३२ वर्ष लामो शासनकालमा यस्ता धेरै राजनीतिक दाउपेच, षड्यन्त्र र हत्याहिंसाका घटना भए। उनलाई समेत मार्ने कैयन् असफल प्रयास भए। तीमध्ये विसं १९०७ को असफल षड्यन्त्र विशेष महत्त्वको छ। यस घटनामा स्वयं जंगबहादुरका साइँला भाइ बद्रीनरसिंह र राजा सुरेन्द्रका माइला भाइ उपेन्द्रविक्रम शाहलाई पनि दोषी ठहर्याई दण्ड दिइयो।
६ फेब्रुअरी १८५१ (विसं १९०७ फागुन)मा जंगबहादुर बेलायतबाट फर्केको केही दिनपछि नै उनको हत्या गर्ने योजना बनेको थियो भनी पद्म जंगबहादुर राणाले लेखे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। आरोप अनुसार षड्यन्त्रका मुख्य पात्र जंगबहादुरका काकाका छोरा जयबहादुर थिए।
उनैले बद्रीनरसिंह र काजी करवीर खत्रीलाई यसमा सहभागी गराए। त्यसपछि उपेन्द्रविक्रमलाई पनि मिलाए। पछि जंगबहादुरका माइला भाइ बमबहादुरलाई पनि षड्यन्त्रमा सहभागी गराउन खोज्दा उनैबाट पोल खुल्न गई चारै जना दण्डित हुनुपर्यो।
बमबहादुरले दिएको बयानका कारण चारै जनालाई भारतको इलाहाबाद जेलमा थुनियो। यो घटना र षड्यन्त्रबारे प्राध्यापक मानन्धर लेख्छन्, ‘वास्तविक कुरा के हो भने विष कहिल्यै पनि अमृत बन्न सक्दैन र झूट कुनै पनि युगमा सत्य ठहर्न सक्दैन। यो प्रकृतिको नियमै हो। एउटा झूटलाई सत्य सावित गर्न अनेकौं झूट बोल्दा पनि सत्य सावित हुन सक्दैन’ (पृष्ठ १५३)।
जंगबहादुरको शासनकालको अन्तिमतिर (विसं १९३२-३३) गोरखाका लखन थापाले गर्न खोजेको विद्रोहबारे कुनै पनि कागजपत्र प्राप्त भएका छैनन्। केवल पछि लेखिएका वंशावली र पुस्तकमा मात्र त्यसबारे चर्चा पाइन्छ। विसं १९१४ मा नै गुरुङ पल्टनका एक जना गुरुङ जमदारले जंगबहादुर विरुद्ध षड्यन्त्र गरेको कुरा ओल्डफिल्डले आफ्नो पुस्तकमा उल्लेख गरे पनि त्यसको मौलिक रूपमा पुष्टि हुन नसकेको प्राध्यापक मानन्धरले उल्लेख गरेका छन्।
विसं १९३३-३४ मा गोरखाका गुरुङहरूले जंगबहादुर विरुद्ध गरेको विद्रोहको भने मौलिक स्रोतहरूबाट पुष्टि हुन्छ। ‘विसं १९३३ मा गोरखाका शुकदेव गुरुङले उक्त विद्रोहको शुरुवात गरे। उनले आफूलाई ‘नौ सरकार बौद्ध बादशाह भएँ’ भनी घोषणा गरे र त्यही मुताबिक मानिसहरूलाई भड्काउन थाले। तर केही गर्न नपाउँदै उनी पक्राउ परे र अदालत इटा चपली मार्फत फैसला भई जेल परे।
सम्भवतः जेलमा उनलाई कडा यातना दिइयो जसको फलस्वरूप विसं १९३३ को चैत्र महीनामा उनी जेलभित्रै मरे। उनको निधनले गोरखाको विद्रोहलाई शान्त पारेन। झन् उल्टो त्यसको लगत्तैपछि सुपति नामका अर्का गुरुङले त्यस्तै प्रकारको अर्को विद्रोह प्रारम्भ गरे। उनले पनि आफूलाई बौद्ध बादशाह घोषित गरी उत्पात मच्चाउन थाले।’ (पृष्ठ १५६)।
जंगलीलाको अन्त्य
‘बत्तीस वर्षको लामो शासनकालपछि विसं १९३३ फाल्गुण महीनाको गोविन्द द्वादशी (२५ फेब्रुअरी १८७७) का दिन पत्थरघट्टामा शिकार खेल्न गएका प्रधानमन्त्री जंगबहादुरको मृत्यु भएको थियो। तीन दिनपछि त्यहीं नै उनको दाहसंस्कार गरियो र उनका तीन महारानीहरू सती गए’ (पृष्ठ १५९)।
तर उनको मृत्युलाई लिएर विभिन्न शंका-उपशंका छन्। त्रैमासिक पत्रिका दैलोलाई दिएको अन्तर्वार्तामा इतिहास शिरोमणि बाबुराम आचार्यले उनको हत्यामा उनकै भाइ धीरशमशेरको हात रहेको भनी उल्लेख गरेका छन्। आचार्यले भनेका थिए, ‘जंगबहादुरलाई धीरशमशेरले मार्न लगाएका हुन्।’
मौलिक स्रोतहरूबाट इतिहास शिरोमणिको यस आरोपलाई पुष्टि गर्न नसकिने प्राध्यापक मानन्धरको खोजले देखाएको छ। त्यस्तै, जंगबहादुरको मृत्यु नभई हत्या भएको भनी लेखक जनकलाल शर्माले आफ्नो पुस्तक जोसमनी सन्तपरम्परा र साहित्यमा उल्लेख गरेका छन्। उनको विचारमा जंगबहादुरसँग शिकारमा जाने ८२ जनाले गुप्त रूपमा उनलाई मार्ने योजना बनाई भेद नखोल्ने भनी रगतले सहीछाप गरी बाघलाई घेरा हालेपछि आठपहरिया बोगटी क्षेत्रीले बाघलाई हान्ने निहुँमा जंगबहादुरलाई छातीमा गोली ठोकी हत्या गरे।
८२ जनाबीच कसरी गोप्य षड्यन्त्र गर्न सकिएला र? शर्माको यो आरोपलाई पनि मौलिक स्रोतहरूले पुष्टि गरेको पाइन्न। जंगबहादुरको हत्या सेतो बाघद्वारा गराइयो भन्ने हल्ला पनि व्यापक रूपमा चलाइयो। तर यस हल्लामा पनि सत्यता नभेटिएको इतिहासकार मानन्धरको यस अनुसन्धान कृतिले प्रस्ट पारेको छ।
उनी लेख्छन्, ‘…जंगबहादुरको हत्या गरिएको सम्बन्धी तत्कालीन ठोस ऐतिहासिक प्रमाण प्राप्त नहुन्जेल जंगबहादुरको मृत्युलाई हत्याको संज्ञा दिनु उचित हुँदैन’ (पृष्ठ १६५)।
पुस्तक : नेपालको इतिहासमा जंगबहादुर, लेखक : प्रा. त्रिरत्न मानन्धर,
प्रकाशक : फाइन प्रिन्ट, विशालनगर, काठमाडौं, २०८०, मूल्य : रु. ४४८, पृष्ठ : १७३+४