बालकुमारी घटना : दुई अधिकारीको सरुवा, तीन जना निलम्बित
दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा जिम्मेवार रहेको भन्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई सरुवा गरिएको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो।
बालकुमारीमा सुरक्षा कमाण्डको जिम्मेवारी खटिएका प्रहरी नायब उपरीक्षक उमेश लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ। यस्तै, ईपीसी कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी पनि निलम्बित भएका छन्।
छानविन समितिको कामलाई वस्तुनिष्ठ बनाउन ती अधिकारीहरूलाई निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
बालकुमारीमा शुक्रबार प्रहरीले गोली चलाउँदा वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको थियो।