बालकुमारी घटनामा मृत्यु भएका युवकका परिवारलाई १० लाख दिने सरकारको निर्णय
काठमाडौंको बालकुमारीमा भएको घटनामा मृत्यु भएका युवकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ प्रदान गर्ने सरकारले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले दुवै युवकका परिवारलाई १०-१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै मन्त्री शर्माले भनिन्, “मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, उक्त घटनामा घाइते भएका व्यक्तिको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको छ।”
ईपीएस परीक्षामा सहभागी गराउनु पर्ने माग गर्दै कोरियाली भाषा सिकेका युवाले शुक्रबार बालकुमारीमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो। प्रहरीको कुटपिटबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।
त्यस्तै, घटनाको निष्पक्ष छानबिन गरी भविष्यमा यस किसिमका घटना हुन नदिने सरकारले प्रतिबद्धता जनाएको छ। यसका लागि आवश्यक पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। यस घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन पनि सरकारले आग्रह गरेको छ।
यस घटनमा सुरक्षा कमजोरी महसूस गरिएको मन्त्री शर्माले बताइन्। त्यसैले सुरक्षा अधिकारीहरूलाई निलम्बन गरिएको उनको भनाइ थियो।
यो पनि पढ्नुहोस् : कर्णालीबाट काठमाडौं आएको साता दिनमै अस्ताए सुजन रावत