छावा हेर्न सौराहा
भारत र थाइल्यान्डबाट हात्ती लिएर शुरू गरिएको सौराहाको हात्ती प्रजनन केन्द्रमा अहिले छावा हेर्न देश तथा विदेशका पर्यटकको घुइचो लाग्ने गरेको छ।
घुमघाम गर्न चितवनको सौराहा पुग्ने पर्यटकका लागि पछिल्लो समय नयाँ आकर्षण थपिएको छ, हात्ती प्रजनन तथा तालिम केन्द्र। चितवन राष्ट्रिय निकुञ्ज नजिकै खोरसोरस्थित प्रजनन केन्द्र यति वेला पर्यटकले भरिभराउ छ। विशेषतः हात्ती र हात्तीका छावा हेर्न स्वदेशी तथा विदेशी पर्यटक आइपुग्छन्।
हात्ती प्रजननका लागि २०४४ सालमा केन्द्रको स्थापना गरिएको थियो। शुरुआतमा भारतबाट चार र थाइल्यान्डबाट एउटा हात्ती ल्याइएको थियो। त्यसपछि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षबाट हात्ती थपिएको थियो।
हालसम्म ६० वटा छावा हुर्किसकेका छन्। अहिले १२ वटा माउ र सात वटा छावा रहेको केन्द्रका प्रमुख मनपुरन चौधरी बताउँछन्। सात छावामध्ये दुई पोथी र पाँच भाले छन्। अझै तीन वटा हात्ती छावा जन्माउने तरखरमा छन्। “दुई हात्ती यो महीनाभित्र नै ब्याउन सक्छन्,” चौधरी भन्छन्, “एउटा अलि ढिलो ब्याउला।”
यसअघि एउटा हात्तीले छावा जन्माएको थियो। २०८१ सालमा नौ वटा हात्ती ब्याउने चौधरी बताउँछन्। भालेसँग समागम भएको २२ देखि २४ महीनामा हात्तीले बच्चा जन्माउछ। जाडो याम हात्तीको प्रजनन समय हो।
प्रजनन केन्द्रमा प्रायः पुस, माघ र फागुनमा छावा जन्मिने गरेका छन्। गर्भवती भएपछि चितवन राष्ट्रिय निकुञ्जमा खटिएका हात्तीलाई पनि हेरचाह गर्न, सुत्केरी गराउन र छावा हुर्काउन केन्द्रमा ल्याउने गरिएको उनी बताउँछन।
छावा जन्मिएको १२ दिनमा न्वारन गरेर नाम राख्ने गरिन्छ। प्हिले निकुञ्जले नाम सिफारिश गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा पठाउने गरेको थियो। विभागले राजदरबारमा पठाएर छावा नामकरण गर्ने प्रचलन थियो। २०६३ सालयता यो प्रचलन हटेको छ भने निकुञ्जले नै नाम राख्ने गर्छ।
प्रजनन केन्द्रमा रहेका पोथी हात्तीले जङ्गली हात्तीको सम्पर्कबाट बच्चा जन्माउँदै आएका छन्। जसमा गोविन्दे, रोनाल्डो र ध्रुवे नाम गरेका जंगली हात्ती प्रमुख छन्। केन्द्र प्रमुख चौधरीका अनुसार, यो वर्ष दाह्रा नभएको (मकुना) हात्ती प्रजनन केन्द्र वरिपरि दैनिक देखिने गरेका थियो।
हुर्किएका हात्ती विभिन्न स्थानमा पठाउने गरिन्छ। “पोहोर साल गर्भवती हात्तीलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठायौं। अहिले ब्याइसकेको छ,” चौधरी भन्छन्, “हरेक साल दुई-तीन वटा हात्ती बाहिर पठाइरहेका हुन्छौं।”
प्रजनन केन्द्रमा हुर्किएका भाले छावालाई उमेर पुगेपछि तालिम दिएर निकुञ्जको सुरक्षार्थ पोस्टमा खटाउने गरिन्छ। छावा तीन वर्ष पुगेपछि तालिम दिने गरिन्छ । जमीनमा पाइनेमध्ये सबैभन्दा ठूलो शरीर भएको जनावरलाई माउतेले तालिम दिएर भनेअनुसार, ठाउँमा डुलाउन सक्नु आफैंमा चुनौतीपूर्ण काम रहेको उनी सुनाउँछन्।
छावालाई काम लगाउन, योग्य बनाउन र माउतेको भाषा बुझ्ने बनाउने काम तालिम मार्फत गरिन्छ। तालिम नपाएका छावाले कर्मचारी र आगन्तुकलाई क्षति गराउन सक्छन्। तालिम नभएमा बिरामी हुँदा उपचार गराउन समेत अप्ठ्यारो पर्छ। छावालाई दायाँ-बायाँ हिडाउने, बसाउने, उठाउने, खाने अर्थ बुझाउन मौखिक तथा सांकेतिक आदेश दिएर सिकाउने गरिन्छ।
प्रजजन केन्द्रमा हात्ती र छावा हेर्न पर्यटकको घुइचो लाग्छ। आगन्तुकका लागि बिहान ७ देखि साढे १० बजेसम्म र साँझ साढे ३ देखि साढे ५ बजेसम्म प्रजनन केन्द्र खुला गरिन्छ। अवलोकनका लागि विद्यार्थीले ३० रुपैयाँ, स्वदेशीले ५० रुपैयाँ र विदेशीले १०० रुपैयाँ शुल्क तिर्नुपर्छ।
पर्यटकीय सिजनमा एक दिनमा १० हजारसम्म पर्यटक आएको रिकर्ड छ। सिजनको समयमा टिकट शुल्कबाट नै दैनिक एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको प्रमुख चौधरी बताउँछन्। केन्द्रका अनुसार सामान्यतया दैनिक २० हजारदेखि ५० हजार रुपैयाँ आम्दानी हुने गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा अहिले ५५ वटा हात्ती खटिएका छन्। जसमा चार वटा हात्ती कोशीटप्पुबाट काजमा ल्याइएको हो। निकुञ्जमा हात्तीको रेखदेख, स्याहार गर्न र तालिम दिनका लागि १३९ जना कर्मचारी कार्यरत छन्। उनीहरू हात्तीका लागि बिहानै घाँस काट्न जान्छन्। घाँस, धान, सख्खर, नुन, फलफूल हात्तीको आहार हो।
बिहान घाँस पानी खुवाएपछि अवलोकनका लागि खुला गरिन्छ। दिउँसो जंगलमा चराउन लैजाने गरिन्छ। बेलुकी जंगलबाट फर्काएपछि फेरि अवलोकन खुला गर्ने गरिएको प्रमुख चौधरी बताउँछन्। उनी भन्छन्, “हात्ती र छावा हेर्न मात्र नभई अध्ययन र अनुसन्धान गर्न समेत विदेशी आउने गरेका छन्।”