जंगली हात्तीले मनहरीका डेढ दर्जन घरमा क्षति
मकवानपुरको मनहरी गाउँपालिकामा पछिल्लो केही दिनयता जंगली हात्तीले डेढ दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको छ।
गएराति मात्रै तीन वटा घरमा क्षति पुर्याएको छ। हात्तीले धान र चामल पनि खाएको स्थानीय बासिन्दाले बताए।
मनहरी गाउँपालिका-७, शान्तिटोलका सञ्जय साह र लक्ष्मी परियार तथा महनरी-८, सिमपानीका शिवलाल प्रजाको घरमा क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार साहको घरको ढोका भत्काएर धान समेत खाएको छ। त्यस्तै, परियारको ब्लकले बनेको जस्ताले छाएको एकतले घरको एकातिरको भित्ता भत्काएको छ। प्रजाको ब्लकले बनेको जस्ताले छाएको एकतले घरको छानो र एकातिरको भित्ता भत्काएर अन्नपात खाएको छ।
खानेकुरा खोज्दै मनहरीको बस्तीभित्र पसेका हात्तीलाई स्थानीय बासिन्दा, प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले धपाएको थियो।
हात्तीको आक्रमणबाट गत शनिबार राति मनहरी गाउँपालिका-७ बिजौनाका ५१ वर्षीया कान्छिमाया तामाङ घाइते भएकी थिइन्।
हात्तीको कारण गाउँमा त्रास बढेको छ। किसानले खेतबारीमा लगायतको अन्नबाली समेत क्षति गर्दै आएको छ।