‘सन्दीपले युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएकाे देखियाे’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालत, काठमाडौंले ठहर गरेको छ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले चार दिनको लगातार सुनुवाइपछि लामिछानेलाई दोषी ठहर गरेको हो। “नाजुक आर्थिक अवस्था समेतको फाइदा उठाई करणी भएको देखिएकोले सहमतिको करणी भन्ने देखिएन,” फैसलाको संक्षिप्त पाठमा भनिएको छ।
दुई पृष्ठको संक्षिप्त पाठमा ‘राति एउटै कोठामा बसेको अवस्था देखिएको र सो समयमा गौशला २६ (पीडित)ले आफूमाथि करणी भएको भनेको, घटना भएको दिनको सन्दीपको क्रियाकलापका घटनाक्रमलाई विचार गर्दा दुई जनाबीच करणी भएको देखिएको’ उल्लेख छ। अनुसन्धानका क्रममा र अदालत दुवैमा सन्दीपले नगरकोट घुम्न गएको, काठमाडौंको गौशालास्थित एक होटलमा रात बिताएको स्विकारेका थिए। तर करणी नभएको भन्दै उनले रातभरि आफू सोफामा बसेको बयान दिएका थिए।
सन्दीपले २०७९ भदौ ५ गते दिउँसोपख भक्तपुरको नगरकोट लगेर ती युवतीलाई राति काठमाडौंस्थित गौशलाको एक होटलमा पुर्याएर बलात्कार गरेको आरोप थियो। युवतीले आफूलाई २२ वर्षे सन्दीपले दिउँसोको समयमा नगरकोट लगेको र रातितिर काठमाडौं ल्याएर परिबन्दमा पारी होटलमा पुर्याएर दुई पटक बलात्कार गरेको अनुसन्धान अधिकारी र अदालतमा एकै बेहोराको बयान दिएकी थिइन्।
सन्दीपलाई मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा १, २ र ३ को ‘ङ’ अनुसार कसूरदार ठहर्याएको हो। पीडित महिलाको उमेर १८ वर्ष वा सो भन्दा बढी उमेरको भएमा सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। कैद सजाय निर्धारण गर्न पुस २५ गते पेशी राख्न समेत आदेश भएको छ।
१७ वर्षीया बालिकालाई जबर्जस्ती गरेको भन्दै १० देखि १२ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र पीडित बालिकालाई उचित क्षतिपूर्तिको मागसहित २०७९ कात्तिक १४ मा मुद्दा दायर भएको थियो। पीडितको उमेर १८ वर्ष पुगेको देखिएको भन्दै अदालतले उनलाई नाबालिक नभएको ठहर गरेकाले १० देखि १२ वर्ष कैदको मागदाबी भने नपुग्ने आदेश दिएको छ।
भदौ २० गते युवतीले प्रहरी वृत्त गौशलामा जाहेरी दिएकी थिइन्, जतिवेला सन्दीप क्रिकेट खेल्न अफ्रिकी मुलुकमा थिए। उनी भदौ ६ गते क्रिकेट खेल्न केन्या गएका थिए। जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँग नेपाल नफर्की अमेरिका भागेका थिए। प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेपछि मात्र असोज २० गते उनी नेपाल फर्किएका थिए।
कात्तिक १८ गते जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसविरुद्ध सन्दीप उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
२०७९ पुसमा उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै धरौटीमा छोड्न आदेश दिएको थियो। न्यायाधीशद्धय ध्रुवराज नन्द र रमेश ढकालको इजलास पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश दिएपछि उनी थुनामुक्त भएका थिए।
अदालतमा पीडितको बकपत्र सकिएको, आरोपबारे प्रमाणहरू भेला पारिसकिएको, थुनामुक्त हुँदा कसैको ज्यान तलमाथि नहुने लगायतका १६ वटा कारणको विवेचना गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटी लिएर छोड्न भनेको थियो। उच्च अदालतले सन्दीपलाई विदेश जान भने रोक लगाएको थियो।
त्यसको दुई महीनापछि सर्वोच्च अदालतले यो प्रतिबन्ध समेत फुकुवा गरिदिएको थियो। सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले २०७९ फागुनमा सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश सदर गर्दै उनलाई विदेश जाने अनुमति समेत दिने आदेश दिएको हो।
उच्च अदालतले धरौटीमा छोड्न आदेश दिँदा समेत सन्दीपको खेल अनुशासनबारे भने टिप्पणी गरेको थियो। टोलीका सबै सदस्य हायात होटलमा बसेका वेला सन्दीप भने खेल अनुशासन विपरीत युवतीसँग होटलमा रात बिताएको आरोपबारे उच्च अदालतले थुनचेक आदेशमा भनेको थियो, ‘प्रस्तुत घटनाको प्रकृति जति संवेदनशील छ, प्रतिवादीको आचरण, व्यवहार र प्रस्तुति उति नै शंकास्पद र अनुचित समेत छ।’
घटना सार्वजनिक भएपछि उनको बचाउमा बिभिन्न प्रयास भएका थिए। त्यतिवेला नेपाल क्रिकेट संघले सन्दीपको पक्षमा वक्तव्य समेत दिएको थियो। संघले सन्दीप निर्दोष भएको दाबी गर्दै कानूनी प्रतिरक्षामा सघाउने वक्तव्य निकालेको थियो।
अदालतमा सुनुवाइ शुरू भएपछि समेत न्यायाधीशहरूले यो मुद्दामा बहस गर्न अप्रत्यक्ष रुपमा अनिच्छा देखाउँदै आएका थिए। पीडितको उमेर एकीन गर्ने भन्दै त्यस सम्बन्धी कागजात झिकाउने आदेश दिंदैमा लामो समय गुज्रेको थियो।
यी थिए प्रमाण
अनुसन्धानका क्रममा प्रहरीले जुटाएको सन्दीपले युवतीसँग होटलमा रात बिताएको सीसीटीभी फुटेज प्रमाणका रुपमा पेश गरेको थियो। प्रहरीले १२ वटा सीसीटीभी फुटेज पनि प्रमाणका रुपमा राखेको थियो।
सन्दीपले पीडित युवतीलाई ‘मायाको पहिलो स्वागत शुरू’ भनेर स्न्याप च्याटमा पठाएको भिडिओ सन्देश, टेलिफोनको कल डिटेल रिपोर्ट (सीडीआर)लाई पनि प्रमाणको रुपमा मुद्दामा समेटिएको थियो।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि युवतीको यौन झिल्ली च्यातिएको खत रहेको उल्लेख थियो। यसलाई सबैभन्दा बलियो प्रमाण मानिएको थियो।