कर्णालीबाट काठमाडौं आएको साता दिनमै अस्ताए सुजन रावत
बुवाको क्यान्सर उपचार गर्दा लागेको ऋण तिर्न कोरिया जाने सपना बोकेर कर्णालीबाट काठमाडौं आएका सुजन रावतबाटो हिड्दै गर्दा प्रहरीको आक्रमणबाट ज्यान गुमाउने पुगे।
कोरियाली भाषा सिकेका दैलेखको महावु गाउँपालिका-६ का सर्जन रावतरोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको तयारीमा थिए। ईपीएस परीषाको फारम भर्न नपाएपछि अन्य साथीसँगै पुस १३ गते बिहान ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि विरोध जनाउन पुगेका थिए।
दाइ आन्दोलनमा गएको थाहा पाएपछि भाइ सुजन रावतपनि ‘के भएको रहेछ?’ भनेर बुझ्न कोठाबाट निस्के। सुजन सर्जनका काकाका छोरा हुन्। उनी एक साताअघि मात्रै दैलेखबाट काठमाडौं आएका थिए।
काठमाडौंबारे खासै जानकारी नभएका उनी बालकुमारी पुगेर सडक किनार हिड्दै थिए। एक्कासी प्रहरीले कुटपिट गर्यो। “आन्दोलन गर्न आएको होइन, बाटो हिडिरहेको वेला प्रहरीले कुटपिट गर्यो,” सुजनका आफन्त रोशन कटुवालले हिमालखबरसँग भने, “बाटो हिडिराखेको वेला छातीको तल्लो भागमा बेस्सरी हिर्कायो, त्यही चोटले ज्यान गयो।”
प्रहरीको कुटाइबाट घाइते भएका उनलाई वरवर रहेका युवाले नजिकैको किस्ट अस्पताल पुर्याएका थिए। “अचेत अवस्थामा रहेका युवकलाई १२ः४० बजे अस्पताल ल्याइएको थियो। उपचारका क्रममा १ः१७ बजे मृत्यु भएको छ,” किस्ट अस्पतालका कार्यकारी अधिकृत अमिष पाठकले हिमालखबरसँग भने, “उनको छातीमा नीलो डाम छ।”
दाइ काठमाडौंमा भएकाले सुजन पनि कोरिया जाने तयारीकै लागि कर्णालीबाट आएका थिए। क्यान्सरबाट बुवा भक्त राउतको ‘ब्रेन ट्युमर’बाट मृत्यु भएपछि विदेश जानुपर्ने बाध्यता आइलागेको थियो।
रोशनका अनुसार, सुजनको परिवारको बसाइ दैलेख बजारमै छ। उनीहरूको सानो पसल छ। घरमा आमा, बहिनी र भाइ छन। “बुवाको निधन भएको वर्ष दिन पनि पुगेको छैन,” रोशनले भने।
बुवाको उपचारका लागि यताउता गर्दागर्दै पसल पनि लथालिङ्ग भयो। बुवाको उपचारका क्रममा ऋण लाग्यो। त्यही ऋण तिर्न विदेश जाने तयारीमा लागेका थिए।
काठमाडौं पुगेर उनी भर्खरै कोरियाली भाषा कक्षामा भर्ना भएका थिए। कक्षा १२ को पढाइ सकेपछि उच्च शिक्षा अध्ययन गर्ने इच्छा भए पनि विदेश जान भाषा कक्षामा भर्ना हुनुपरेको आफन्तजनलाई सुनाएका थिए। “बुवाको उपचारमा लागेको ऋण तिर्नैका लागि सुजनले कोरिया जाने तयारी शुरू गरेको हो,” रोशनले भने, “कोरिया जाने सपना पनि अधूरै रह्यो, आफै अस्ताए।”
कोरिया जानका लागि ईपीएस परीक्षाको फारम भर्न नपाएपछि केही युवाले पुष १३ मा बालकुमारी पुगेका थिए। उनीहरूले बिहानै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए।
त्यसपछि आन्दोलन चर्किन पुग्यो। त्यसलाई नियन्त्रण लिन प्रहरीले बल प्रयोग गर्यो। प्रदर्शनकारीमाथि लाठी चार्ज गर्यो भने केही राउन्ड रबरको गोली पनि प्रहार गर्यो।
प्रहरीको आक्रमणमा परी अर्का युवक वीरेन्द्र शाहको पनि मृत्यु भएको छ। घाइते भएका शाहलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ।
ईपीएस कार्यालयले प्रकाशित गरेको सूचनामा आवेदकको योग्यतामा सन् २०२३ भित्र ‘ईपीएस(टीओपीआईके’ परीक्षाका लागि आवेदन नदिएको हुनुपर्ने उल्लेख छ। त्यसका विरुद्ध युवा आन्दोलनमा उत्रिएका थिए।
त्यस्तै, ईपीएस कार्यालयको सूचना विरुद्ध तर्कबहादुर पल लगायत १२ जनाले पुस १२ गते उच्च अदालत, पाटनमा रिट दर्ता गरेका थिए। त्यसमाथि पुष १३ गते सुनुवाइ गर्दै न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले निवेदकहरूलाई अपूरणीय क्षति हुन सक्ने भन्दै कोरियाली भाषा परीक्षाको आवेदन फारम भर्न कसैलाई रोक नलगाउन अन्तरिम आदेश दिएको छ।
अदालतको आदेशमा भनिएको छ, ‘...यी निवेदकहरूले माग गरेको विषयमा प्रस्तुत निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने नै हुँदा निवेदकहरूलाई पर्न सक्ने अपूरणीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदकहरूलाई आवेदन फारम भर्नबाट वञ्चित गर्न मनासिब नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लिखित मिति २०६०/८/१९ को सूचना बमोजिम मिति २०८०/९/२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनू दिलाउनू भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ ९१० बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ।’
उच्च अदालतको आदेशसँगै अब आन्दोलरत सबै युवाले ईपीएस परीक्षा फारम भर्न पाउनेछन्। तर, त्यसका लागि भएको आन्दोलनका कारण सुजन र वीरेन्द्रले भने ज्यान गुमाएका छन्।