शेयर कारोबारको विश्वसनीयतामा नियामककै प्रश्न, नेप्सेको प्रणालीमा व्यावसायिक घरानाको अनधिकृत पहुँचको आशंका
नेपालको शेयर कारोबारको विश्वसनीयतामा नियामक निकायले नै संशय जनाएको छ।
नेपाल धितोपत्र बोर्डले गरेको दोस्रो बजारमा हुने कारोबारको सूचना प्रविधिको अध्ययनले कारोबारको विश्वसनीयतामा शंका उत्पन्न भएको, नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच भएको हुनसक्ने देखाएको छ। हिमालखबरलाई प्राप्त प्रतिवेदनको सारमा भनिएको छ, “नेप्सेले हाल सञ्चालनमा ल्याएको प्रणाली जोखिममा रहेको देखिन्छ।”
धितोपत्र बोर्डले शेयर बजार सञ्चालन क्षमताको मूल्यांकन गर्न, प्रयोगमा रहेका प्राविधिक पूर्वाधार, प्रणाली तथा मानव संसाधन लगायतका विषयको अध्ययन गर्न गत असोजमा अध्ययन समिति बनाएको थियो। अध्ययन समितिले मंसीर २५ गते बोर्डलाई प्रतिवेदन बुझाएको थियो। हिमालखबरलाई प्राप्त नेपाल स्टक एक्सचेन्जको सूचना प्रविधिसँग सम्बन्धित स्थलगत निरीक्षणको प्रतिवेदनमा नेप्सेको सूचना प्रविधि सुशासनमा गम्भीर समस्या देखाइएको छ। खासगरी नेप्सेको प्रणालीमा अनधिकृत व्यक्तिको प्रवेशबाट छेडखानीको जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ।
धितोपत्र बजारको विद्युतीय कारोबार प्रणाली (नट्स) को बिक्री तथा मर्मत सम्भार गर्ने कम्पनी वाईको सोलुसन्सको भूमिकामाथि प्रतिवेदनमा प्रश्न उठाइएको छ। यो कम्पनीले नेप्सेले सञ्चालनमा ल्याएको डाटा सेन्टरका फायरवाल, डाटा बेस र एक्टिभ डाइरेक्टोरीजस्ता महत्वपूर्ण प्रणालीमा सहज पहुँच पाएको भन्दै प्रतिवेदनले प्रश्न उठाएको हो। वाईको सोलुसन्सले प्रणालीमा कति समय पहुँच पाएको छ भन्ने विषयमा नेप्सेले लग व्यवस्थापन नगरेको कारणले गर्दा वाईकोका कर्मचारीद्वारा नेप्सेको प्रणालीमा गरिएको परिवर्तन थाहा हुने अवस्था नरहेको प्रतिवेदनमा औंल्याइएको छ।
धितोपत्र बजारको विद्युतीय कारोबार प्रणालीलाई वाईको सोलुसन्सले तयार गरी धितोपत्र बोर्डलाई बिक्री गरेको हो। यो कम्पनीले नै मर्मत सम्भारको सेवा पनि दिइरहेको छ। वाईको सोलुसन्स व्यवसायिक घराना आईएमई समूहको मुख्य लगानी भएको कम्पनी हो। यसमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसम्वद्ध कम्पनीको करीब ८० प्रतिशत लगानी छ।
पाँच वर्षअघि अनलाइन कारोबार शुरू हुँदा प्रतिस्पर्धामार्फत विद्युतीय कारोबार सेवा दिन वाईको सोलुसन्स छानिएको थियो। त्यतिबेला आईएमई समूह यो कम्पनीमा जोडिएको थिएन। तर, पछि वाईकोको बहुमत शेयर आईएमई समूहसम्वद्ध कम्पनीले किनेका थिए। आईएमई समूह शेयर बजारसँग सिधै जोडिएको छ। समूहअन्तर्गतका ग्लोबल आईएमई ब्यांकसहित कयौं कम्पनी शेयरको दोस्रो बजारमा कारोबार हुन्छन्।
त्यसैगरी, यो समूहअन्तर्गतका लगानीकर्ताहरू चन्द्र ढकाल, भाइ हेमराज ढकाल शेयर बजारका कारोबारी पनि हुन्। उनीहरूको स्वामित्वको वाईकोले बजार सञ्चालन गर्ने नेप्सेको प्रणालीमा निर्वाध पहुँच पाउँदा सिधै स्वार्थको द्वन्द्व हुन्छ।
धितोपत्र बोर्डको प्रतिवेदनले आईएमई समूहको नाम प्रतिवेदनमा उल्लेख नगरे पनि वाईकोका कर्मचारीद्वारा नेप्सेको प्रणालीमा गरिएको परिवर्तन थाहा हुने अवस्था नरहेको भनी उल्लेख गरेको छ। प्रणालीमा निर्वाध पहुँच पाउँदा निश्चित कम्पनीको शेयरको मूल्य, माग संख्या आदिमा चलखेलको जोखिम हुने र बजारलाई आफ्नो स्वार्थअनुसार प्रभावित गर्न सक्ने धितोपत्र बोर्डका एक अधिकारीले बताए। तर, यसअघि त्यसो गरिएको छ वा छैन भनेर यकिनका साथ भन्न नसकिने उनको तर्क छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा उनको पारिवारिक सदस्यहरूको शेयर बजारमा विवादास्पद संलग्नता देखिदैँ आएको छ। यसअघि २०७८ सालमा सर्वोत्तम सिमेन्टको शेयर खरिद बिक्री प्रकरणमा ढकाल विवादित बनेका थिए। ‘बुक बिल्डिङ’ प्रकृयाबाट सर्वसाधारणलाई शेयर विक्री गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर सर्वसाधारणलाई विक्री गरिनुअघि नै सस्तो मूल्यमा ढकालका पारिवारिक सदस्यले किनेको फेला परेको थियो।
सर्वोत्तमको बिक्री प्रबन्धनको जिम्मा पाएको ग्लोबल आईएमई क्यापिटलको मातृ संस्था ग्लोबल आईएमई ब्यांकका अध्यक्ष चन्द्र ढकालका सहोदर भाइ हेमराज ढकाल, लगानी सम्बन्धी संस्था हाथवे इन्भेस्टमेन्ट (जसमा हेमराज ढकालको ३०.०१ प्रतिशत शेयर लगानी छ) ल सर्वोत्तमको शेयर शुरुमै किनेका थिए। यो प्रकरण हिमालखबर ले सार्वजनिक गरेपछि विवादित बनेका ढकालले ९ भदौ २०७८ मा धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएका थिए।
शेयर बजारको कारोबारमा सिधै स्वार्थको द्वन्द्व हुने गरी ढकाल धितोपत्र बोर्डको सदस्य बन्नु आफैंमा प्रश्न उठ्ने विषय थियो। सर्वोत्तम सिमेन्ट प्रकरणमा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदबाट बर्खास्त गरेको थियो भने नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि पदबाट राजीनामा दिएका थिए।
शेयर बजारको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सेवा पनि वाईको सोलुसन्सले नै दिँदै आएको छ। ब्रोकर कम्पनी र शेयर बजारमा किनबेच गर्ने ग्राहकलाई यो प्रणालीले जोड्छ। यही प्रणालीमार्फत ग्राहकले शेयर किनबेच गर्छन्। धितोपत्र बजारको विद्युतीय कारोबार प्रणाली अर्थात् मुख्य प्रणाली र ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली गरी दुई थरी सेवा एकै कम्पनीले दिँदा स्वार्थको द्वन्द्व उत्पन्न भई कारोबारको विश्वसनीयतामा शंका उत्पन्न भएको धितोपत्र बोर्डको प्रतिवेदनले औंल्याएको छ।
प्रतिवेदनले यसलाई कानूनविपरीत भएको भनेर समेत प्रतिवेदनमा उल्लेख गरेको छ। धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम २१ (ख) को उपविनियम (४) विपरीत एकै सेवा प्रदायकले दुई थरी सेवा दिइरहेकोमा प्रतिवेदनले प्रश्न उठाएको हो।
विगतदेखि नै शेयर बजारको प्रणाली सञ्चालनमा व्यवसायी चन्द्र ढकालको अप्रत्यक्ष संलग्नताको विषयमा प्रश्न उठ्दै आएको थियो। प्रणालीमा अनधिकृत पहुँचमार्फत आफूअनुकूल बजारलाई चलाएको भनी कतिपय लगानीकर्ताले आरोप लगाउने गरेका थिए। समितिले आफ्नो प्रतिवेदनमा पनि महत्वपूर्ण सूचना प्रविधि सम्बन्धी सेवाहरू व्यवस्थापन गर्न तेस्रो पक्ष सेवा प्रदायकहरूमा नेप्सेको अधिक निर्भरताले संस्थाको परिचालन स्थिरता र कारोबार सुरक्षामा जोखिमहरु हुने देखिने उल्लेख गरेको छ। “नेप्सेको सूचना प्रविधि प्रणालीहरू सञ्चालन गर्नका लागि पर्याप्त कागजातहरु, म्यानुअलहरु र मानक सञ्चालन प्रकृया उपलब्ध नभएको देखिएको तथा प्राविधिक सञ्चालनमा तेस्रो पक्षमा अत्यधिक निर्भरता रहेको पाइएको जसले गर्दा व्यववसायिक जोखिम बढेको देखिएको छ,” प्रतिवेदनमा उल्लेख छ।
यसबाहेक प्रतिवेदनले नेप्सेको कारोबार मिलान प्रणालीजस्तो संवेदनशील प्रणालीमा अझै पनि कारोबारमा म्यानुअल कार्य गर्ने गरिएको र यसले गर्दा व्यक्तिगत तजबिजीका आधारमा काम हुने र पूर्वाग्रही निर्णय हुनसक्ने जोखिम औंल्याएको छ। त्यसैगरी, धितोपत्र बजारको विद्युतीय कारोबार प्रणली सञ्चालनका लागि अत्यावश्यक पूर्वाधार तथा डाटा रिकभरी साइटको पर्याप्त व्यवस्था नहुँदा समय समयमा कारोबार प्रणाली अवरुद्ध भई लगानीकर्ता कारोबारबाट वञ्चित हुनुपरेको पनि उल्लेख गरिएको छ।
प्रतिवेदनले धितोपत्र दलाल व्यवसायीका लागि कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को निर्माणमा गरिएको खर्चको औचित्यमा प्रश्न उठाएको छ। टीएमएस पूर्वाधार निर्माणका लागि माग गरिएको प्रणालीको स्पेसिफिकेसन, परीक्षण गरिएको समयको स्पेसिफिकेसन र माल प्रयोग गरिएको पूर्वाधारको स्पेसिफिकेसन तुलना गर्दा आवश्यकता भन्दा बढी क्षमता भएको पूर्वाधारको स्पेशिफिकेसन माग गरिएको देखिएको र जसले गर्दा अत्यधिक खर्च लागत परेको प्रतिवेदनमा उल्लेख छ।
सुशासनका लागि सुझाव
धितोपत्र बोर्डले बोर्डका सूचना प्रविधि विज्ञ सरोज लामिछानेको संयोजकत्वमा बोर्डका निर्देशकद्वय रेवत श्रेष्ठ र सानु खड्का तथा सहायक निर्देशकद्वय यमनाथ अर्याल र रविन्द्रदेव भट्टको टोली बनाएर बजारको सूचना प्रविधि सुशासनका विषयमा अध्ययन गरेको थियो। अध्ययनपछि समितिले तयार गरेको प्रतिवेदनमा नेप्सेले तुरुन्तै बलियो सूचना प्रविधि सुशासनको ढाँचा स्थापना गर्न सुझाव दिइएको छ। यसका लागि रणनीतिक निर्देशन र निरीक्षण प्रदान गर्न सञ्चालन समिति स्थापनाको सुझाव छ।
समितिले हाल सञ्चालनमा रहेको कारोबार मिलान प्रणालीको विस्तृत क्षमता परीक्षण गरी उक्त प्रणालीले हाल दैनिक हुने कारोबारको व्यवस्थापन गर्न सके नसकेको बारे यकिन गरी भविष्यमा हुने कारोबारको पनि उचित व्यवस्थापन गर्न सक्ने वा नसक्ने बारे एकीन गर्नुपर्ने सुझाव दिएको छ।
त्यसैगरी, भीपीएन (भर्नुअल प्राइभेट नेटवर्क)बाट धितोपत्र बजारको विद्युतीय कारोबार प्रणालीमा पहुँच राख्ने वाईको कम्पनीले नेप्सेको जानकारी बिना कुनै पनि समय नेप्सेको नेटवर्कमा प्रवेश गर्न सक्ने देखिएको हुनाले नेप्सेले उचित स्वीकृति दिएपछि मात्रै वाईकोको पहुँच हुनुपर्ने र स्वीकृत प्राप्त कार्य सम्पन्न गरेपश्चात् तत्काल उक्त पहुँच बन्द गर्नुपर्ने सुझाव पनि दिइएको छ।
यस्तै, प्रणालीमा को कतिबेला प्रवेश गरेको छ भनी अनुगमन गर्न लग व्यवस्थापन सफ्टवेयर लागू गरी साइबर खतराहरू निरन्तर निगरानी गर्न २४ घण्टा नै सुरक्षा सञ्चालन केन्द्र लागू गर्न पनि सुझाव दिइएको छ। प्रणालीमा पहुँच पाउनेको आईपी ठेगाना, प्रवेश गरेको र बाहिरिएको समय, प्रयोगकर्ताको विवरण, गरेको गतिविधि, लगइनको असफल प्रयासबारेका सूचना भण्डार गरी राख्नुपर्ने सूचना दिइएको छ। त्यसैगरी, धितोपत्र बजारको विद्युतीय कारोबार प्रणालीमा भएका प्रणालीगत परिवर्तनको व्यवस्थापन र नियन्त्रणलाई पनि अभिलेख राख्नुपर्ने सुझाव छ।
धितोपत्र बोर्डले समितिको सुझाव बमोजिम नेप्सेलाई आवश्यक कदम चाल्न निर्देशन दिइसकेको छ। नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि पराजुलीले धिोपत्र बोर्डले विभिन्न सुझावहरू दिएको र स्टक एक्सचेन्जले त्यसको कार्यान्वयन गर्ने भनी प्रतिवद्दता जनाएको बताए। “हामी आएका फिडब्याकअनुसार सुधार गर्न प्रतिबद्ध छौं,” पराजुलीले भने।
धितोपत्र बोर्डले कारोबार व्यवस्थापन प्रणालीको विषयमा प्रश्न उठाएकै बेला यस्तो सेवा दिन नयाँ कम्पनीको प्रवेश भइसकेको छ। ३४ ब्रोकर कम्पनीले डीजी हब प्रालिले तयार गरेको कारोबार व्यवस्थापन प्रणालीमार्फत सेवा दिने तय भइसकेको छ। स्टक एक्सचेन्जले उनीहरुलाई यस्तो अनुमति दिइसकेको छ। श्रीलंकाली कम्पनीसँगको सहकार्यमा डीजी हबले यस्तो प्रणाली तयार गरेको हो। यो कम्पनीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा देउवाका नातेदारको लगानी छ।