कोरिया भाषा परीक्षाको फारम भर्न कसैलाई नरोक्न उच्च अदालतको आदेश
उच्च अदालत, पाटनले कोरियाली भाषा परीक्षाको आवेदन फारम भर्न कसैलाई रोक नलगाउन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार निवेदकहरूलाई अपूरणीय क्षति हुन सक्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नाममा यस्तो आदेश दिएको हो।
अदालतको आदेशमा भनिएको छ, ‘...यी निवेदकहरूले माग गरेको विषयमा प्रस्तुत निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने नै हुँदा निवेदकहरूलाई पर्न सक्ने अपूरणीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदकहरूलाई आवेदन फारम भर्नबाट वञ्चित गर्न मनासिब नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लिखित मिति २०६०/८/१९ को सूचना बमोजिम मिति २०८०/९/२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनू दिलाउनू भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ।’
ईपीएस कार्यालयबाट प्रकाशित सूचनामा आवेदकको योग्यतामा सन् २०२३ भित्र ‘ईपीएस-टीओपीआईके’ परीक्षाका लागि आवेदन नदिएको हुनुपर्ने उल्लेख छ। त्यस विरुद्ध तर्कबहादुर पल लगायत १२ जनाले बिहीबार उच्च अदालतमा रिट दर्ता गरेका थिए।
कोरियाली भाषा सिकेर ईपीएस परीक्षा फारम भर्न नपाएका युवाले पुस १३ बिहान ललितपुरको बालकुमारी क्षेत्रमा गरेको प्रदर्शनका क्रममा सुजन रावत र वीरेन्द्र शाहको ज्यान गएको छ।
यस घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।